election background

प्रतिनिधि सभा निर्वाचन २०८२

चमेलीहरू

चमेलीहरू

मेरामध्ये गर्मीका हपहपी पोल्ने उराठ दिनहरूमा पनि हिउँदका दिनका चिसा सिरेटाहरूझैँ मेरा सर्वाङलाई थरथर कमाउन, ठिहिरो बनेर उजागार हुन्छन्, हृदयका कुनाभित्र बसेका चमेलीहरूका यादहरू।

दशकौंपछि पनि हजारौं रेक्टरको भुँइचालो दिइरहने सामर्थ्य राख्छन् तिनका यादहरू, मेरो आत्माको तलाउ, तरंगित पार्छन्, यादका पराकम्पहरूले, मेरा जीवनका अक्करहरूमा, बेग्लाबेग्लै कालखण्डहरूमा दुई चमेलीहरू ठोक्किन आइपुगेका थिए, थिए भनौं ती अझै मसँग छाया झैँ हिंडिरहेका छन्, छन् भनौं तीनका भौतिक शरीर वर्तमानमा यो जगतमा छैन। 

मेरा स्मृतिमा जिउँदा चमेलीहरू

मेरो जीवनका दुई भिन्दाभिन्दै समयका धमिला तर जोडदार छाँयाहरू, चित्रहरू, मौन तर क्वारक्वर्ती हेरिरहने, मुटुलाई चिसो पार्ने इतिहासका पात्रहरू।

चमेली-१ 
चमेली ओ चमेली, केटाकेटीहरू घरका झ्याल, कौसीबाट बोलाउँथे उसलाई। ऊ फर्केर हेर्थी। संसारको केही होस् नभएकी चमेलीलाई यो भने थाहा थियो सायद। ऊ नै हो त्यो केटाकेटीले बोलाएकी चमेली।

विसं २०४५/५० सालतिरको कुरो हो सायद (यकिन थाहा छैन)। ऊबेलाको काठ, पुरानो सिनामंगल, भक्तपुर र काठमाडौं सीमा क्षेत्रमा थिमी बोडे, सानोठिमीमा, एउटा आकृति, मैलो झुत्रो कपडामा सडकमा ओहोरदोहोर गरिरहन्थ्यो। मैलो शरीर तेलका टाटा लागेका झुत्रो कपडा, चिल्लो तेल हालेको टाउको, केही नबुझिने भाषामा बरबराउँदै पसल-पसल पसेर तेल माग्ने अनि टाउकोमा खनाउने, एकोहोरो हिँडिरहने, कुनै दन्त्य कथाको जीवित पात्र, सबैले चिन्ने एकपटक फर्केर हेर्ने, तर एक्ली चमेली।

ऊ हेर त चमेली आई। जसले देख्थ्यो बोलाई बोलाई देखाइदिन्थ्यो। नदेखेकालाई पनि देखाईदिनै पर्ने। गर्दागर्दैको काम छोडेर एकैछिन भए पनि हेर्नैपर्ने दृश्य थिई चमेली। खादाखादैको गास किलकिल बनाउने हलुवाको बालुवा थिई, गतिशील दिनको गति, केही क्षणलाई धिमा गराउने वा भन्नैपर्दा केवल छणभंगुर। 

तेल अनि चमेली यसको के अर्थ होला?
ऊ कहाँ कि हो? को हो? अरु मगज खल्बलिएका हरूझैँ पूर्ण बेहोसी पनि थिइन्। नामले बोलाउँदा टक्क एकैछिनलाई रोकिन्थी पनि। एकोहोरो कतै नहेरी नबुझिने भाषामा नानाभाती फलाक्दै हिंड्ने ऊ कहिले आकाशलाई धारे हात लगाउँदै हिंड्थी। कहिले धर्तीलाई थुक्थी। प्रचण्ड घाम, झम्के झरी केहिले उसको यात्रा रोकिन्थेन। ऊ हिंडिरहन्थी।

उसको शरीरको पछिल्लो भागमा कहिलेकाहीँ रगतका टाटा देखिन्थे। कहिले ऊ हिंडिरहेको बाटोमा रगतको घेरोले उसलाई पछ्याउँथ्यो। उसको दुर्गति देख्दा मेरो हृदय चिरिन्थ्यो। च्यात्तिएको झुत्रो कपडाले उसको अस्मिता छेकिन्थेन। न उसलाई आफ्नो अस्मिता जोगाउनुपर्छ भन्ने होस थियो। 

बाटो घाटो ढुक्ने सुकुलगुन्डाहरू उसको च्यात्तिएको कपडाको कुना कानी नियाल्थे। ठाउँ कुठाउ मुसार्थे। ऊ अबोध बालकझैँ थिई, प्रतिकार गर्न नसक्ने, मैले देखेका धेरै बहुलाहा मानिसहरू भन्दा ऊ भिन्न थिई। आकृति उस्तै भए पनि उसको एउटा आदत अरु मगज बिग्रेकाहरूको भन्दा फरक थियो। अरु बहुलाहा हरू पसल पसलमा पसेर खानेकुरा माग्दथे, चुरोट माग्थे। ऊ तेल माग्थी, तोरीको तेल।

