‘नेपाल सूचना प्रविधिको हब बन्न सक्छ, सीप र सोचले बाटो खोल्छ’
यूकेमा बसेर नेपाल र विभिन्न देशमा आइटीका इनोभेटिभ कामहरू गरिरहनु भएको छ। त्यो ठाउँमा कसरी पुग्नुभयो ?
त्यो बेलामा त कम्प्युटर सिस्टममा विभिन्न भाइरसहरू आउँथे नि हैन ? धेरै सेक्युरिटी च्यालेन्ज थियो होला ?
तपाईं स्कलरसिपमा पढ्न जानुभएको कि पैसा तिरेर ?
म नेपालमा औसत विद्यार्थी थिएँ। मेरो जीपीए पनि नर्मल नै थियो। अर्को कुरा यूकेमा छात्रवृत्तिभन्दा पनि छुट पाएँ। त्यहाँ पढ्न थालेपछि मैले मास्टर्स डिग्रीमा डिस्टिङसन ल्याएँ। त्यो हुनुमा मेरो छनोटको विषयले पनि महत्वपूर्ण भूमिका खेल्यो।
नेपाल र यूकेको पढाइमा के फरक पाउनुभयो ?
धेरै नै फरक छ। नेपालमा पुरानै शैलीमा पढाइ भइरहेको छ। प्राक्टिकल भएन। विदेशमा घोकाउने हुँदैन। सबै कुरा अनुसन्धानमूलक हुन्छन्। मैले यूकेमा सिकेको मुख्य कुरा भनेको आफैं कसरी पढ्ने भन्ने गुरुले सिकाउँछन्। यही कलाले मेरो जिन्दगीमा सधैं काम गरेको छ।
पढ्दै काम पनि गर्न थाल्नुभो ?
अहँ, मैले पढ्दै काम गरिनँ। किनभने, सन् २०१० मा म यूके पुगेँ। त्यो समयमा बेलायत जाने लहडै चलेको थियो। सन् २०१२ मा ओलम्पिक हुने कुरा पनि थियो। त्यसैले पनि यूकेमा विभिन्न मुलुकमा धेरै नागरिकहरू पुगेका थिए। काम पाउन निकै गाह्रो थियो। अर्को कुरा म विद्यार्थी भएकाले पनि काम पाउन गाह्रै थियो। त्यही साताको २० घण्टाचाहिँ पाइन्थ्यो।
प्रयासै गर्नुभएन ?
मसँग नेपालमा हुँदा पनि विभिन्न पेसागत कम्पनीमा काम गरेका अनुभव थिए। माइक्रोसफ्टको सर्टिफाइड टिचर पनि थिएँ। ती सबै डिग्रीहरू बेलायतका विभिन्न कम्पनीमा पठाएँ पनि। त्यसलाई हेरेर कतिपय कम्पनीबाट खबर आउँथ्यो। सोधिन्थ्यो, फुलटाइम कि पार्टटाइम भनेर। म पार्टटाइम भन्थेँ। अनि, उताबाट फुलटाइम पो खोजेको भन्ने जवाफ आउँथ्यो। अनि, सकियो। त्यस्तै त्यस्तै भयो।
ठुल्ठूला काम खोज्नुभयो होला ?
फिल्डभन्दा बाहिरका काम भुइँ पुछ्ने, रेस्टुरेन्टमा काम गर्ने आदि पनि नखोजेको होइन। सबै खाले काम खोजेँ। तर, पाइनँ। अनि पढाइलाई मात्रै फोकस गर्न थालेँ। कम खाएर हुन्छ कि, कसरी हुन्छ पैसा जोगाउनतर्फ लागेँ।
पैसाचाहिँ घरबाटै लानुभएको थियो ?
म नेपालमा हुँदा राम्रै पैसा कमाउथेँ। घरमा खासै खर्च हुन्नथ्यो। फजुल खर्च हुन्नथ्यो। प्रायः जोगिन्थ्यो। जोगाएरै राखेको थिएँ। त्यही पैसा लिएर बेलायत पुगेको थिएँ। अलिअलि थियो।
पढाइको निरन्तरता रोकिएन ?
मेरो मामा बेलायतमा पहिलेदेखि नै हुनुहुन्थ्यो। म पुगेको जम्मा ३ महिना मात्रै भएको थियो। मामा अचानक बिरामी हुनुभयो। उहाँलाई क्यान्सर देखियो। उहाँलाई नेपाल लिएर आउनुपर्यो। नेपालमा आएपछि उहाँको निधन भयो। मामाको उमेर पनि धेरै भएको थिएन। त्यसपछि म बेलायत फर्किएँ।
त्यसपछि ?
