मुस्ताङमा जलवायु संकट, हिमताल फुटेको आशंका

मुस्ताङमा जलवायु संकट, हिमताल फुटेको आशंका
सुन्नुहोस्

जोमसोम : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमन थालिएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, ५ वटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँँ पुर्‍याएको क्षति एकिन गर्न बुधबार अनुगमन गरेका हुन् ।

उपल्लो मुस्ताङमा आएको भीषण बाढीले तीनवटा पक्की पुलसहित ७ वटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिए । त्यहाँ ७ वटा पुल बाढीले क्षति पुर्‍याउँदै करिब डेढ करोडभन्दा बढी नोक्सान पुर्‍याएको उनले बताए । गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक टोली र सुरक्षा निकाय सम्मिलित संयुक्त बाढी अनुगमनमा गाउँपालिकाको शाखा सडकहरूमा कुल ७ वटा पुलमा क्षति भएको छ ।

गाउँपालिका कार्यालयका अनुसार मंगलबार साँझ लोमान्था–४ चुम्जुङ स्थित छुआमा खोलाको बाढीले आर्का–भार्षा जोड्ने पक्की पुलसहित तीन वटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुल पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ । बाढीले सडक पुलहरूमा क्षति पुगेपनि मानवीय तथा पशुचौपायाहरूमा कुनै क्षति नपुगेको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

हिमताल फुटेको आशंका 
उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी आउनुको कारण हिमताल फुटेको आशंका गरिएको छ । पानीनै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गरे । मंगलबार जनप्रतिनिधि, प्राविधिक र सुरक्षाकर्मीसहित ११ जनाको टोली छुआमा खोलाको मुहानसम्म पुग्ने योजना बनाएर त्यसतर्फ प्रस्थान गरेको थियो । तर, सुरक्षा तथा बन्दोबस्तीका सामान नहुँदा र भौगोलिक रूपमा विकट र टाढा भएका कारण उक्त टोली चुम्जुङ गाउँसम्म पुगेर फर्किएको अध्यक्ष गुरुङले बताए । ‘हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौं ।’ उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको बताए । 

अध्यक्ष गुरुङले भने, ‘यसरी एकाएक बाढी आउनुको एउटै कारण हुन सक्छ, त्यो हो हिमताल फुट्नु ।’ अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिका भित्रको रिङरोड सडक र अन्या शाखा सडकहरू जोड्ने पक्की पुल र अस्थायी पुलहरूमा क्षति पुगेको बताए । बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको जनाए ।

नेपाल–चीन उत्तरी सीमावर्ती क्षेत्रको नेपालतर्फको चुम्जुङस्थित छुआमा खोलाको मुहानसम्म पुग्ने करिव ५० किलोमिटर दूरी तय गर्नुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले उल्लेख गरे । अहिले तत्कालै त्यसक्षेत्रमा पुगेर बाढी आउनुको कारण पत्ता लगाउन नसके पनि अनुकूल समय मिलाएर गाउँपालिका र सुरक्षा निकायको टोलीले मुहानसम्म पुगेर सूक्ष्म अध्ययन गरिने बताए । यहाँ के कसरी बाढी आयो भन्ने विषय अनुसन्धानका लागि महत्वपूर्ण भएकाले अब चाँडै छुआमा खोलाको शिरमा पुग्ने निर्णय भएको बताए । मुहानसम्म पुग्न पैदल यात्रा गर्दा पुरै एकदिन लाग्ने उनले जानकारी दिए ।

यता लोमान्थाङ–२ छोसेर स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनुको कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा संकलन गर्नेहरूले बताएको उनको भनाइ छ । ‘यहाँ बाढी आउनुको मुख्य कारण हिमताल नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भन्ने कुरा आएन, यसको मतलव हिमताल नै फुटेर बाढी आएको हाम्रो ठम्याई छ,’ उनले भने ।

धमुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमतालहरू रहेको जानकारी दिए । उनले उपल्लो मुस्ताङमा बाढी आउनुको कारण हिउँको ढिस्को हिमतालमा खसेर ओभरफल भई अकस्मात बाढी आएको हुन सक्ने बताए । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालहरूमा हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्‍याउने सम्भावना रहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.