‘इजरायलका नेपालीको सुरक्षामा दत्तचित्त छौं’
इजरायली सेनाले इरानी राजधानीका केही भागहरू बसोबास गर्दै आएका मानिसलाई ठाउँ खाली गर्न चेतावनी दिँदै सोमबार तेहरानमा थप हवाई आक्रमणहरू गरेको छ । इजरायल र इरानबीच तनाव सुरु भएको चार दिन बित्दा दुवै पक्षतर्फ ठूलो क्षति भएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार इजरायली आक्रमणबाट कम्तीमा २ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी शुक्रबार यता इजरायलमा मारिनेको संख्या २४ पुगेको समाचार एजेन्सीहरूले जनाएका छन् । नेपाली राजदूतावासका अनुसार इजरायलमा हाल ५ देखि ७ हजारको संख्यमा नेपाली विभिन्न पेसामा सम्लग्न छन् । केही विद्यार्थी पनि छन् । यही परिप्रेक्षमा त्यहाँ रहेका नेपालीको अवस्था र उनीहरूको सुरक्षाका लागि नेपाली राजदूतावासले उठाएका कदमका विषयमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानीको सारसंक्षेप :
इजरायलमा हाल रहेका नेपालीको संख्या कति छ र धेरै कुन क्षेत्रमा कार्यरत छन् ?
हाल इजरायलमा बसोबास गर्ने नेपाली कति छन् भन्ने यकिन जानकारी कसैलाई छैन । हामीकहाँ जीटुजी (सरकारले सरकारलाई) पठाउने कामदार करिब २ हजार जति छन् । कृषिमा ३ सय ५० जना छन् । सन् २००१ देखि २००९ सम्म आएका र कुनै किसिमले अहिलेसम्म बसिरहेका झन्डै हजार जना जति छन् । अनौपचारिक तरिकाले आएका नेपाली झन्डै दुई हजार छन् । अरू विविध किसिमले आएका वा यहीँ आएर कोहीसँग विवाह गरेर बसेका पनि छन् । यी सबै गरेर जम्माजम्मी पाँचदेखि सात हजार नेपाली छन् ।
यीमध्ये सबैभन्दा धेरै केयर गिभिङ अर्थात् बिरामीको स्याहार सुसार गर्ने क्षेत्रमा छन् । यसरी नर्सिङको क्षेत्रमा काम गर्ने दुई हजार छन् । निजी घरमा काम गर्ने करिब एक हजार छन् । अर्को बाटो भएर आएकामध्ये पनि प्राइभेट नर्सिङ होममा काम गर्ने छन् । ७, ८ जना कृषिका विद्यार्थी छन् । कृषि स्नातकोत्तर पढिरहेका ४ जना छन् जो २०२३ को लडाइँमा घाइते भएपछि यहाँको सरकारले छात्रवृत्ति दिएर हाल अध्ययन गरिरहेका छन् । एक जना डाक्टर मेडिकल सेन्टरमा इन्टर्नको रूपमा काम गरिरहेका छन् । जम्माजम्मी १०,१२ जना विद्यार्थी होलान् ।
पछिल्लो समय इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा इजरायलमा रहेका नेपालीको अवस्था कस्तो छ ?
अहिलेसम्म सबै नेपाली सुरक्षित छन् । उनीहरूमाथि कुनै खतरा देखिएको छैन । जहाँ काम गरिरहेका छन् वा जहाँ बसिरहेका छन्, हरेक ठाउँमा बंकर हुन्छ । बंकरभित्र समयमा बस्यो र त्यही घरमा मिसायल परेन भने जोगिन्छन् । त्यही ठाउँमा पर्यो भने त यस्तो युद्धको बेलामा केही भन्न सकिन्न । अहिलेसम्म यहाँको सरकारको सुरक्षासम्बन्धी नियमलाई पालना गरेर बस्नु भन्ने हामीले सूचना गरेका छौं । केही भबितव्य परे हामीलाई खबर गर्नु । हामी नेपाल सरकारको समन्वयमा तपाईंहरूलाई उद्धार गर्छौं भनेका छौं ।
सुरक्षाका दृष्टिले इजरायलका कुन–कुन सहर र क्षेत्र बढी जोखिममा छन् ? त्यहाँ कति नेपाली छन् ?
