election background

प्रतिनिधि सभा निर्वाचन २०८२

‘पारिवारिक विद्रोह गरेर श्रेष्ठ टेलरिङ स्थापना गरेको हुँ’

‘पारिवारिक विद्रोह गरेर श्रेष्ठ टेलरिङ स्थापना गरेको हुँ’

सटिङ एन्ड सुटिङ भन्नेबित्तिकै जोसुकैले झट्ट सम्झन्छन्, श्रेष्ठ टेलरिङ । विगत ५० वर्षदेखि यो नाम नेपाली उपभोक्ताबीच चिरपरिचित छ । हरेक आवश्यकता र चाहनाअनुसार लुगा सिलाउने मात्र नभई टेलरिङ व्यवसायलाई प्रतिष्ठित बनाउने काम पनि श्रेष्ठ टेलरिङले गरिरहेको छ ।

किसान परिवारका छोराले ‘विद्रोह’ नै गरेर सुरु गरेको यो व्यवसाय आज साम्राज्यको रूपमा फैलिएको छ । ७२ वर्षका श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठसँग अन्नपूर्णकर्मी सुनीता कार्कीले गरेको कुराकानीको सम्पादित अंश  : 

श्रेष्ठ टेलरिङले ५० वर्षको यात्रा पार गरिरहँदा कसरी मूल्यांकन गर्नुहुन्छ बितेका दिनलाई ? सुरुवातका दिन कस्ता थिए ?

सुरुका दिनमा खान नपाउने अवस्था थियो । दमाईं जातिले गर्ने काम भन्थे । हामीकहाँ खेतीकिसानीबाट खान पुग्ने अवस्था थिएन । त्यति बेला रेडिमेड कपडा त्यति हुँदैनथे । सबै थानका कपडा सिलाएर नै लगाउनुपथ्र्यो । तर, तिनीहरू मिहिनेत गर्दैनथे । यस्तो देखेर म काम गर्छु र पैसा कमाउँछु भन्ने लाग्यो । त्यहीअनुसार मैले यो कामलाई सिक्ने कोसिस गरँे । यसका लागि मैले खिचापोखरीमा रहेको सुनीता सिलाइ प्रशिक्षण केन्द्रमा गएर करिब ६ महिनाको कोर्स गरँे । त्यहाँ महिला तथा पुरुषहरूलाई सिकाउने गरिन्थ्यो । 

२०३१ सालतिरको कुरा थियो । करिब ६ रुपैयाँमा सिलाइ सिकेको हो । त्यहाँ प्रशिक्षण लिएपछि सानो टेलरमा गएर अभ्यास गरेँ । राति अबेरसम्म त्यही टेलरमा काम गर्थें किनभने मलाई जसरी पनि सिक्नु थियो । अलिक समय अर्काकोमा अभ्यास गरेपछि आफ्नै कोठामा लुगा सिलाउन थालेँ । एउटा मिसिन किनेर ल्याएर पुराना लुगा सिलाउन थालेँ । चावहिल भगवान् थानमा पुख्र्यौली घर थियो । त्यहाँ नै लुगा सिलाउन थालेँ । सिक्दै काम गर्दै गर्दा राम्रै भएको थियो । 

पछि सिलाउन आइसकेपछि च्यातिएका, फाटेका लुगा सिलाउन थालेपछि, त्यहाँ सबै मान्छे आउन थाले । मै सुत्ने कोठामा नै पसल खोलेको थिएँ । कोठामा सारासंसारका मान्छे पस्न थालेपछि मेरा बुबा–आमालाई मन परेन । त्यस बेला म सरकारी जागिर खान्थेँ, सुन्धारामा । रक्षा नियन्त्रण कार्यालयमा टाइपिस्ट मुखिया थिएँ । तलबले खानै पुग्दैनथ्यो । २ सय २५ रुपैयाँ तलबले मेरो परिवार पाल्न गाह्रो थियो । चावहिलबाट आउन/जान बस भाडा र खाजामै पैसा सकिन्थ्यो । त्यति बेला मेरी ठूली छोरी जन्मिसकेकी थिई । श्रीमती, बच्चा, बाबुआमा सबैको हेरविचार गर्नुपर्ने जिम्मा मेरो थियो, त्यतिबेला । तालिम लिएर सिलाइ सुरु गरेपछि बाबुआमालाई मन परेन । 