कोही दिन्थे कोही हप्काउँथे। चिनेजानेकाहरू उसले तेल मागेको कारण बुझ्दथे। त्यसैले दिई हाल्थे, अनि ऊ भएभरको तेल टाउकोमा खन्याउँथी।
अनि भर्खरै सन्तान जन्माएको हाउभाउ लिएर ऊ पुनः सडकमा हिंडिरहन्थी। चिनेकाहरू लामो सुस्केरा हालेर भन्थे, च्व च्व बिचरी, सुत्केरी हुँदा कुनाभित्रै लोग्नेले सौता हुलेर पागल भएकी।

मेरो किशोर मन केहीबेर झिजोलिन्थ्यो। तर, म पनि आलोकाचो थिएँ, सहानुभूति र संवेदनाहीन, ती चमेली गिज्याउने भीडमा मिसिन्थे, अनि बोलाउन थाल्थे, चमेली ओ चमेली…

चमेली सँगसँगै उसका कथाहरू पनि उसैसँग हिँडिरहन्थे। उसङ जोडिएर आएका उसका कथा, हल्लाहरू झुटो हुन् वा साँचो हुन् यो तर्क गर्ने, सत्य असत्य के हो भनिदिएर छर्लङ्ग पार्ने सामर्थ्य चमेलीमा थिएन। त्यसैले उसका कथाहरू ऊजस्तै मैलो चपचिल्लो अनि अस्तव्यस्त थियो। ऊ जस्तै छेउ र टुप्पो नमिलेको एक सार नभएको, पृष्ठ नमिलेको पुस्तकझैँ थियो, शृंखला नमिलेको अध्याय।

चमेलीको कथा चमेलीको जीवन इतिहासको कुनै चाखलाग्दो कथाजस्तो थियो। श्रोताको कान अनुसारको श्रोताको चाख अनुसारको मसला थपी थपी बनाइएको स्वादिलो तरकारीजस्तो। उसका कथामा एक सम्भ्रान्त माइती थियो। उस्तै सम्भ्रान्त घर पनि थियो। अरुका जस्तै उसका पनि बाआमा थिए। एउटा लोग्ने थियो। विवाह थियो, परिवार थियो, प्रेम थियो, सम्बन्धहरू थिए।

चमेलीको कथामा चलचित्रका दृश्य एकाएक फेरिएझैँ प्रेमका दृश्यहरू एकाएक घृणा धोका र अपहेलनाको चरम उत्कर्ष पनि थियो। र, चमेलीको कथामा लोग्नेले सुत्केरी अवस्थामै सौता हुलेको कारुणिक अन्त्य। अनि चमेली सम्भ्रान्त महलबाट सडकमा आइपुगेको कारुणिक व्यथा, जसरी चमेलीको इतिहास दुःखद र असामान्य थियो। उसको वर्तमान झन् पीडादायी थियो। चमेली कहिले रगतको आहालमा डुबेकी हुन्थी, धेरै अन्तरालपछि देख्दा दुई जिउकी भएकी हुन्थी र कहिले केही नभएझैँ सामान्य हुन्थी, अनि फेरि दोहोरिन्थ्यो उसको दैनिकी तेल,सुत्केरी, अनि अनि अनि।
                         
चमेली-२ 
मेरो आफ्नै जीवन पनि प्रेम धोका र परिस्थितिजन्य अनेक घटनाक्रमहरूको भेलमा हेलिइरहेको बेलामा फेरि अर्की चमेली मेरो जीवनमा ठोक्किन आइपुगी। 'म्याडम तपाईँलाई एउटी बहिनीले टेलिफोन गर्छिन् है। मैले तपाईंको नम्बर दिएको छु। उनी समस्यामा रैछिन्।' मेरा एक मित्रले टेलिफोनबाटै भने। उनको स्वरबाटै मैले अनुमान लगाए उनी हडबडाएका आत्तिएका र डराएका पनि थिए।

चमेली  मेरो टेलिफोनको ट्रु कलरमा एउटा नम्बर पपअप भयो। त्यो नामले मलाई केहीबेर नोस्टल्जिक बनायो। मैले टेलिफोन रिसिभ गरे। 
'दिदी',चमेली रुँदै थिइन्। कथा चलचित्रझैँ थियो। व्यथा मेरो मुटु मथिङ्गल बिथोल्न सक्ने। चमेली, पहाडी बाला थिइन्, तर पहरा खोपेर फलेको सुन्दर फूल, शिक्षित महत्वाकांक्षी अनि लगनशील।