यूकेको मास्टर्स जम्मा २४ साताको मात्रै हुने। १२ साताको एउटा सेमेस्टर। २ सेमेस्टर सकियो। लामो बिदा अनि थेसिस लेख्नुपर्ने अर्को ६ महिना। अब मसँग भएको पैसा पनि सकिँदै गयो। काम पनि छैन। अनि म नेपाल आएँ। अब फर्किने बेला पनि भइसकेको थियो। टिकट पनि काटिसकेको थिएँ। अचानक एउटा फोन आयो। तपाईंले पहिले यूएनडीपीमा अप्लाई गर्नुभएको थियो। तपार्इंलाई सर्टलिस्टेड गरेका थियौं। अहिले तपाईको प्रोफाइललाई हुने खालको काम छ। गर्नुहुन्छ ? भने। मेरो पनि अहिले नै बेलायत गएर खासै काम थिएन। हवाई टिकट पनि सार्न मिल्ने भयो, बिनापैसा। मैले हुन्छ भनिदिएँ।
कामचाहिँ के गर्नुभयो ?
अर्थ मन्त्रालयमा डिजिटाइजेसनको काम रहेछ। सिंहदरबारभित्र छिरेर काम गर्ने भनेको ठूलै कुरा थियो त्यति बेला। अनि, मैले बेलायतमा मेरो प्रोफेसरलाई फोन गरेर थेसिस यहीँबाटै गर्छु भनेँ। उनले बेलायत आएर टपिक फाइनल गरेर जाऊँ, भइहाल्छ नि, भने। मैले त्यसै गरेँ। १ हप्ता बेलायत गएर टपिक फाइनल गरेर आएँ। लगभग ६ महिना भइसकेको थियो अर्थ मन्त्रालयमा काम गर्न थालेको।
त्यसले पढाइमा बाधा पुगेन ?
मेरो थेसिस बुझाउने बेला भयो। तर, केही गरेको थिइनँ। आ, यतै जागिर छँदै छ होस् भन्ने पनि आयो मनमा। फेरि होइन, मैले बेलायत जानैपर्छ भन्ने भयो। गएँ। अनि, रातदिन नभनी भटाभट थेसिसको काम गरेँ। समयमै बुझाएँ पनि। पछि रिजल्ट डिस्टिङसन नै पो आएछ।
पढाइ सकेपछि के गर्नुभयो ?
अब जागिर त खोज्नु पर्यो। फुलटाइमको अथोरिटी पनि भयो। भेटेजति अवसरहरूमा आवेदन दिन थालेँ। एक ठाउँबाट बोलाइयो। टाइ, सुट लगाएर अन्तर्वार्ता दिन गएको। ढोकामै टाइ, सुट खोल्न लगाए। जानेबित्तिकै इन्टरभ्यु त होइन, कम्प्युटरमा के–के काम दिए। जानेकै कुरा थिए। गरिदिएँ। जागिर पक्का भयो, ‘रिमोट सपोर्ट इन्जिनियर’ का रूपमा। त्यहाँ जति घन्टा काम गरे पनि हुन्थ्यो। म साताको ५५ घन्टासम्म काम गर्थें। यो काम मैले नेपालमा गरेको मेहनतको फल जस्तै लाग्यो। त्यहाँ काम गरेको १ महिना मात्रै भएको थियो। एक ठाउँबाट फोन आयो। तपाईंलाई म करारमा काम दिन्छु भने। दिनको १५० पाउन्ड हुन्छ भनियो। २०११ तिर १५० पाउन्ड भनेको निकै ठूलो पैसा हो। मेरा लागि त्यो पनि एउटा अवसर थियो। सिस्टम एडमिनिस्ट्रेटरको काम थियो। काम गाह्रो नै थियो। तर गरेँ।
पढाइ यत्तिमै रोकियो ? कि अघि बढाउनुभयो ?
