election background

प्रतिनिधि सभा निर्वाचन २०८२

‘इजरायलका नेपालीको सुरक्षामा दत्तचित्त छौं’

‘इजरायलका नेपालीको सुरक्षामा दत्तचित्त छौं’
धनप्रसाद पण्डित, इजरायलका लागि नेपाली राजदूत

इजरायली सेनाले इरानी राजधानीका केही भागहरू बसोबास गर्दै आएका मानिसलाई ठाउँ खाली गर्न चेतावनी दिँदै सोमबार तेहरानमा थप हवाई आक्रमणहरू गरेको छ । इजरायल र इरानबीच तनाव सुरु भएको चार दिन बित्दा दुवै पक्षतर्फ ठूलो क्षति भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार इजरायली आक्रमणबाट कम्तीमा २ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी शुक्रबार यता इजरायलमा मारिनेको संख्या २४ पुगेको समाचार एजेन्सीहरूले जनाएका छन् । नेपाली राजदूतावासका अनुसार इजरायलमा हाल ५ देखि ७ हजारको संख्यमा नेपाली विभिन्न पेसामा सम्लग्न छन् । केही विद्यार्थी पनि छन् । यही परिप्रेक्षमा त्यहाँ रहेका नेपालीको अवस्था र उनीहरूको सुरक्षाका लागि नेपाली राजदूतावासले उठाएका कदमका विषयमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानीको सारसंक्षेप :

इजरायलमा हाल रहेका नेपालीको संख्या कति छ र धेरै कुन क्षेत्रमा कार्यरत छन् ?   

हाल इजरायलमा बसोबास गर्ने नेपाली कति छन् भन्ने यकिन जानकारी कसैलाई छैन । हामीकहाँ जीटुजी (सरकारले सरकारलाई) पठाउने कामदार करिब २ हजार जति छन् । कृषिमा ३ सय ५० जना छन् । सन् २००१ देखि २००९ सम्म आएका र कुनै किसिमले अहिलेसम्म बसिरहेका झन्डै हजार जना जति छन् । अनौपचारिक तरिकाले आएका नेपाली झन्डै दुई हजार छन् । अरू विविध किसिमले आएका वा यहीँ आएर कोहीसँग विवाह गरेर बसेका पनि छन् । यी सबै गरेर जम्माजम्मी पाँचदेखि सात हजार नेपाली छन् । 

यीमध्ये सबैभन्दा धेरै केयर गिभिङ अर्थात् बिरामीको स्याहार सुसार गर्ने क्षेत्रमा छन् । यसरी नर्सिङको क्षेत्रमा काम गर्ने दुई हजार छन् । निजी घरमा काम गर्ने करिब एक हजार छन् । अर्को बाटो भएर आएकामध्ये पनि प्राइभेट नर्सिङ होममा काम गर्ने छन् । ७, ८ जना कृषिका विद्यार्थी छन् । कृषि स्नातकोत्तर पढिरहेका ४ जना छन् जो २०२३ को लडाइँमा घाइते भएपछि यहाँको सरकारले छात्रवृत्ति दिएर हाल अध्ययन गरिरहेका छन् । एक जना डाक्टर मेडिकल सेन्टरमा इन्टर्नको रूपमा काम गरिरहेका छन् । जम्माजम्मी १०,१२ जना विद्यार्थी होलान् ।     

पछिल्लो समय इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा इजरायलमा रहेका नेपालीको अवस्था कस्तो छ ?  
अहिलेसम्म सबै नेपाली सुरक्षित छन् । उनीहरूमाथि कुनै खतरा देखिएको छैन । जहाँ काम गरिरहेका छन् वा जहाँ बसिरहेका छन्, हरेक ठाउँमा बंकर हुन्छ । बंकरभित्र समयमा बस्यो र त्यही घरमा मिसायल परेन भने जोगिन्छन् । त्यही ठाउँमा पर्‍यो भने त यस्तो युद्धको बेलामा केही भन्न सकिन्न । अहिलेसम्म यहाँको सरकारको सुरक्षासम्बन्धी नियमलाई पालना गरेर बस्नु भन्ने हामीले सूचना गरेका छौं । केही भबितव्य परे हामीलाई खबर गर्नु । हामी नेपाल सरकारको समन्वयमा तपाईंहरूलाई उद्धार गर्छौं भनेका छौं ।  
सुरक्षाका दृष्टिले इजरायलका कुन–कुन सहर र क्षेत्र बढी जोखिममा छन् ?   त्यहाँ कति नेपाली छन् ?  
इजरायल भनेको हाम्रो कर्णाली प्रदेश जत्रै छ । त्यसकारण यो लडाइँको बेलामा इरानबाट झन्डै १५ सय, दुई हजार किलोमिटरको दूरीबाट आउने क्षेप्यास्त्र जहाँ पनि पर्न सक्छ  । यही ठाउँमा सुरक्षा जोखिम बढी छ भनेर यसै भन्न सकिन्न । उत्तरतिर हाइटमा पनि हानेको छ ।

मुख्य सहर तेल अभिभमा पनि हानेको छ । मोटामोटी रूपमा यिनीहरूले जोगाइहाल्छन् । यिनीहरूको आइरन डोम प्रतिरक्षा प्रणालीले काम गर्छ । तर, धेरै मिसाइल एकै साथ आउँदा फुत्कने रहेछ र धेरै विनाश पनि भएको छ । अरू ठाउँभन्दा दक्षिणतिर गाजाभन्दा तलतिरको मरभूमि तिर मान्छे थोरै छन् । त्यहाँ कसैले हान्दैनन् । त्यहाँ सुरक्षित छ । 

त्यहाँ एउटा कलेज छ । हाम्रा विद्यार्थीले पहिलेको युद्धमा पनि त्यहाँ केही भएको थिएन भनेर भनेका थिए । मुख्य सहर तेल अभिभ, दोस्रो ठूलो जेरुसेलम र तेस्रो हाइफा । अहिले यी तिनै सहरमा हानेका छन् । नेपाली यी सबै क्षेत्रमा छरिएका छन् । 

उनीहरूको सुरक्षा र संरक्षणबारे दूतावासले सूचना प्रणाली के कस्तो बनाएको छ ? अत्यावश्यक जानकारी हरेक नेपालीले कसरी पाउँछन् ? 
हामीले हरेक सूचना र जानकारी फेसबुकमा हाल्छौं । दूतावासको फेसबुकमा चासो दिएर हेरिरहनुभएको हुन्छ । उहाँहरूले राजदूतावासको वेबसाइट पनि हेर्नुहुन्छ । केही नयाँ सूचना आएको छ कि भनेर फलो गरिरहनुभएको हुन्छ । हामीले दूताबासको फोन नम्बर, हटलाइन दिएका छौं । केही परे हामीलाई फोन गर्नुहुन्छ । यहाँ १८ वटा नेपाली संघसंस्था छन् । तीनका अध्यक्षहरूलाई पनि केही परे हामीलाई जानकारी दिनु भनिरहेका छौं । तिनीहरूको सम्पर्कमा सबै हुन्छन् । 
इजरायलमा रहेका नेपालीहरूको मनोबल कस्तो छ ? उनीहरू दूतावाससँग कति सम्पर्कमा छन् ? 
स्वाभाविक नै हो, यस्तो अवस्थामा जोसुकैको पनि मनोबल कमजोर हुन्छ । अलि अलि डर लाग्छ । घरको मान्छेको सम्झना आउँछ । कति रात सुतेको हुँदैन । बंकरमा राति चार, पाँचपटक जानुपर्दा निन्द्रा लागेको हुँदैन । युद्धको अवस्थाले मनोबलमा असर गरेकै हुन्छ । 

युद्धबाट त्रसित भएर कसैले नेपाल फर्कन्छु भनेका छन् कि ? 
यति हुँदाहुँदै पनि म फर्कन्छु भनेर कसैले भनेका छैनन् । दूतावासमा एकदमै ताकेता गरेको वा फर्कने इच्छा जायर गर्ने मान्छे खासै भेटिएको छैन । एउटा÷दुइटा फाट्टफुट्ट होलान् । तर, मैले जतिलाई सोधेँ, फर्काउने कुराचाहिँ नगर्नुहोला है महामहिमज्यू भन्नुहुन्छ ।

यति मात्र होइन नेपालमा भएका मानिस पनि कुन दिन युद्ध रोकिन्छ, हामीलाई आउन ढिला भयो, बरु जे होला होला हामी आउँछौं भन्छन् । अहिले पनि १००० जनाभन्दा बढी वेटिङमा छन् । उनीहरू छनोटमा परिसकेका छन् । यहाँ तपाईंले जेसुकै काम गरे पनि कम्तीमा दुई लाख जति बच्छ । यति पैसा घरमा पठाउनुहुन्छ । यो भनेको राम्रै रकम हो । 
राजदूतावासले नेपाली समुदायलाई सुरक्षित राख्न के कस्ता कदमहरू चालेको छ ? 
यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले आफूलाई सुरक्षित राख्ने हो । अनावश्यक घुमफिर नगर्नु भनेका छौं । काम गर्ने ठाउँदेखि जसको बसाइ टाढा छ, अहिले बसाइ पनि त्यही गर्नु भनेर भनिएको छ । अहिले काम गर्ने होस्टेलमै बंकरमा बस्नु भनेका छौं । 

युद्ध अझै चम्कियो भने आपतकालीन उद्दार र नेपालीको सुरक्षित स्थानान्तरणका लागि दूतावासले के योजना बनाएको छ ? 
चम्किने नचम्किने भनेको हाम्रो हातको कुरा होइन । धरै बढ्यो भने के गर्ने भन्ने पछिको कुरा हो । अहिले यहाँको विमानस्थल पूरै बन्द छ । विमानस्थल नभएपछि कसरी गर्ने स्थानान्तरण । आफू जहाँ हुनुहुन्छ, त्यही सुरक्षित भएर बस्न हामीले भनेका छौं ।

इजरायलमा कार्यरत नेपाली कामदारहरूमा कस्तो असर परेको छ ? हालको परिस्थितिका कारण रोजगार गुमाउने वा फर्किनुपर्ने अवस्था आएको छ कि ? 
रोजगार गुमाउने होइन कि यो परिस्थिति रोकियो भने फेरि अर्को क्षेत्रमा नेपालीले थप रोजगार पाउन सक्छन् । किनभने केही पुनर्निर्माण गर्नुपर्ने होला, अन्य धेरै काम होला । यिनीहरूकहाँ श्रमिकको कमी नै छ । त्यसमाथि पनि नेपालीप्रति उनीहरू बढी विश्वास गर्छन् । 

युद्धका कारण नेपालीको मानसिक स्वास्थ्यमा कस्तो असर पारेको छ ? दूतावासले मनोपरामर्श दिने पहल गरेको छ कि ? 
दुई जना व्यक्ति झगडा गरेको देख्यो भने त त्यो रात हामीलाई निन्द्रा लाग्दैन । यहाँ त दुई देश लडिरहेका छन् । जतिबेला पनि बम बारुद र मिसाइलले डर्‍याङडुरुङ भइरहेको छ । यसले पक्कै पनि मानसिक स्वास्थ्यमा असर पुर्‍याएको छ । तर, उनीहरूले यसलाई सहेरै बसिरहेका छन् । आवश्यक परेको बेलामा हामीले पनि सहयोग गर्छौं । 

इजरायलमा रहेका नेपाली नागरिक र उहाँहरूका आफन्तलाई के सन्देश दिन चाहनुहुन्छ ? 
चिन्ता त लाग्छ तर चिन्ता नगर्नु भनेर उहाँहरूका आफन्तलाई भन्न चाहान्छु । धेरै चिन्ता गरेर दुखित भएर नबस्नु । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही ठूलो समस्या परे हामी अभिभावकका रूपमा छौं । जे गर्नुपर्छ हामी गर्छौं । रेस्क्यु नै गर्नुपर्‍यो भने नेपाल सरकार तयार छ । परराष्ट्र मन्त्रालयसँग हाम्रो समन्वय चलिरहेको छ । 

खासै त्यस्तो केही डर छैन
नागेश कोइराला, 
मेयर, विराटनगर महानगरपालिका

म गत ९ तारिखका दिन इजरायल पुगेको हुँ । यहाँको सहकारी र व्यवस्थित खेती अवलोकनका लागि हामीलाई बोलाइएको हो । बालुवा नै बालुवा भएको माटोमा यिनीहरूले कसरी खेती गरेका छन् र यहाँको विकास देखाउन बोलाइएको हो । नेपालबाट म मात्रै छु । फिलिपिन्सबाट दुई जना सांसद र त्यहाँको नगरपालिका र गाउँपालिकाका प्रमुखहरू हुनुहुन्छ ।

मेरो २० तारिखमा फर्कने तालिका थियो । हामीलाई बोलाउने एजेन्सी र यहाँका महामहिम राजदूतले मिलेर मलाई १८ तारिखमा फिर्ता पठाउने उपाय गरिदिनुभयो । विमानस्थल बन्द भएका कारणले कि त इजिप्टको कायरोबाट कि जोर्डनबाट जानुपर्ने भयो । जोर्डन सबैभन्दा नजिकको बाटो भएकाले त्यहाँको भिसा लगाएर जाने भन्ने कुरा छ । 

म एउटा ठाउँमा आएर बसेपछि यहाँ युद्ध सुरु भइहाल्यो । त्यसपछि कहीँ जान पाइन् । बाहिरको अवस्था केही देख्न पाएको छैन । नेपाली कोहीसँग पनि भेटघाट भएको छैन । यहाँ नेपाली कामदारलाई प्रतिघण्टा आठ डलर दिइने रहेछ । विकेन्डमा डेढ गुणा र शनिबार गर्दा डबल हुने रहेछ । त्यसैले यहाँ कामदारलाई राम्रो कमाइ हुने हुँदा नेपाली पनि राम्रोसँग बसेका रहेछन् भन्ने मैले बुझेँ । 

युद्ध भइरहँदा साइरन बजेको बेलामा बंकरमा गएर बस भन्छन् १०, १५ मिनेट बस्ने अनि फेरि बाहिर निस्कने हो । मनमा खासै त्यस्तो केही डर छैन । म होटेलमै बसेर अहिले पनि आफ्ना मिटिङहरू गरिरहेको छु । अन्य नेपालीलाई पनि नआत्तिन र सुरक्षित रहन अनुरोध गर्छु ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.