इजरायल भनेको हाम्रो कर्णाली प्रदेश जत्रै छ । त्यसकारण यो लडाइँको बेलामा इरानबाट झन्डै १५ सय, दुई हजार किलोमिटरको दूरीबाट आउने क्षेप्यास्त्र जहाँ पनि पर्न सक्छ । यही ठाउँमा सुरक्षा जोखिम बढी छ भनेर यसै भन्न सकिन्न । उत्तरतिर हाइटमा पनि हानेको छ ।
मुख्य सहर तेल अभिभमा पनि हानेको छ । मोटामोटी रूपमा यिनीहरूले जोगाइहाल्छन् । यिनीहरूको आइरन डोम प्रतिरक्षा प्रणालीले काम गर्छ । तर, धेरै मिसाइल एकै साथ आउँदा फुत्कने रहेछ र धेरै विनाश पनि भएको छ । अरू ठाउँभन्दा दक्षिणतिर गाजाभन्दा तलतिरको मरभूमि तिर मान्छे थोरै छन् । त्यहाँ कसैले हान्दैनन् । त्यहाँ सुरक्षित छ ।
त्यहाँ एउटा कलेज छ । हाम्रा विद्यार्थीले पहिलेको युद्धमा पनि त्यहाँ केही भएको थिएन भनेर भनेका थिए । मुख्य सहर तेल अभिभ, दोस्रो ठूलो जेरुसेलम र तेस्रो हाइफा । अहिले यी तिनै सहरमा हानेका छन् । नेपाली यी सबै क्षेत्रमा छरिएका छन् ।
उनीहरूको सुरक्षा र संरक्षणबारे दूतावासले सूचना प्रणाली के कस्तो बनाएको छ ? अत्यावश्यक जानकारी हरेक नेपालीले कसरी पाउँछन् ?
हामीले हरेक सूचना र जानकारी फेसबुकमा हाल्छौं । दूतावासको फेसबुकमा चासो दिएर हेरिरहनुभएको हुन्छ । उहाँहरूले राजदूतावासको वेबसाइट पनि हेर्नुहुन्छ । केही नयाँ सूचना आएको छ कि भनेर फलो गरिरहनुभएको हुन्छ । हामीले दूताबासको फोन नम्बर, हटलाइन दिएका छौं । केही परे हामीलाई फोन गर्नुहुन्छ । यहाँ १८ वटा नेपाली संघसंस्था छन् । तीनका अध्यक्षहरूलाई पनि केही परे हामीलाई जानकारी दिनु भनिरहेका छौं । तिनीहरूको सम्पर्कमा सबै हुन्छन् ।
इजरायलमा रहेका नेपालीहरूको मनोबल कस्तो छ ? उनीहरू दूतावाससँग कति सम्पर्कमा छन् ?
स्वाभाविक नै हो, यस्तो अवस्थामा जोसुकैको पनि मनोबल कमजोर हुन्छ । अलि अलि डर लाग्छ । घरको मान्छेको सम्झना आउँछ । कति रात सुतेको हुँदैन । बंकरमा राति चार, पाँचपटक जानुपर्दा निन्द्रा लागेको हुँदैन । युद्धको अवस्थाले मनोबलमा असर गरेकै हुन्छ ।
युद्धबाट त्रसित भएर कसैले नेपाल फर्कन्छु भनेका छन् कि ?
यति हुँदाहुँदै पनि म फर्कन्छु भनेर कसैले भनेका छैनन् । दूतावासमा एकदमै ताकेता गरेको वा फर्कने इच्छा जायर गर्ने मान्छे खासै भेटिएको छैन । एउटा÷दुइटा फाट्टफुट्ट होलान् । तर, मैले जतिलाई सोधेँ, फर्काउने कुराचाहिँ नगर्नुहोला है महामहिमज्यू भन्नुहुन्छ ।
यति मात्र होइन नेपालमा भएका मानिस पनि कुन दिन युद्ध रोकिन्छ, हामीलाई आउन ढिला भयो, बरु जे होला होला हामी आउँछौं भन्छन् । अहिले पनि १००० जनाभन्दा बढी वेटिङमा छन् । उनीहरू छनोटमा परिसकेका छन् । यहाँ तपाईंले जेसुकै काम गरे पनि कम्तीमा दुई लाख जति बच्छ । यति पैसा घरमा पठाउनुहुन्छ । यो भनेको राम्रै रकम हो ।
राजदूतावासले नेपाली समुदायलाई सुरक्षित राख्न के कस्ता कदमहरू चालेको छ ?
यस्तो अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफूले आफूलाई सुरक्षित राख्ने हो । अनावश्यक घुमफिर नगर्नु भनेका छौं । काम गर्ने ठाउँदेखि जसको बसाइ टाढा छ, अहिले बसाइ पनि त्यही गर्नु भनेर भनिएको छ । अहिले काम गर्ने होस्टेलमै बंकरमा बस्नु भनेका छौं ।
युद्ध अझै चम्कियो भने आपतकालीन उद्दार र नेपालीको सुरक्षित स्थानान्तरणका लागि दूतावासले के योजना बनाएको छ ?
