‘पारिवारिक विद्रोह गरेर श्रेष्ठ टेलरिङ स्थापना गरेको हुँ’
सटिङ एन्ड सुटिङ भन्नेबित्तिकै जोसुकैले झट्ट सम्झन्छन्, श्रेष्ठ टेलरिङ । विगत ५० वर्षदेखि यो नाम नेपाली उपभोक्ताबीच चिरपरिचित छ । हरेक आवश्यकता र चाहनाअनुसार लुगा सिलाउने मात्र नभई टेलरिङ व्यवसायलाई प्रतिष्ठित बनाउने काम पनि श्रेष्ठ टेलरिङले गरिरहेको छ ।
किसान परिवारका छोराले ‘विद्रोह’ नै गरेर सुरु गरेको यो व्यवसाय आज साम्राज्यको रूपमा फैलिएको छ । ७२ वर्षका श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठसँग अन्नपूर्णकर्मी सुनीता कार्कीले गरेको कुराकानीको सम्पादित अंश :
श्रेष्ठ टेलरिङले ५० वर्षको यात्रा पार गरिरहँदा कसरी मूल्यांकन गर्नुहुन्छ बितेका दिनलाई ? सुरुवातका दिन कस्ता थिए ?
सुरुका दिनमा खान नपाउने अवस्था थियो । दमाईं जातिले गर्ने काम भन्थे । हामीकहाँ खेतीकिसानीबाट खान पुग्ने अवस्था थिएन । त्यति बेला रेडिमेड कपडा त्यति हुँदैनथे । सबै थानका कपडा सिलाएर नै लगाउनुपथ्र्यो । तर, तिनीहरू मिहिनेत गर्दैनथे । यस्तो देखेर म काम गर्छु र पैसा कमाउँछु भन्ने लाग्यो । त्यहीअनुसार मैले यो कामलाई सिक्ने कोसिस गरँे । यसका लागि मैले खिचापोखरीमा रहेको सुनीता सिलाइ प्रशिक्षण केन्द्रमा गएर करिब ६ महिनाको कोर्स गरँे । त्यहाँ महिला तथा पुरुषहरूलाई सिकाउने गरिन्थ्यो ।
२०३१ सालतिरको कुरा थियो । करिब ६ रुपैयाँमा सिलाइ सिकेको हो । त्यहाँ प्रशिक्षण लिएपछि सानो टेलरमा गएर अभ्यास गरेँ । राति अबेरसम्म त्यही टेलरमा काम गर्थें किनभने मलाई जसरी पनि सिक्नु थियो । अलिक समय अर्काकोमा अभ्यास गरेपछि आफ्नै कोठामा लुगा सिलाउन थालेँ । एउटा मिसिन किनेर ल्याएर पुराना लुगा सिलाउन थालेँ । चावहिल भगवान् थानमा पुख्र्यौली घर थियो । त्यहाँ नै लुगा सिलाउन थालेँ । सिक्दै काम गर्दै गर्दा राम्रै भएको थियो ।
पछि सिलाउन आइसकेपछि च्यातिएका, फाटेका लुगा सिलाउन थालेपछि, त्यहाँ सबै मान्छे आउन थाले । मै सुत्ने कोठामा नै पसल खोलेको थिएँ । कोठामा सारासंसारका मान्छे पस्न थालेपछि मेरा बुबा–आमालाई मन परेन । त्यस बेला म सरकारी जागिर खान्थेँ, सुन्धारामा । रक्षा नियन्त्रण कार्यालयमा टाइपिस्ट मुखिया थिएँ । तलबले खानै पुग्दैनथ्यो । २ सय २५ रुपैयाँ तलबले मेरो परिवार पाल्न गाह्रो थियो । चावहिलबाट आउन/जान बस भाडा र खाजामै पैसा सकिन्थ्यो । त्यति बेला मेरी ठूली छोरी जन्मिसकेकी थिई । श्रीमती, बच्चा, बाबुआमा सबैको हेरविचार गर्नुपर्ने जिम्मा मेरो थियो, त्यतिबेला । तालिम लिएर सिलाइ सुरु गरेपछि बाबुआमालाई मन परेन ।
