पर्यटक लोभ्याउँदै ढाक्मरका मानव निर्मित गुफा

पर्यटक लोभ्याउँदै ढाक्मरका मानव निर्मित गुफा
सुन्नुहोस्

जोमसोम : उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम—कोरला राजमार्ग सडकअन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको विशाल पहाड देख्न सकिन्छ। यो राताम्मे पहाड त्यहाँको लोघेकर दामोदरकुण्ड—२ ढाक्मर गाउँ नजिकै अवस्थित छ।

यहाँको पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि यहाँको ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग जोडिएको छ। यहाँका पालिका अध्यक्ष लोप्साङ छोम्फेलले बताएअनुसार यहाँको ढाक्मर पहाड राताम्मे हुनका पछाडि गुरु पद्यसम्भवको कथासँग जोडिएको बताए। आठौं शताब्दीताका मुस्ताङको घमी खोलानजिक उत्तरतर्फ गुरु पद्यसम्भवले धर्मविरोधी राक्षसको भुँडी चिरेर आन्द्राभुँडी त्यहाँ घमी खोलामा फ्याँकेको र त्यस क्रममा राक्षसको रगत निकालेर त्यहाँको ढाक्मर गाउँको विशाल पहाडमा मिल्काइएकाले त्यहाँको विशाल पहाड राताम्मे हुन पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ।

घमी खोलानजिक राक्षसको आन्द्रा भुँडी निकालेर फालेकाले त्यहाँ राक्षसको आन्द्राभुँडी आकृतिको करिब २ सय मिटर लामो पर्खाल निर्माण गरिएको छ। राक्षसको रगतले पोतिएकाले ढाक्मरको विशाल पहाड रातो हुन पुगेको धार्मिक जनविश्वास रहेको अध्यक्ष विष्टको भनाइ छ।

ढाक्मर गाउँ नजिकको विशाल पहाडको लम्बाइ पनि करिब २ किलोमिटरभन्द बेसी रहेको बताइन्छ। उत्तरी कोरला नाका र उपल्लो मुस्ताङको भ्रमण गर्ने जोकोही पर्यटकले मुस्ताङको घमी पुग्दा मुख्य राजमार्ग सडकबाटै सहजै त्यहाँ अवस्थित विशाल राताम्मे पहाड देख्न सक्छन्। तर, यहाँको पर्यटन प्रवर्धन तथा आवश्यक प्रचार/प्रसार नहुँदा त्यहाँको राताम्मे कलात्मक पहाड र त्यहाँको ऐतिहासिक बुफ्न पर्यटकहरू बेखबरजस्तै हुने गरेको पाइएको छ।

त्यहाँको ऐतिहासिक तथा धार्मिक मान्यता रहेको कलात्मक छिद्रछिद्रमा सयभन्दा बेसी गुफाहरू रहेको गाउँपालिका अध्यक्ष विष्टले बताए। यहाँ थुप्रै छिद्रछिद्र गुफा रहे पनि ढाक्मर गाउँ नजिकको जियो पार्क नजिकै रहेको पहाडमा अवस्थित केही गुफालाई पर्यटकीय हबको रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माणको काम भइरहेको अध्यक्ष विष्टले उल्लेख गरे।

ढाक्मर गाउँकै जियोपार्क सम्पदासँग जोडिने गरी त्यहाँ नजिकको अग्लो स्थानमा रहेको गुफासम्म पुग्न गाउँपालिकाले रेलिङसहितको सिँढी बाटो निर्माण गरेको अध्यक्ष विष्टको भनाइ छ। यहाँको जियो गुफासम्म पुग्न अहिले तत्काल केही कठिन छ, चालु वर्ष हामीले १५ लाख खर्च गरेर गुफासम्मको आधा बाटोमा रेलिङसहितको सिँढी बाटो निर्माण गरेका छौं,’ अध्यक्ष विष्टले भन्नुभयो, ‘आगामी आर्थिक वर्ष गुफासम्मै रेलिङसहितको सिँढी बाटो निर्माण गर्ने गरी २५ लाख बजेट विनियोजन गरेका छांै , अब त्यस क्षेत्रको पर्यटन विकासमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गर्ने सोचमा छौं।’

मुस्ताङको ढाक्मर गाउँ नजिकको विशाल पहाडमा करिब दुई हजार वर्ष पहिले मासिन खोपेर गुफैगुफा निर्माण गरिएको त्यहाँका वडाध्यक्ष थुक्तेन छिरिङ गुरुङले उल्लेख गरे। ‘हाम्रो यहाँ बस्ती निर्माण हुनअघि यहाँको पहाड मानिसले नै खोपेर गुफा बनाएर आ श्रय लिने गरेको वडाध्यक्ष गुरुङले बताए। यहाँ यस प्रकारका दर्जनौं छिद्रछिद्र गुफाहरू अवस्थित रहेको वडाध्यक्ष गुरुङको भनाइ छ।

यहाको गाउँ नजिकैको सहज गुफालाई स्थानीय र पालिका मिलेर जियो पार्कको रूपमा विकास गर्ने कार्य सुरु भएको वडाध्यक्ष गुरुङले जनाए। यहाँको जियोपार्क गुफामा विदेशी पर्यटकहरू ध्यान, साधना गर्न आउने गरेको वडाध्यक्ष गुरुङले सुनाए। ‘यहाँको राताम्मे जियोपार्क गुफाबाट निलगरी हिमाल र आसपासका हिमशृंखलाहरू निकै मनमोहक र सुन्दर देखिन्छन्, यहाँ ध्यान, साधना केन्द्र मात्रै होइन,यस स्थानलाई दृश्यावलोकन गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको छ।’

यहाँको जियोपार्क गुफा प्रवर्धन गर्नका लागि लोघेकर दामोदर कुण्डसँगै सामाजिक विकास कार्यालय मुस्ताङले पनि सहकार्य गरेको छ। सामाजिक विकास कार्यालय यहाँको मानव निर्मित जियोपार्क गुफामा रेलिङसहितको जियो प्रोटेक्सन वाल निर्माण गरेको सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए। उहाँले यहाँ गुफाबाट सजिलै बिनाजोखिम दृश्यावलोकन गर्न सकिने गरी चालु वर्ष १० लाख बजेट खर्चिएर प्रोटेक्सन वाल निर्माण गरेको बताए। यहाँ पर्यटकीय सम्भावनानै सम्भावना भएकाले जियो पार्क प्रवर्धन गर्न स्थानीयवासीसँग सहकार्य गरिएको बताए।

कृषि र पशुपालन व्यवसायमा आश्रित ढाक्मर गाउँका स्थानीय अब बिस्तारै पर्यटनसँग जोडिन चाहेको देखिन्छ। यसैका कारण उनीहरूले त्यहाँ निकै ठूलो क्षेत्रफलमा हरियाली जियो पार्क गार्डेन निर्माण गरिसकेका छन्। जियो पार्क वरिपरिको कमाण्डमा केही वर्षअघि प्रदेश सरकारको बजेट ३० लाखबाट कम्पाण्ड घेराबार गरिएको थियो। यसका अतिरिक्त जियोपार्कभित्र छप्पनी ढुंगा बिच्छ्याएर पेटी निर्माण भएको छ।

यहाँको जियो पार्कलाई पर्यटन हबको रूपमा विकास गर्ने लक्ष्यसहित त्यहाँका स्थानीयले ६५ लाख रुपैयाँ चन्दा संकलन गरी जियो पार्कभित्र विशाल बुद्धको मूर्ति स्थापना गरेको स्थानीय बताउँछन्। जोमसोम—कोरला सडकबाट पश्चिमतर्फको २ किलोमिटर दूरीमा ढाक्मर गाउँ पुग्न सकिन्छ। मुस्ताङको घमी हुँदै ढाक्मर गाउँ पुग्न सकिन्छ। यहाँको कच्चि सडक हुँदै विश्वकै पहिलो र पुरानो दाबी गरिएको मराङमा अवस्थित लोघेकर अर्थात घर गुम्बा पुग्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.