चम्किने नचम्किने भनेको हाम्रो हातको कुरा होइन । धरै बढ्यो भने के गर्ने भन्ने पछिको कुरा हो । अहिले यहाँको विमानस्थल पूरै बन्द छ । विमानस्थल नभएपछि कसरी गर्ने स्थानान्तरण । आफू जहाँ हुनुहुन्छ, त्यही सुरक्षित भएर बस्न हामीले भनेका छौं ।
इजरायलमा कार्यरत नेपाली कामदारहरूमा कस्तो असर परेको छ ? हालको परिस्थितिका कारण रोजगार गुमाउने वा फर्किनुपर्ने अवस्था आएको छ कि ?
रोजगार गुमाउने होइन कि यो परिस्थिति रोकियो भने फेरि अर्को क्षेत्रमा नेपालीले थप रोजगार पाउन सक्छन् । किनभने केही पुनर्निर्माण गर्नुपर्ने होला, अन्य धेरै काम होला । यिनीहरूकहाँ श्रमिकको कमी नै छ । त्यसमाथि पनि नेपालीप्रति उनीहरू बढी विश्वास गर्छन् ।
युद्धका कारण नेपालीको मानसिक स्वास्थ्यमा कस्तो असर पारेको छ ? दूतावासले मनोपरामर्श दिने पहल गरेको छ कि ?
दुई जना व्यक्ति झगडा गरेको देख्यो भने त त्यो रात हामीलाई निन्द्रा लाग्दैन । यहाँ त दुई देश लडिरहेका छन् । जतिबेला पनि बम बारुद र मिसाइलले डर्याङडुरुङ भइरहेको छ । यसले पक्कै पनि मानसिक स्वास्थ्यमा असर पुर्याएको छ । तर, उनीहरूले यसलाई सहेरै बसिरहेका छन् । आवश्यक परेको बेलामा हामीले पनि सहयोग गर्छौं ।
इजरायलमा रहेका नेपाली नागरिक र उहाँहरूका आफन्तलाई के सन्देश दिन चाहनुहुन्छ ?
चिन्ता त लाग्छ तर चिन्ता नगर्नु भनेर उहाँहरूका आफन्तलाई भन्न चाहान्छु । धेरै चिन्ता गरेर दुखित भएर नबस्नु । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही ठूलो समस्या परे हामी अभिभावकका रूपमा छौं । जे गर्नुपर्छ हामी गर्छौं । रेस्क्यु नै गर्नुपर्यो भने नेपाल सरकार तयार छ । परराष्ट्र मन्त्रालयसँग हाम्रो समन्वय चलिरहेको छ ।
खासै त्यस्तो केही डर छैन
नागेश कोइराला,
मेयर, विराटनगर महानगरपालिका
म गत ९ तारिखका दिन इजरायल पुगेको हुँ । यहाँको सहकारी र व्यवस्थित खेती अवलोकनका लागि हामीलाई बोलाइएको हो । बालुवा नै बालुवा भएको माटोमा यिनीहरूले कसरी खेती गरेका छन् र यहाँको विकास देखाउन बोलाइएको हो । नेपालबाट म मात्रै छु । फिलिपिन्सबाट दुई जना सांसद र त्यहाँको नगरपालिका र गाउँपालिकाका प्रमुखहरू हुनुहुन्छ ।
मेरो २० तारिखमा फर्कने तालिका थियो । हामीलाई बोलाउने एजेन्सी र यहाँका महामहिम राजदूतले मिलेर मलाई १८ तारिखमा फिर्ता पठाउने उपाय गरिदिनुभयो । विमानस्थल बन्द भएका कारणले कि त इजिप्टको कायरोबाट कि जोर्डनबाट जानुपर्ने भयो । जोर्डन सबैभन्दा नजिकको बाटो भएकाले त्यहाँको भिसा लगाएर जाने भन्ने कुरा छ ।
म एउटा ठाउँमा आएर बसेपछि यहाँ युद्ध सुरु भइहाल्यो । त्यसपछि कहीँ जान पाइन् । बाहिरको अवस्था केही देख्न पाएको छैन । नेपाली कोहीसँग पनि भेटघाट भएको छैन । यहाँ नेपाली कामदारलाई प्रतिघण्टा आठ डलर दिइने रहेछ । विकेन्डमा डेढ गुणा र शनिबार गर्दा डबल हुने रहेछ । त्यसैले यहाँ कामदारलाई राम्रो कमाइ हुने हुँदा नेपाली पनि राम्रोसँग बसेका रहेछन् भन्ने मैले बुझेँ ।
युद्ध भइरहँदा साइरन बजेको बेलामा बंकरमा गएर बस भन्छन् १०, १५ मिनेट बस्ने अनि फेरि बाहिर निस्कने हो । मनमा खासै त्यस्तो केही डर छैन । म होटेलमै बसेर अहिले पनि आफ्ना मिटिङहरू गरिरहेको छु । अन्य नेपालीलाई पनि नआत्तिन र सुरक्षित रहन अनुरोध गर्छु ।
प्रतिक्रिया दिनुहोस !