जोमसोम : उपल्लो मुस्ताङमा मंगलबार साँझको लेदोसहितको बाढी सामान्य अवस्थामा फर्किएको छ । चुम्जुङ खोला बाढीले त्यहाँका ६ वटा पुल ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण लेदोसहित अकल्पनीय बाढी आएको थियो ।
बाढीले त्यहाँस्थित लोमान्थाङ-४ को रिङरोड सडकको चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ को रिङरोड सडक साम्जुङमा निर्माणधिन अर्को एक गरी दुईवटा पक्की मोटरेबल पुलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
बाढीले त्यसक्षेत्रको फलामे पुल र अरु तीनवटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बिचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ—४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका २ वटा घरका नागरिकलाई राति सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका डीएसपी छिरिङ किप्पा लामाले जानकारी दिए।
डीएसपी लामाका अनुसार बाढीले त्यसक्षेत्रमा पुलहरूमा क्षति पुर्याए पनि मानवीय तथा पशुचौपाया क्षति नभएको बताए
बाढीको सतह अहिले सामान्य अवस्थामा फर्किएको भएपनि मनसुन कायम रहेकाले सुरक्षा सावधानीलाई निरन्तरता दिइएको छ । त्यहाँको इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली गएरातिदेखि परिचालित रहेको डीएसपी लामाले उल्लेख गरे।
त्यहा खटिएका सुरक्षाकर्मीहरूले राति स्थानीय बासिन्दाहरूलाई हुनसक्ने सम्भावित खतराको बारेमा सुचित गराएको थियो । अहिले त्यसक्षेत्रमा बाढी लयमा फकिएको भएपनि सम्भावित जोखिमको खतरा नटेरेकाले कुनै पनि बेला फेरि बाढी आउन सक्ने भन्दै त्यहाँका स्थानीयबासीलाई आवश्यक सर्तकता अपनाउन समेत जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !