बेकरी उद्योगबाटै मासिक २ लाख आम्दानी

बेकरी उद्योगबाटै मासिक २ लाख आम्दानी

 जोमसोम : राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने (बेनी—जोमसोम—कोरला) सडक सहज भएसँगै पछिल्लो समय मुस्ताङमा पर्यटन र कृषि व्यवसायकोे सम्भावना बढेको छ। बर्सेनि ७ लाख पर्यटक मुस्ताङ भित्रिँदै गर्दा १ लाख २५ हजार बढी विदेशी पर्यटकको उपस्थिति मुस्ताङमा हुने गरेको छ। कृषितर्फ पनि सडक सहजताले उपयुक्त बजारीकरणमा सहज हुन पुगेपछि मुस्ताङमा उत्पादित कृषि उत्पादनले राम्रो बजार पाएको छ।

मुस्ताङ जिल्ला सडकले मात्रै होइन, विद्युत् तथा इन्टरनेटको पहुँचले पनि यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यद्यपि, मुस्ताङमा कृषि र पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि मुस्ताङमा एकथरी युवापंक्ति वैदेशिक रोजगारका लागि विदेश पलायन हुने गरेको विद्यमान छ। विकास र समृद्धिको लहर जिल्ला, पालिका र गाउँघरको बस्तीबस्तीसम्म छाउँदै गर्दा यहाँका युवाहरूको नजर युरोप र अमेरिकामा जाने होडबाजी नै चलेको छ। मुस्ताङमै रहेर मनग्य आम्दानी गर्न सकिने वातावरण सृजना हुँदै गर्दा उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म अहिले युवाहरूको जमात पातलिँदै जान थालेको छ। स्वदेशमा न्यून आम्दानी हुने र विदेशमा गएपछि छोटो समयमा धेरै कमाइ गर्न सकिने युवाहरूमा सोचको विकास हुँदा मुस्ताङमा युवापंक्तिको पलायन निकै ठूलो चुनौती बनेको छ।

यस्तैमा विदेशमा मात्रै होइन, स्वदेशमै बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेका छन्, थासाङ—१ टुकुचेका स्वरुप क्षेत्री। स्वरुप क्षेत्री मुस्ताङको थासाङ—१ टुकुचे गावैमा जन्मिए हुर्किए। म्याग्दी पुर्खौली घर भए पनि स्वरुपको दुई पुस्ताले मुस्ताङकै टुकुचेमा बितायो। युवा भए पनि पारिवारिक जिम्मेवारी स्वरुपकै काँधमा पर्‍यो। परिवारको गर्जो टार्न स्वरुपले टुकुचे गावैमा बसेर सामान्य ज्याला मजदुरीको काम गर्न थाले। दिनभरि काम गरेर स्वरुपले दैनिक ५÷६ सय रुपैयाँ कमाउथे। स्वरुपको आर्थिक आम्दानी गर्ने अन्य कुनै विकल्प पनि थिएन। यति मात्रै होइन, उनीसँग कुनै क्षेत्रमा लगानी गर्ने पैसासमेत साथमा थिएन। यस्तैमा फगत उनको दिन व्यर्थ कटिरहेको थियो।

स्वरुपको बहिनी ज्वाइँ म्याग्दीमा बेकरी उद्योग खोलेर बसेका थिए। यस्तैमा स्वरुप आफ्नो ज्वाइँ देवेन्द्र जुग्जाली र बहिनी दीपिका जुग्जालीको बेकरी उद्योगमा पुगे। बहिनी ज्वाइँको बेकरी उद्योगमा बसेर स्वरुपले बेकरी बनाउने काम सिके। त्यसै क्रममा स्वरुपले बेकरी उद्योग खोलेर व्यवसाय चलाउने विचार गरे। उनी मुस्ताङको टुकुचे गाउँ फर्किए।

स्वरुप बेकरी उद्योगका लागि लगानी गर्न पैसाको खोजीमा लाग्न थाले। त्यही क्रममा  स्वरुपलाई थासाङ—१ का वडाध्यक्ष सुरेश थकालीले आर्थिक जोहो गर्ने प्राविधिक माध्यम बनाइदिए। स्वरुपले १८ लाख रुपैयाँ बेकरी उद्योगमा खर्चिए। त्यसपछि मुस्ताङकै टुकुचेमा सुरु भयो टुकुचे बेकरी उद्योग कारखाना। उनको इच्छाशक्ति र लगनशीलताले गर्दा छोटो समयमै बेकरी उद्योगसम्बन्धी काम सिके। 

स्वरुपले थासाङको टुकुचेमा २०७९ सालमा टुकुचे बेकरी उद्योग सञ्चालन गरेका हुन्। तीन वर्षको छोटो अवधिमै उनले उद्योगमा डबल सेटको उपकरण व्यवस्थापन गरी स्तर वृद्धि गरे। बेकरी उद्योगका लागि अहिलेसम्म करिव ६० लाख रुपैयाँ लगानी गरिसकेको स्वरुपले बताए। ‘सुरुमा एक सरकारी निकायबाट दुई लाख अनुदान पाएको थिए, त्यसपछि सबै आफ्नै व्यक्तिगत लगानीमा गरिरहेको छु’, व्यवसायी स्वरुपले थपे, ‘यहाँको बजार सानो छ, यसैले सानै हिसाबले उद्योग चलाउँदै छु।’ उनले बेकरीबाट सन्तोषजनक आम्दानी हुने गरेको बताए।

बेकरी उद्योगबाट मासिक २ लाखसम्म आम्दानी हुने गरेको टुकुचेका युवा उद्यमी स्वरुपले सुनाए। बेकरीका लागि स्वररुपले तीन जनालाई स्थायी रोजगारी दिएका छन्। त्यसो त उनी उद्योगमा आफंै पनि निरन्तर खटिने गरेको बताउँछन्।

स्वरुपको उद्योगमा दैनिक ५० केजीदेखि एक क्विन्टलसम्म मैदा खपत हुन्छ। मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म तीन पालिकामा स्वरुप आफ्नो उद्योगमा बनेका पाउरोटी, केक, दुनोट, क्रिम रोल र बर्ड डे केकलगायत उत्पादन पुर्‍याउँछन्। यसका लागि स्वरुपमा एक मारुती भ्यानसमेत किनेका छन्। 

मुस्ताङमा बेकरी उद्योग गरेर बाह्रै महिना आम्दानी गर्न नसकिने स्वरुपको भनाइ छ। प्रतिकूल मौसम र पर्यटक अफसिजन भएकाले बर्सेनि असार/ श्रावण र पुस महिनामा बेकरी उद्योगमा उत्पादन निकै कम हुने गरेको छ। मुस्ताङमा पनि आर्थिक आम्दानी गर्न सक्ने प्रशस्त सम्भावना रहेकाले पैसा कमाउन विदेश धाउन नपर्ने सुझाए। ‘मुस्ताङमा पनि सम्भावनाको ढोका निकै छन्, हामीले अरूले गरेको पेसा व्यवसायभन्दा पृथक् खालको नयाँ व्यवसाय गर्न सकियो भने विदेशमा कमाउने पैसा यही कमाउन सकिन्छ’, उनले थपे,‘ हामीले त यहाँ व्यवसायमा पनि कपी पेस्ट गर्ने चलन छ, अरूले जे गर्‍यो त्यही गर्छन् ,यसैले गर्दा पनि समस्या आउने गरेको छ।’

युवा उद्यमी स्वरुपले परिवारको साथमै रहेर विदेशमा बसेर कमाउने पैसा स्वदेशमै बसेर कमाउने गरेको बताए। मुस्ताङमा बेकरीमा पनि निकै प्रतिस्पर्धा रहेको जनाए। ‘हामी कहाँ जिल्लामै बेकरी उत्पादन हुने गरेपनि यहाँका पर्यटन व्यवसायीहरूले पोखरा/काठमाडौंबाट बेकरी आयात गर्ने गर्दा स्थानीय उत्पादनमा समेत असर पुगेको स्वरुपले उल्लेख गरे। जिल्लामै बसेर स्थापित हुन संघर्ष गरिरहे हामी जस्ता युवाशक्तिलाई प्रोत्साहन गर्न यही बनेका उत्पादनलाई भरभुर उपयोग गर्नुपर्ने उनको धारणा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.