जलवायु संकट न्यूनीकरण गर्न मुस्ताङमा साइकल र घोडा र्याली
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले जलवायु संकट न्यूनीकरण तथा पर्यटन प्रबद्र्धनका लागि साइकल तथा घोडा र्याली आयोजना गरेको छ । बढ्दो कार्बन उत्सर्जनका कारण जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्याएको भन्दै घरपझोङ गाउँपालिकाले पहिलो पटक पर्यटनसँग जोडेर वातावरणमैत्री साइकल तथा घोडा र्याली आयोजना गरेको हो ।
इन्धनवाला सवारीसाधनले वातावरण क्षेत्रमा निकै ठूलो नकारात्मक असर पर्दै गइरहेकाले साइकल र घोडा चढ्ने संस्कृतिको विकास गर्ने सन्देश प्रवाह गर्नका लागि साइकल तथा घोडा र्याली कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । साइकल सिटी पोखराको संयोजनमा भएको र्यालीमा देशभरका साइक्लिङ टोली मुस्ताङमा एकत्रित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । अध्यक्ष लालचनका अनुसार पहिलो चोटी मुस्ताङमा आयोजना भएको साइकल र्यालीमा २३ वटा जिल्लाका ३ सय ६२ जना साइक्लिङ टोलीले उत्साहजनक रूपमा सहभागिता जनाइएको उल्लेख गरे ।
‘हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रबद्र्धन गर्नु हो, दूरदराजमा रहेका गाउँहरूलाई समेत साइकल तथा घोडार्यालीले चिनाउने हाम्रो ध्येय हो’, अध्यक्ष लालचनले भने,‘ हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनु भएको छ, कार्यक्रममार्फत जलवायु संकट न्यूनीकरण र कार्वन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौं ।’
समुद्री सतहको तीन हजार मिटरको अग्लो उचाइमा साइकलयात्रा गर्न पाउँदा निकैै उत्साहित भएको साइकलयात्रीहरू बताउँछन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकल यात्रा गर्न सहभागी भएको जानकारी दिए । यहाँका पर्यटन प्रवद्र्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको प्रबद्र्धनमा टेवा पुर्याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको बताए । ‘हामी यहाँ आउन पाउँदा निकै धेरै खुसी छौं, किनकि हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउँनु अहोभाग्य हो’, राइडर सापकोटाले भने, ‘यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन विकासका साथै जलवायु संकट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य छ ।’
साइकल चढ्ने संस्कृतिले मानव स्वास्थ्यलाई पनि स्वस्थ्य राख्न सहयोग पुग्ने, साइकलको प्रयोगले कार्वन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्याउने नेपालगञ्ज स्थित साइक्लिङ क्लबका सल्लाहकार रमेश मल्लले उल्लेख गरे । प्राकृतिक सौन्दर्यताले भरिएको हिमाली जिल्ला मुस्ताङमा साइकल यात्रा गर्न पाउँदा आफूलाई गौरान्वित महसुस भएको मल्लले बताए । ‘हामी त १५० मिटरको उचाइमा थियौं, यहाँको उचाइ त ३ हजारभन्दा बेसी रहेछ’, साइक्लिस्ट मल्लले भने, ‘केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यताले सबै बिर्साइदिएको अनुभूति भएको छ ।’ साइक्लिस्ट मल्लले एक पटक मुस्ताङ जिल्ला घुम्नै पर्ने रहेको बताए । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पुर्याउने साइक्लिस्ट मल्लको भनाइ छ ।
साइकल तथा घोडा र्यालीमा सहभागी मुस्ताङका स्थानीय कर्म गुरुङले जलवायु संकट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने यस खालको कार्यक्रमले मुस्ताङ जिल्लाको आर्थिक समृद्धिमा निकै ठूलो टेवा पुग्ने दाबी गरे । ‘हाम्रो मुस्ताङमा महŒवपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो’, स्थानीय घोडा राइडर कर्मले थपे, ‘पछिल्लो समय जलवायु संकटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र यहाँको कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष क्षति पारिरहेको छ ।’ साइकल तथा घोडा र्यालीले यहाँका वातावरण प्रदूषण घटाउन सहयोग पुग्ने राइडर कर्माले उल्लेख गरे । बढ्दो इन्धन सवारीले कार्वन उत्सर्जन बढेकाले यसको न्यूनीकरण गर्न साइकल तथा घोडा संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्नेमा स्थानीय घोडा राइडर कर्माले जोड दिए ।
यसअघि मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा र्यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । साइकल तथा घोडा र्यालीका सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीय नागरिकहरूले भव्य स्वागत सत्कार गरेका थिए । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका पाँच वटै वडाका गाउँहरू परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दूरी तय गरिएको थियो ।
बिहान ७ बजे मुस्ताङको जोमसोम रंगशालाबाट सुरु भएको र्यालीले गाउँपालिकाको पाँचवटै वडा परिक्रममा गरी घरपझोङ गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । र्यालीमा ३ सय ६२ वटा साइकल र ३० भन्दा घोडाको प्रयोग भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !