अमरेशले नेपाललाई लिजमा दिउँ भनेपछि संसदमा लफडा
काठमाडौं : स्वतन्त्र सांसद अमेरश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिउँ भनेपछि संसदमा लफडा भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकको छलफलमा बोल्ने क्रममा सांसद सिंहले बजेट नपरेका जिल्लाहरूलाई लिजमा दिउँ भनेपछि नेकपा एमाले सांसदहरूले आपत्ती जनाए ।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले सचेतक महेश बर्तौलाले कारवाही गर्न माग गरे। देशलाई अर्को देशमा गाभिदिऔं भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए। ' यस्ता राष्ट्रघाति अभिव्यक्तिलाई हामी सुनेर बस्न सक्दैनौ। कारवाही होस्। रुलिङबाट हटाइयोस्,'उनले भने।
सांसद सिंहको उक्त अभिव्यक्तिप्रति नेकपा एमालेका सांसदहरूले आपत्ति जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले संसद्मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए ।
सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिका प्रति प्रश्न उठाए। सभामुखले दलीय हिसावले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए। सांसद सिंहले बजेट पनि नजाने बोल्न पनि नपाउने भन्दै आक्रोश व्यक्त गरे।
सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिए । त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाए। सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उनी रोष्टमबाट फर्किए।
प्रतिक्रिया दिनुहोस !