अनि, विद्रोह गरेर बागबजार सरेँ । यहाँ एउटा कोठा लिएँ, मेरो परिवार ल्याएर राखेँ । एउटा सानो मिसिन हातेकल किनेर ल्याएँ । श्रीमतीको सुन नेपाल बैंकमा धितो राखेर ऋण लिएँ, करिब ५ सय रुपैयाँमा त्यो मिसिन किनेँ । दिउँसो सरकारी जागिर खाएँ, बिहान र साँझ सिलाउने काम गर्थें । सुरुमा बूढाबूढीले मात्र काम ग¥यौं । मैले सिलाएँ अनि मेरी बुढीले हातको काम सिकिन् । सिक्दै गएपछि आइरन लगाउन पनि जानिन् । त्यसले मलाई निकै सहायता मिल्यो । २०३६ सालमा जनमत संग्रहको बेलामा मैले सरकारी जागिर छाडेँ ।
पुरानो लुगा सिलाउँदै गरेपछि स्कुल ड्रेस सिलाउन थालँे । बागबजारको अहिलेको श्रेष्ठ टेलरिङको मुख्य कार्यालय भएको स्थानभन्दा रत्नपार्कतिर अलिक माथि गल्लीमा सुरु गरेँ । त्यसपछि बाहिर बागबजारको मुख्य रोडमा पसल निकालँे । अहिले भएको स्थानमा पसल भएको पनि ४० वर्ष कटिसक्यो ।
अहिलेको प्रविधियुक्त तथा फेसनमैत्री समयमा टेलरिङ व्यवसायमा आएका प्रमुख परिवर्तन के–के हुन् ?
पहिला हातले चलाउने मिसिन आयो, त्यसपछि खुट्टाले चलाउने मिसिन आयो । पछि विद्युतीय मिसिन आयो । अहिले थप एड्भान्स मिसिन आइसकेका छन् । समयअनुसार परिवर्तन हुँदै गयो । मैले त्यहीअनुसार किन्दै गएँ । कामको माग पनि त्यहीअनुसार बढ्दै गयो । सिलाउने कपडा मात्र नभई पछि रेडिमेड पनि चल्यो, हामीले पनि राख्यौं ।
समयले प्रविधिमा, डिजाइनमा, टे«न्डिङमा जे माग्यो त्यहीअनुसार श्रेष्ठ टेलरिङ अघि बढ्दै गयो । समस्या आउँदै गर्छ अनि जाँदै पनि गर्छ । प्रविधिसँगै फेसनमा पनि धेरै परिवर्तन हुँदै गयो । त्यो फेसनलाई हामीले अँगाल्दै गयौं । त्यसो नगरेको भए ५० वर्षसम्मको यात्रा तय गर्न गाह्रो हुन्थ्यो । टेलरिङ क्षेत्रमा व्यक्तिगत लगानीबाट सुरु भई यत्रो यात्रा तयार गर्ने हामी मात्रै होऔँला ।
५० वर्षसम्म टेलरिङ व्यवसायलाई निरन्तरता दिन कुनै सजिलो काम होइन, तपाईंले भोग्नुपरेका चुनौती के थिए ?
धेरै किसिमका चुनौती भोगेँ । कहिले मजदुरको समस्या, कहिले कालिगडको समस्या, कहिले आन्दोलन, कहिले राजनीतिक परिवर्तन, फेरि कहिले लगानीको नै समस्या, यावत् समस्या झेल्दै आयौं । आर्थिक समस्या त झन् सुरुबाट नै थियो । बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरियो । विस्तारका क्रममा पनि लगानीको नै कुरा आउँछ । यहाँबाट कमाएको अन्त कतै लगानी नगरी यसमा नै लगानी गर्दै आइरहेको छु । समय परिवर्तसँगै हामीले पनि धेरै परिवर्तन भोगेका छौं । २०६५/०६६ सालतिर ३ जनासम्म कालिगड थिए तर अहिले ४० कालिगड छन् । एकदम नै प्रतिस्पर्धा बढेको छ । टेलरिङ व्यवसायको प्रतिस्पर्धा रेडिमेडसँग भइरहेको छ ।
उद्योगमा टिकिरहँदा ग्राहकको विश्वास कसरी कायम गर्नुभयो ? ग्राहक सन्तुष्टिका लागि तपाईंको प्रमुख उपाय के हो ?
