सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २ को विजेतालाई ईभी कार पुरस्कार
काठमाडौं : ‘सारेगमप लिटिल च्याम्प्स नेपाल सिजन २’ को विजेताले एउटा नयाँ विद्युतीय कार (बीएडब्लु ब्रम्बी) प्राप्त गर्ने भएका छन्। एलआरआर मोटर्स प्रा. लि. र फर्मुला प्लस बीचको ऐतिहासिक सहकार्यअन्तर्गत प्रदान गरिने यो उपहार नेपाली रियालिटी कार्यक्रमको इतिहासमै पहिलोपटक बाल प्रतिभाले कार जित्ने अवसर हो।
यो पुरस्कारले बाल प्रतिभाको संगीत यात्रा र मेहनतलाई सम्मान गर्ने र उनले आफ्ना आमा बुवालाई उपहारस्वरूप कार दिने सपना पनि पूरा गर्नेछ। एउटा बालक वा बालिकाको स्वरले परिवारलाई सवारीसाधनको रूपमा खुशी दिन सक्नु आफैंमा एक प्रेरणादायक क्षण भएको आयोजकले जनाएको छ।
एलआरआर मोटर्स प्रा. लि. का निर्देशक जीवन कुमार शाहीले भने, “हामी केवल व्यापारमा सीमित छैनौं, सामाजिक उत्तरदायित्वमा पनि विश्वास गर्छौं। नेपाली संगीत क्षेत्रको भविष्य र बाल प्रतिभामा लगानी गर्नु हाम्रो लक्ष्य हो।”
कार्यक्रमकी संयोजक सुरक्षा अधिकारी को भनाइमा, “१५ वर्षमुनिका कुनै बालबालिकाले आफ्नो स्वरको माध्यमबाट आमा बुवालाई कार उपहार दिनु अत्यन्तै भावनात्मक र सुन्दर कुरा हो। एलआरआर मोटर्ससँगको सहकार्यले यो यात्रालाई अझ महत्वपूर्ण बनाएको छ।”
दोस्रो सिजनले पहिलो सिजनको सफलतालाई मात्र पछ्याउने होइन, ‘गुणस्तरमा प्राथमिकता’ भन्ने मर्मलाई निरन्तरता दिने लक्ष्य राखेको छ। निर्णायक मण्डलमा दिप श्रेष्ठ, सुवानी मोक्तान र स्वप्न सुमन रहेका छन् भने, सुमन कार्की कार्यक्रमको सञ्चालकका रूपमा प्रस्तुत भइरहेका छन्। कार्यक्रमको निर्देशन एलिन श्रेष्ठ ले गरिरहेका छन्।
नोबडी प्रोडक्सनद्वारा निर्माण गरिएको यो कार्यक्रममा वर्ल्डलिंकले शीर्ष प्रायोजन गरेको छ।
प्रतिक्रिया दिनुहोस !