डिस्टिङ्सन आएको कारण पनि पीएचडी गर्ने हुटहुटी जाग्यो। मेरो प्रोफेसरको इच्छा पनि त्यही थियो। विभिन्न ठाउँमा कोसिस गर्दै थिएँ। स्कटल्यान्डबाट पीएचडी गर्ने कुरा मिल्यो। त्यो म बसेको ठाउँबाट १२ घन्टा टाढा थियो। मेरो अफिसमा कुरा गरेँ। फुलटाइम गर्न असम्भव हुन्थ्यो। अफिसले पनि पार्टटाइम यहीँ काम गर भन्यो। सातामा २ दिन मात्रै जाँदा हुने। हरेक साता स्कटल्यान्डदेखि लन्डन ओहोरदोहोर गर्दै एक वर्षसम्म मैले यसलाई निरन्तरता दिएँ।
काम ?
म स्कटल्यान्डमा २ एमबीपीएस स्पीडको इन्टरनेट दुर्गममा पुर्याउने खालको अनुसन्धानमा खटाइएँ। संयोग, त्यसै समयदेखि हरेक ठाउँमा इन्टरनेट छ्यालब्याल हुन थाल्यो। मैले गरेको अनुसन्धान असान्दर्भिक भयो। अनि फर्किएर लन्डनमै पहिलेकै अफिसमा फुलटाइम गर्न थालेँ। पीएचडी छोडिदिएँ। त्यही दौरानमा नेपाल आएर विवाह पनि गरेँ।
विवाहले सायद जीवनमा फरक यु–टर्न ल्यायो होला। विवाहपछि म परिवारसहित बेलायत फर्किएँ। हाम्री छोरी जन्मिइन्। लगभग २ वर्षपछि मेरो काम छुट्यो। अन्यत्र खोज्न थालेँ। बीबीसीलगायत ठूला कम्पनीबाट अफर पनि पाएँ। पछि र्याकस्पेस भन्ने कम्पनीमा राम्रो सेवा–सुविधामा काम गर्न थालेँ। लगत्तै लन्डनमा घर किनेँ। अर्को चरण बैंकमा पनि काम गरेँ। फाइनान्सियल सेक्टरका धेरै काम सिक्ने मौका पाएँ। २०१८ मा त्यही दौरान मेरो पीआर पनि भयो। त्यसपछि मैले बैंकबाट पनि राजिनामा गरेँ।
राजीनामा ? किन नि !
आफ्नै केही गर्ने सोच आयो। सन् २०१८ देखि जेनेस सलुसन नामक आफ्नै कम्पनी सुरु गरेँ। जुन कम्पनीले बैंकहरूलाई विभिन्न डिजिटल सर्भिसहरू उपलब्ध गराउँछ। बैंक मात्रै होइन अन्य कम्पनीलाई पनि डिजिटल सेवा दिन्छ। जहाँ हाम्रा नेपाली भाइहरू पनि काम गर्छन्। उनीहरूलाई मैले फकाएर, सिकाएर, रिसाएर, प्रमोसन गरेर, सहयोग गरेर सफल बनाएको छु। हामीले हाम्रा सेवाग्राहीलाई इमानदारीपूर्वक सफल काम गरिदिएको भएर सबै खुसी छन्।
जस्तो ?
अमेजन, जहाँ मैले पहिले पनि काम गरिसकेको थिएँ। त्यसलाई नेपालमा आउन प्रस्ताव गरेँ। उसले नेपालको मार्केटबारे सोध्यो। मैले मार्केट राम्रो छ भनेँ। त्यसै समयमा अमेजनले बंगलादेशमा एउटा कार्यक्रम राखेको थियो। जसमा मलाई पनि स्पिकरका रूपमा बोलाइएको थियो। जाउँ कि नजाउँ भएको थियो। अनि गएँ पनि। त्यहाँ अमेजनको दक्षिण एसिया क्षेत्र प्रमुख चन्द्र बलामीसँग भेट भयो। उहाँले मेरो बारे बुझेपछि, अनि मैले बुझाएपछि नेपाल भ्रमण गर्ने निधो भयो। त्यहाँको टिम नेपाल आयो। मैले केही बैठक गराएँ। अनि अमेजनले नेपालमा बजार भिœयायो, गतिला क्लाइन्ट पायो। पछि चन्द्र बलामी पनि नेपाल आउनुभयो।
अमेजन आएर नेपाली सूचना प्रविधि क्षेत्रमा के भयो ?
अमेजनको उपस्थितिमा क्लाउडसम्बन्धी इभेन्ट पहिलोपटक नेपालमा २०१८ मा गरियो। त्यसपछि २०१९ मा पनि भयो। कोभिड कालमा हामीले नेपालमा जुम पनि ल्यायौं। त्यसपछि साइबरसेक्युरिटीमा काम गरिरहेका छौं। हाम्रो कम्पनी युरोपियन मुलुकलगायत १० देशमा छ। नेपालमा यो वर्ष हामीले २ वटा ठूला इभेन्ट गर्यौं। साइबर कनेक्ट भनेर। अगाडि बढ्दै छौं। पार्टनरसिप मोडेलमा हामी अन्य मुलुकमा पनि दायरा बढाउन खोज्दै छौं।
- कोभिड कालमा हामीले नेपालमा जुम पनि ल्यायौं। त्यसपछि साइबर सेक्युरिटीमा काम गरिरहेका छौं।
- अहिले संसारमा सबैभन्दा ठूलो चुनौती नै साइबर सुरक्षा भएको छ। यसैमा सबैभन्दा बढी छलफल हुने गरेको छ।
- साइबर सेक्युरिटी भनेको आइटीसँग सम्बन्धित मात्रै होइन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ।
- हामीले अमेजन र माइक्रोसफ्ट एकेडेमीसँग सहकार्य गरेर नेपालमा क्लाउडको पाठ्यक्रम नै लागू गरायौं।
- सन् २०१८ मा नेपालमा झन्डै १० देखि १२ जना क्लाउड एक्सपर्ट थिए भने अहिले हजारौं छन्।
तपाईँको बाल्यकाल कस्तो थियो ?
म काठमाडौंको मूलपानीमा जन्मिएको मान्छे हुँ। हाम्रो गाउँलाई काठमाडौंको काँठ पनि भन्छन्। राजधानीबाट नजिकै भए पनि विकास नपुगेको ठाउँ। मैले ४ कक्षासम्म त्यहीँ पढेँ। ५ देखि मनकामना स्कुल भन्ने थियो। जुन चितवनबाट आउनुभएका सरहरूले खोल्नुभएको थियो। त्यो प्राइभेट स्कुल थियो। त्यस समयको राम्रो मानिन्थ्यो। त्यहाँ पढेँ। १३ वर्षको थिएँ। ८ कक्षामा पढ्थेँ। मेरो बुवा किसान। हाम्रामा कुखुरा पालेका थियौं। अण्डा बेच्थ्यौं। बुवालाई टाइफाइड भयो। अब अण्डा बेच्न जाने मान्छे कोही थिएन। म आफैं अण्डा बेच्न जान थालेँ। बेलुका ग्राहकको नामहरू टिप्न थालेँ। बुवालाई केही दिनमै ठीक भइहाल्यो। तर, म जानिनजानी व्यापारमा छिरिसकेको थिएँ। त्यसपछि मैले त्यो कामलाई निरन्तरता दिइरहेँ।
पढाइमा बाधा पुगेन ?
एसएलसीको बेला भयो। बिहानै स्कुल जानुपथ्र्यो। त्यस्तो पिक समयमा पनि मैले अण्डा बेच्न लैजाने कामलाई निरन्तरता दिइरहेँ। स्कुलमै पनि अण्डा बेचेँ। यसरी नै पढियो। पढाइमा म ठिकै विद्यार्थी हुँ। २०५७ सालमा एसएसली दिएँ। लगभग ७९ प्रतिशत ल्याएर पास गरेँ। त्यो बेलामा त्यति नम्बर ल्याउनु राम्रै हो जस्तो लाग्छ।
एसएलसीपछि के पढ्नुभयो ?
त्यो बेलामा प्लस टु को चलन भर्खर आएको थियो। बानेश्वरको न्यु–समिट कलेजमा बिहानको समयमा पढ्न थालेँ। अण्डा बेच्ने काम चलिरहेको थियो। त्यो समयसम्ममा पसल नै बनाइसकेका थियौं। प्लस टु मा ठिकै नम्बर आयो। यसपछि ४ वर्ष इन्जिनियरिङ पढ्ने हुटहुटी जाग्यो। पुल्चोक क्याम्पसमा नाम निकालियो। पढ्न थालियो। इन्जिनियरिङ सकेपछि कम्प्युटिङ पढ्न मन लाग्यो। माइक्रोसफ्ट सर्टिफाइड कोर्स गरेँ।
जागिर खान मन लागेन ?
त्यस बेलामा आइतबार पत्रिकामा भ्याकेन्सीको विज्ञापन आउँथ्यो। त्यही हेरेर थम्पसन नेपाल भन्ने संस्थामा आवेदन गरेँ। काम गर्न थालेँ। त्यसपछि मैले विदेश पढ्न जान धेरै ठाउँमा प्रयास गर्न थालेँ। टुंगो नलागी नै थम्पसन नेपालमा राजीनामा दिएँ। भिसा पनि आयो। जनवरी २०१० मा म यूके उडेँ।
नेपालमा साइबर सेक्युरिटीका च्यालेन्जहरू के–के छन् ? यसका लागि के–के गर्नु जरुरी हुन्छ ?
साइबर सेक्युरिटीलाई अहिले पनि आईटी प्रब्लमका रूपमा लिइन्छ। तर, यो आइटी प्रब्लम होइन। यो बिजनेस प्रब्लम हो। साइबर सेक्युरिटीले आइटीलाई मात्रै होइन, पूरै व्यापारलाई नै समस्यामा पार्न सक्छ। यसमा समस्या आइलागिहाल्यो भने समस्या मात्रै होइन, कम्पनी नै बन्द हुन पनि सक्छ। त्यसैले साइबर सेक्युरिटी भनेको आइटीसँग सम्बन्धित मात्रै होइन भन्ने कुरा बुझ्नु जरुरी हुन्छ।
खास के हो त ?
पहिलो कुरा यसलाई आइटीको मात्रै समस्या हो भन्ने बुझाइ छ। त्यो हुँदा एक्ज्युकेटिभको नजरमा पुग्दैन। केही भएकै छैन भनेपछि सेक्युरिटी किन चाहियो ? जब समस्या हुन्छ अनि त सक्किगो नि। माइन्डसेट नै सबैभन्दा पहिला बदल्नुपर्छ। दोस्रो कुरा यसका लागि बजेट छुट्याउनुपर्छ। तेस्रो कुरा साइबर सेक्युरिटीका लागि आवश्यक उपकरण केही महँगा हुन्छन्, त्यसका लागि लगानी गर्न डराउनु हुँदैन। चौथो कुरा दक्ष जनशक्ति। दक्ष जनशक्ति पनि प्राक्टिकल्ली प्रुभ्ड हुनुपर्छ। थ्योरिटिकल मात्रै भएका जनशक्तिले हुँदैन। समस्यासँग जुधेका नै चाहिन्छ। अनुभवी चाहिन्छ। नेपालमा यसका लागि दक्ष जनशक्ति एकदमै थोरै मात्र हुनुहुन्छ। 
तपाईं अमेजनको ब्रान्ड एम्बेसडर कसरी बन्नुभयो ?
सन् २०११ मा म अमेजनमा जोडिन पुगेँ। त्यस समयमा अमेजन टेक्नोलोजीको सुरु चरण थियो। २०१५ मा अमेजन सर्टिफाइड भएँ। सन् २०१९ मा मलाई अमेजनले क्लाउड एम्बेसडर पनि बनाएको छ। जुन संसारभर २१९ जना मात्रै छन्। अहिलेसम्म नेपालबाट अमेजन एम्बेसडर बन्ने म मात्रै हुँ। पल्छिल्लो पाली मलाई यूके र आयरल्यान्ड क्षेत्रका लागि टप एम्बेसडर भनेर पुरस्कृत गरेको छ।
यसलाई नेपालको हितमा कसरी प्रयोग गर्नुहुन्छ ?
मैले यसरी प्राप्त गरेको ज्ञान र उपब्धिलाई देशमा कसरी प्रयोग गर्न सकिन्छ भनेर केही काम थालेको छु। काम गरेर देखाउँछु पनि। आफ्नो जन्मभूमिको गाथा संसारभर पुर्याउने कोसिसमा छु। सन् २०११ मा अमेजनमा खाता खोल्दा मेनुमा नेपाल भन्ने देश नै थिएन। मैले कुरा गरेर त्यो अमेजनमा राख्न लगाएँ। अहिले नेपालबाटै अमेजनमा खाता खोलेर केही एक्सपेरिमेन्टहरू निःशुल्क गर्न पाइन्छ। त्यहाँका सेवा सुविधा प्रयोग गर्न पाइन्छ।
नेपालमा सूचना प्रविधिको ज्ञानको विस्तारको अवस्था कस्तो छ ?
हामीले अमेजन र माइक्रोसफ्ट एकेडेमीसँग सहकार्य गरेर नेपालमा क्लाउडको पाठ्यक्रम नै लागू गरायौं। सन् २०१८ मा नेपालमा झन्डै
१० देखि १२ जना क्लाउड एक्सपर्ट थिए भने अहिले हजारौं छन्।
प्रतिक्रिया दिनुहोस !