हरेक दिन उहाँहरूको सेवामा काम गर्दै गयौं । कमीकमजोरी केही गरेको छैन । राम्रो नै गर्दै आइरहेको छु । केही कमीकमजोरी भएको भए माफी पनि माग्छु । अर्को कुरा हामीले ग्राहकको सेवाका लागि समयमा नै डेलिभरी गर्ने र महत्वपूर्ण भनेको गुणस्तरमा सम्झौता गरेका छैनौं । मुख्य यसको मूल्य हामीले रिजनएबल नै राखेका छौं । यसले पनि ग्राहकलाई आकर्षित गरेको छ जस्तो लाग्छ ।
यो व्यवसाय पारिवारिक रूपमा सञ्चालन हुँदै आएको छ ? यसमा नयाँ पुस्ताको सहभागिता कस्तो छ ?
हामी बूढाबूढीले ऋणबाट सुरु गरेको यो व्यवसाय अहिले मेरै छोराछोरीको हातमा छ । यही व्यवसायले जोडेका २ वटा घर छन् । बागबजारको मुख्य सडकमा सानो खालको छ । अलि पर अलि ठूलो घर छ । यसले नै मेरा छोराछोरीको शिक्षादीक्षा गरायो । अहिले उनीहरूले नै यो पेसा सम्हालेका छन् । मेरा २ छोरा र २ छोरी छन् । सबैले यही नै काम गरिरहेका छन् । उपत्यकामा अहिले हाम्रा ६ वटा आउटलेट छन् । ठूलो छोराले मैतिदेवी, ठूली छोरीले चावहिल, नातिनीले धुम्बाराही, भदाले चुच्चेपाटी, पुरानो घरबेटीले त्रिपुरेश्वरमा चलाउँछन् । बागबजारमा कान्छो छोरोले हेर्छ ।
नेपालमा रेडिमेड कपडाको बढ्दो प्रभावले टेलरिङ व्यसायमा कस्तो असर गरेको छ ? प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
रेडिमेड छ्यापछ्याप्ती छन् । तर, रेडिमेड लुगा लगाउनेले रेडिमेड नै लगाउँछन् । सिलाएर लगाउनेले सिलाएर नै लगाउँछन् । त्यसो भएको भएर हाम्रो काम त्यस्तो प्रभावित भएको छैन । तर, साना टेलरहरू प्रभावित भइरहेका छन् । हामी स्थिर भइसकेकाले कमीकमजोरीलाई सुधार्दै अघि बढिरहेका छौं । अर्को भनेको श्रेष्ठ टेलरिङ ब्रान्ड भइसकेको छ । हाम्रो नामले नै ग्राहकहरू हामीप्रति आकर्षित हुनुुहुन्छ । प्रतिस्पर्धा छ तर हामी ग्राहकप्रति विश्वस्त छौं ।
श्रेष्ठ टेलरिङको भविष्यको योजना के छ ?
मेरा लागि त पुगिहाल्यो । म रिटायर्ड भइसकेँ । अब गर्ने र यसलाई अघि बढाउने भनेको मेरा छोराछोरीले हो । उनीहरूलाई जिम्मा दिइसकेँ । आगामी दिनमा कसरी अघि लैजाने उनीहरूलाई नै थाहा छ । मैले यहाँसम्म ल्याएँ । रूख मैले रोपिसकँे । फल फलिसक्यो, टिपेर खाने, मल हाल्ने, जल हाल्ने यसलाई हुर्काउने र फुर्काउने काम अब छोराछारीको हो । अहिलेसम्म उनीहरूले गरेको काममा सन्तुष्ट छु । अब मैले निर्देशन/सल्लाह/सुझाव मात्र दिने काम गरेको छु ।
तपाईंजस्ता दीर्घकालीन उद्यमीहरूबाट नयाँ पुस्ताले के सिक्नुपर्छ ? सफल व्यवसायी बन्नका लागि तपाईंको सन्देश के हो ?
पहिलाको जस्तो सानो पुँजीलाई अहिले व्यवसाय सुरु गर्न सकिँदैन । लगानीका लागि बैंकको लोन चाहिन्छ, त्यसका लागि धितो चाहिन्छ । यससँगै महत्वपूर्ण भनेको सीप चाहिन्छ, लगन चाहिन्छ । पैसा नभएर पनि हुँदैन पैसा भएर पनि हुँदैन । सीप, लगन, मिहिनेत, धैर्य र इमानदार
पनि हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस !