election background

प्रतिनिधि सभा निर्वाचन २०८२

स्रोत दबाबबीच सन्तुलित बजेट

बजेटले नयाँभन्दा पनि सम्पन्न हुन लागेका परियोजनाहरूलाई प्राथमिकता दिएको देखिन्छ ।

स्रोत दबाबबीच सन्तुलित बजेट

बजेट समग्रमा सन्तुलित देखिए पनि यसबाट अपेक्षित लाभ प्राप्त गर्न भने कार्यान्वयन पक्षको भूमिका महत्वपूर्ण देखिन्छ। राज्यका हरेक निकायलाई बजेट कार्यान्वयनमा जिम्मेवार बनाएर गुण र दोषका आधारमा सम्मान  सजायको व्यवस्था भने सरकारले गर्न सक्नुपर्छ।

सरकारले आगामी आव २०८२–८३ का लागि विनियोजित बजेट प्रस्तुत गरेको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोड रुपैयाँ बराबरको अनुमानित बजेट संसद्को दुवै सदनमा पेस गरेका हुन् । यो रकम चालु आवको विनियोजित रकमको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी हो ।

चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट संसद्मा पेस भए पनि मध्यावधि समीक्षा गर्दै बजेटको आकार १६ खर्ब ९२ अर्ब रुपैयाँ कायम गरिएको थियो । बजेटको आकार राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ ले तोकिएबमोजिम १९ खर्ब हाराहारीकै आएको देखिन्छ । विशेषगरी, विगतका वर्षहरूमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको र वैदेशिक सहायता एवं अनुदानसमेत प्रतिबद्धताअनुसार नआएका कारण बजेटमा स्रोतको दबाब पर्दै आएको देखिन्छ । यसैकारण सरकारले ठूलो आकारको बजेटसमेत ल्याउन सकिरहेको छैन । यसका बाबजुद आगामी आवको बजेटले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्न खोजेको देखिएको छ ।

आगामी वर्षको कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ४ खर्ब ७ अर्ब रुपैयाँ अर्थात् २०.८५ र चालु खर्चमा ११ खर्ब ८० अर्ब रुपैयाँ अर्थात् ६०.१५ छट्याइएको छ । विभिन्न ऋण तथा ब्याज तिर्नका निम्ति वित्तीय व्यवस्थाअन्तर्गत ३ खर्ब ५७ अर्ब रुपैयाँ अर्थात् १९.१५ विनियोजन गरिएको छ । अघिल्ला केही आवहरूदेखि पुँजीगत खर्चको भन्दा वित्तीय व्यवस्थापन तर्फको बजेट विनियोजन बढी हुने गरेकोमा आलोचना हुँदै आएको थियो । तर, अहिलेको बजेटले भने त्यो परम्परालाई तोड्न खोजेको देखिन्छ । बजेटमा उल्लिखित रकम जुटाउन अर्थमन्त्री पौडेललले १३ खर्ब १५ अर्ब रुपैयाँको राजस्व उठ्ने अनुमान गरेका छन् । त्यस्तै, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ जुट्ने अनुमान गरेका छन् । त्यसपछि नपुग हुने ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँका लागि विदेशी ऋणमार्फत झन्डै २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट झन्डै ३ खर्ब ६२ अर्ब उठाउने अनुमान गरेका छन् । चालु आवको अहिलेसम्मको अवस्था हेर्दा अनुमानित रकम जुटाउन कठिन देखिन्छ । तथापि, आगामी आव १० देखि १२ प्रतिशतसम्म राजस्व बढ्ने, आन्तरिक ऋणको उचित परिचालन गर्न सकिने र वैदेशिक सहायतासमेत २० देखि २२ प्रतिशतसम्म बढ्ने अपेक्षा राष्ट्रिय स्रोत अनुमान समितिले गरेको छ । यसैकारण बजेटले स्रोतको सकस बेहोर्नु नपर्ने आशा गरिएको छ । यसैगरी, बजेटले नयाँभन्दा पनि सम्पन्न हुन लागेका परियोजनाहरूलाई प्राथमिकता दिएको देखिन्छ । यसले आर्थिक वृद्धिमा थप टेवा पुग्नेछ भने राजस्व वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आव २०८२–८३ को अनुमानित बजेटले जनसरोकारका विषयहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, श्रम र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा पारेको देखिन्छ । बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट छुट्याएको छ । यो कुल बजेटको १०.७५ प्रतिशत हो । बजेटमा शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइने, शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम ल्याइने, विद्यालय गाभिने, शिक्षक बैंक स्थापना गरिने, दिवा खाजाको रकम वृद्धिलगायत महत्वपूर्ण योजनाहरू रहेका छन् । यसैगरी, स्वास्थ्य क्षेत्रमा सरकारले ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ । यो कुल बजेटको ४.८८ प्रतिशत हो भने चालु आवको तुलनामा करिब ९ अर्ब ५७ करोड रुपैयाँ बढी हो । सरकारले बजेटमा ‘निरोगी नेपाली, स्वस्थ नेपाल’ नारा अगाडि सारेको छ । स्वास्थ्य सुविधालाई सहज, सुलभ र पहुँचयोग्य बनाउने, सातै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार गर्ने, नसर्ने रोग, पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान सञ्चालन गर्ने, घट्दो जनसंख्या वृद्धिदर सम्बोधन गर्ने जस्ता कार्यक्रमहरू अगाडि सारिएको छ । बजेटमा कृषि तथा पशुपन्छी विकासतर्फ कुल ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

जुन कुल बजेटको करिब ३ प्रतिशत हुन आउँछ । जसमा रासायनिक मल खरिदमा अनुदान, प्रांगारिक मलमा किसानलाई प्रोत्साहनदेखि बाँदरलगायत कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रमसँग सम्बन्धित योजनाहरू अघि सारिएको छ । बजेटमा अर्थमन्त्री पौडेलले ऊर्जा क्षेत्रलाई संरचनात्मक र दीर्घकालीन सुधारतर्फको रोडम्याप प्रस्तुत गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ८६ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । समग्रमा ऊर्जा आत्मनिर्भरता, सिँचाइ पूर्वाधार विस्तार, जलविद्युत् निर्यात, र वैकल्पिक ऊर्जा प्रबद्र्धन बजेटका प्राथमिकतामा परेका छन् ।

आगामी आवको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । बजेटको इतिहासमा यस मन्त्रालयका लागि विनियोजित यो रकम अहिलेसम्मकै धेरै हो । चालु आवभन्दा झन्डै दोब्बर बजेट आगामी आवका लागि विनियोजन गरिएको छ । चालु आवमा युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । बजेटमा युवा जनशक्तिलाई आत्म अनुशासन र सेवाभावका साथ राष्ट्रनिर्माणमा परिचालित हुन अभिप्रेरित गर्दै मुलुकको आर्थिक, सामाजिक विकास र सेवा प्रवाहमा उनीहरूको योगदान वृद्धि गरिने उल्लेख छ । यसैगरी, खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने सरकारको योजना छ ।

यस्तै, निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने कुरा बजेटमा उल्लेख गरिएको पाइन्छ । बजेटमार्फत पहिलोपटक डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात् जेनजी पुस्तालाई विशेष सम्बोधन गरेको छ । खासगरी, काम खोज्ने होइन, काम दिने युवा बनाउन जेनजी पुस्तालाई स्टार्टअप उद्यममा लगाउने गरी बजेटमा कार्यक्रम राखिएको छ । जेनजी पुस्तालाई उद्यमशील र व्यावसायिक बनाउन सरकारले विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा ‘इन्कुभेसन सेन्टर’ निर्माण गर्ने बताएको छ । युवाको सामूहिक प्रतिबद्धता, एकता, सहकार्य र योगदानबाट देशको मुहार फेर्ने संकल्प बोकेको बजेटले धेरै युवालाई उत्साहित बनाएको छ । 

आगामी आवको बजेटबाट सबैभन्दा बढी निजी क्षेत्र उत्साहित भएको देखिएको छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढंगबाट बजेट आएको उनीहरूले प्रतिक्रिया दिएका छन् । बजेटमा उद्योग र उद्योगीको व्यावसायिक सहजताका लागि सरकारले विशेष छुट, सहुलियत र राहतका कार्यक्रमहरू घोषणा गरेको छ । नयाँ उद्यम गर्न चाहने उद्योगीका लागि औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरी उत्पादन गर्दा लाग्ने भाडा तीन वर्षसम्म छुट दिने र विशेष आर्थिक क्षेत्र (सेज)मा रहने उद्योगका लागि समेत सहुलियत घोषणा गरिएको छ । यसैगरी, निर्यातजन्य उत्पादनको सहजीकरणसँगै निर्यातमा समेत प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योगसरह आयकर र विद्युत् महसुल छुट पाउने भएका छन् । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था ल्याइएको छ ।

१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर नलाग्ने भएको छ । त्यस्तै, काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग बढाउन काठ सिजनिङ गर्ने उद्योगलाई आवश्यक पर्ने मिल मेसिनरी पैठारी गर्दा १ प्रतिशत मात्र भन्सार महसुल लाग्नेछ । ग्रिन हाइड्रोजन उत्पादकलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाइएको छ । सौर्य तथा वायु ऊर्जाबाट विद्यत् सञ्चय गर्न आवश्यक पर्ने ब्याट्री तथा अन्य यन्त्र उपकरणको पैठारीमा एक प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने लगायतका व्यवस्था गरिएको छ । यसबाट निजी क्षेत्रले मुलुकको अर्थतन्त्रमा पु¥याउँदै आएको योगदानमा अझ वृद्धि हुने आशा गरिएको छ । 

बजेट समग्रमा सन्तुलित देखिए पनि यसबाट अपेक्षित लाभ प्राप्त गर्न भने कार्यान्वयन पक्षको भूमिका महत्वपूर्ण देखिन्छ । विगतका अनुभवहरूमा कार्यान्वयन पक्ष प्रभावकारी बन्न नसक्दा अपेक्षित प्रतिफल प्राप्त गर्न सकिएको थिएन । यसबाट आम जनतामा निराशा छाएको देखिन्छ । यसैकारण अबका दिनमा नयाँ आव सुरु हुनुअगावै बजेटको प्रभावकारी कार्यान्वयनका लागि उपयुक्त राणनीति तयार पार्नुपर्ने आवश्यकता देखिएको छ । राज्यका हरेक निकायलाई बजेट कार्यान्वयनमा जिम्मेवार बनाएर गुण र दोषका आधारमा सम्मान र सजायको व्यवस्था गर्न सकेको खण्डमा मात्र आगामी दिनमा निराश हुन नपर्ने देखिन्छ । आगामी आवको बजेटलाई धेरैले यथार्थपरक, मितव्ययिता र कार्यान्वयन योग्य रहेको भन्दै प्रशंसा गरेका छन् । यसैकारण यस बजेटबाट अपेक्षित प्रतिफल प्राप्त गर्ने आशा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.