अनि, विद्रोह गरेर बागबजार सरेँ । यहाँ एउटा कोठा लिएँ, मेरो परिवार ल्याएर राखेँ । एउटा सानो मिसिन हातेकल किनेर ल्याएँ । श्रीमतीको सुन नेपाल बैंकमा धितो राखेर ऋण लिएँ, करिब ५ सय रुपैयाँमा त्यो मिसिन किनेँ । दिउँसो सरकारी जागिर खाएँ, बिहान र साँझ सिलाउने काम गर्थें । सुरुमा बूढाबूढीले मात्र काम ग¥यौं । मैले सिलाएँ अनि मेरी बुढीले हातको काम सिकिन् । सिक्दै गएपछि आइरन लगाउन पनि जानिन् । त्यसले मलाई निकै सहायता मिल्यो । २०३६ सालमा जनमत संग्रहको बेलामा मैले सरकारी जागिर छाडेँ ।

पुरानो लुगा सिलाउँदै गरेपछि स्कुल ड्रेस सिलाउन थालँे । बागबजारको अहिलेको श्रेष्ठ टेलरिङको मुख्य कार्यालय भएको स्थानभन्दा रत्नपार्कतिर अलिक माथि गल्लीमा सुरु गरेँ । त्यसपछि बाहिर बागबजारको मुख्य रोडमा पसल निकालँे । अहिले भएको स्थानमा पसल भएको पनि ४० वर्ष कटिसक्यो ।

अहिलेको प्रविधियुक्त तथा फेसनमैत्री समयमा टेलरिङ व्यवसायमा आएका प्रमुख परिवर्तन के–के हुन् ?
पहिला हातले चलाउने मिसिन आयो, त्यसपछि खुट्टाले चलाउने मिसिन आयो । पछि विद्युतीय मिसिन आयो । अहिले थप एड्भान्स मिसिन आइसकेका छन् । समयअनुसार परिवर्तन हुँदै गयो । मैले त्यहीअनुसार किन्दै गएँ । कामको माग पनि त्यहीअनुसार बढ्दै गयो । सिलाउने कपडा मात्र नभई पछि रेडिमेड पनि चल्यो, हामीले पनि राख्यौं ।

समयले प्रविधिमा, डिजाइनमा, टे«न्डिङमा जे माग्यो त्यहीअनुसार श्रेष्ठ टेलरिङ अघि बढ्दै गयो । समस्या आउँदै गर्छ अनि जाँदै पनि गर्छ । प्रविधिसँगै फेसनमा पनि धेरै परिवर्तन हुँदै गयो । त्यो फेसनलाई हामीले अँगाल्दै गयौं । त्यसो नगरेको भए ५० वर्षसम्मको यात्रा तय गर्न गाह्रो हुन्थ्यो । टेलरिङ क्षेत्रमा व्यक्तिगत लगानीबाट सुरु भई यत्रो यात्रा तयार गर्ने हामी मात्रै होऔँला ।

५० वर्षसम्म टेलरिङ व्यवसायलाई निरन्तरता दिन कुनै सजिलो काम होइन, तपाईंले भोग्नुपरेका चुनौती के थिए ?
धेरै किसिमका चुनौती भोगेँ । कहिले मजदुरको समस्या, कहिले कालिगडको समस्या, कहिले आन्दोलन, कहिले राजनीतिक परिवर्तन, फेरि कहिले लगानीको नै समस्या, यावत् समस्या झेल्दै आयौं । आर्थिक समस्या त झन् सुरुबाट नै थियो । बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरियो । विस्तारका क्रममा पनि लगानीको नै कुरा आउँछ । यहाँबाट कमाएको अन्त कतै लगानी नगरी यसमा नै लगानी गर्दै आइरहेको छु । समय परिवर्तसँगै हामीले पनि धेरै परिवर्तन भोगेका छौं । २०६५/०६६ सालतिर ३ जनासम्म कालिगड थिए तर अहिले ४० कालिगड छन् । एकदम नै प्रतिस्पर्धा बढेको छ । टेलरिङ व्यवसायको प्रतिस्पर्धा रेडिमेडसँग भइरहेको छ ।

उद्योगमा टिकिरहँदा ग्राहकको विश्वास कसरी कायम गर्नुभयो ? ग्राहक सन्तुष्टिका लागि तपाईंको प्रमुख उपाय के हो ?
हरेक दिन उहाँहरूको सेवामा काम गर्दै गयौं । कमीकमजोरी केही गरेको छैन । राम्रो नै गर्दै आइरहेको छु । केही कमीकमजोरी भएको भए माफी पनि माग्छु । अर्को कुरा हामीले ग्राहकको सेवाका लागि समयमा नै डेलिभरी गर्ने र महत्वपूर्ण भनेको गुणस्तरमा सम्झौता गरेका छैनौं । मुख्य यसको मूल्य हामीले रिजनएबल नै राखेका छौं । यसले पनि ग्राहकलाई आकर्षित गरेको छ जस्तो लाग्छ ।

यो व्यवसाय पारिवारिक रूपमा सञ्चालन हुँदै आएको छ ? यसमा नयाँ पुस्ताको सहभागिता कस्तो छ ?
हामी बूढाबूढीले ऋणबाट सुरु गरेको यो व्यवसाय अहिले मेरै छोराछोरीको हातमा छ । यही व्यवसायले जोडेका २ वटा घर छन् । बागबजारको मुख्य सडकमा सानो खालको छ । अलि पर अलि ठूलो घर छ । यसले नै मेरा छोराछोरीको शिक्षादीक्षा गरायो । अहिले उनीहरूले नै यो पेसा सम्हालेका छन् । मेरा २ छोरा र २ छोरी छन् । सबैले यही नै काम गरिरहेका छन् । उपत्यकामा अहिले हाम्रा ६ वटा आउटलेट छन् । ठूलो छोराले मैतिदेवी, ठूली छोरीले चावहिल, नातिनीले धुम्बाराही, भदाले चुच्चेपाटी, पुरानो घरबेटीले त्रिपुरेश्वरमा चलाउँछन् । बागबजारमा कान्छो छोरोले हेर्छ ।

नेपालमा रेडिमेड कपडाको बढ्दो प्रभावले टेलरिङ व्यसायमा कस्तो असर गरेको छ ? प्रतिस्पर्धालाई कसरी हेर्नुभएको छ ?
रेडिमेड छ्यापछ्याप्ती छन् । तर, रेडिमेड लुगा लगाउनेले रेडिमेड नै लगाउँछन् । सिलाएर लगाउनेले सिलाएर नै लगाउँछन् । त्यसो भएको भएर हाम्रो काम त्यस्तो प्रभावित भएको छैन । तर, साना टेलरहरू प्रभावित भइरहेका छन् । हामी स्थिर भइसकेकाले कमीकमजोरीलाई सुधार्दै अघि बढिरहेका छौं । अर्को भनेको श्रेष्ठ टेलरिङ ब्रान्ड भइसकेको छ । हाम्रो नामले नै ग्राहकहरू हामीप्रति आकर्षित हुनुुहुन्छ । प्रतिस्पर्धा छ तर हामी ग्राहकप्रति विश्वस्त छौं ।

श्रेष्ठ टेलरिङको भविष्यको योजना के छ ?
मेरा लागि त पुगिहाल्यो । म रिटायर्ड भइसकेँ । अब गर्ने र यसलाई अघि बढाउने भनेको मेरा छोराछोरीले हो । उनीहरूलाई जिम्मा दिइसकेँ । आगामी दिनमा कसरी अघि लैजाने उनीहरूलाई नै थाहा छ । मैले यहाँसम्म ल्याएँ । रूख मैले रोपिसकँे । फल फलिसक्यो, टिपेर खाने, मल हाल्ने, जल हाल्ने यसलाई हुर्काउने र फुर्काउने काम अब छोराछारीको हो । अहिलेसम्म उनीहरूले गरेको काममा सन्तुष्ट छु । अब मैले निर्देशन/सल्लाह/सुझाव मात्र दिने काम गरेको छु ।

तपाईंजस्ता दीर्घकालीन उद्यमीहरूबाट नयाँ पुस्ताले के सिक्नुपर्छ ? सफल व्यवसायी बन्नका लागि तपाईंको सन्देश के हो ?
पहिलाको जस्तो सानो पुँजीलाई अहिले व्यवसाय सुरु गर्न सकिँदैन । लगानीका लागि बैंकको लोन चाहिन्छ, त्यसका लागि धितो चाहिन्छ । यससँगै महत्वपूर्ण भनेको सीप चाहिन्छ, लगन चाहिन्छ । पैसा नभएर पनि हुँदैन पैसा भएर पनि हुँदैन । सीप, लगन, मिहिनेत, धैर्य र इमानदार 
पनि हुनुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.