चमेली पूर्वी पहाड को एक सरकारी विद्यालयमा मावि शिक्षक पदमा भर्खरै नियुक्त भएकी थिइन्। उनको सपना पूरा भएको थियो। चमेली पढेलेखेकी सरकारी जागिरे एक मजबुत इक्षाशक्ति भएकी नवयुगिन प्रगतिशील नारी थिइन्। तर, साथसाथै जवानीको खुडकिलो चढ्दै गरेकी एक अवोध ग्रामीण बाला पनि, त्यही अबोधताको फाइदा उठाएर एउटा सातिर, विवादास्पद् विगत भएका र दोस्रो विहेपछि सन्तानसमेत भएका एक पुरुषले चमेलीलाई प्रेम जालमा फसाए।  आफूलाई प्रहरी निरीक्षक अनि अविवाहित भनेर परिचय दिएका सन्तोषको प्रेममा चमेली चुर्लुम्म डुबेकी थिइन्। 

चमेली र सन्तोष, प्रेमको पोखरीमा पौडिन थाले, मर्यादाहरू उलंघन भए। सन्तोषले चमेलीलाई मन्दिरमा गन्धर्व विवाहका लागि राजी गराए। चमेली प्रेम विवाहलाई परिवारको साथ अनि आशीर्वाद प्राप्त होस भन्ने चाहन्थिन्। तर, सन्तोषले अन्तरजातीय विवाह भएकाले पहिले विहे गरौं अनि पछि जानकारी दिउँला भनेर चमेलीलाई विश्वास दिलाउन सफल भए।   

उनीहरूको गन्धर्व विवाह भयो। बिस्तारै चमेलीको संसारमा धोकाले चियाउन थालेको थियो। सन्तोषको गतिविधि एकदमै शंकास्पद् थियो। उनी कहिले महिनौं हराउँथे। अनि एकाएक झुल्किन्थे। पछि सन्तोष प्रहरी निरीक्षक नभई हवल्दारमात्रै भएको कुरा पनि खुल्यो। त्यो घातलाई चमेलीले पचाइन। प्रेमलाई पद र हैसियतको दिवारले छेकेन।  
तर...
एकदिन चमेलीको जीवनमा अर्को धोकाको पदार्पण भयो। उनको विवाह भएको र छोराछोरीसमेत भएको थाहा पाइन्। उनको संसार भताभुङ्ग भयो।  चमेलीले सन्तोषकी पत्नीसँग सम्पर्क गरिन, माफी मागिन्, आफू सन्तोषको जिन्दगीबाट हटिदिने वाचा पनि गरिन्। 

विस्तारै सन्तोषको विगतका अनेक काला करतुतहरू चमेलीले थाहा पाउँदै गइन्। उनले अर्की एक युवतीलाई पनि प्रेम जालमा पारेर फसाएका रहेछन्।  ती युवती सन्तोषसँग बिहे गर्ने भनेर घरबाट निक्लिएकी तर कतै नभेटिएकी कुराले चमेलीलाई भित्रैबाट हल्लाएको रहेछ। त्यही डरले चमेली सुटुक्क डेरा छोडेर हिंडिन् र एकजना साथीको घरमा बस्न थालिन्। सन्तोषले चमेलीलाई धेरैपटक टेलिफोन गरिरहे, धमक्याए, बेइज्जत गर्दिन्छु भन्न थाले।  

चमेली र सन्तोषले प्रेमिल क्षणलाई भिडियोमा कैद गरेका थिए, गन्धर्व विवाहका फोटाहरू पनि प्रशस्त कैद गरेका थिए। तिनै फोटो भिडियो चमेलीको लागि गलाको पासो बन्ने संकेत उनले पाइन्। सन्तोषले चमेली आफ्नो जीवनमा फिर्ता न आए सबै फोटो भिडियो सामाजिक सञ्जालमा छरपस्ट पार्दिने धम्की दिए। चमेलीले सन्तोषलाई उसका स्वास्नी छोराछोरीको हवाला दिएर सम्झाउन खोजिन्, तर सन्तोष धम्कीमा ओर्लिए। 

त्यही धम्कीले आत्तिएर चमेलीले मसँग सम्पर्क गरेकी रहिछन्, मैले प्रहरीसँग सम्पर्क गर्न भने, चमेलीले प्रहरीको साथ लिन खोजिनन्। हुनतः म आफैं पनि यो संवेदनशील विषयमा प्रहरीले साथ दिनेमा सहयोग गर्नेमा विश्वस्त थिइन्। एकपटक एउटा पीडा लिएर चौकीमा जाँदा सम्ब न्धविच्छेदको विषयमा प्रहरीले गरेको अश्लिल ठट्टा मेरो कानमा अझै गुञ्जिरहन्छ। 

झन् चमेली त सन्तोष स्वयं प्रहरी भएकाले उनीहरूले सन्तोषकै पक्ष लिनेमा विश्वस्थ थिइन्। मैले उनलाई आफूले चिनेको एउटा महिला हकहितका लागि काम गर्ने संस्थामा सम्पर्क गर्न सल्लाह दिए। त्यो संस्थामा पनि चमेलीबारे जानकारी दिए। चमेली त्यही हप्ता काठमाडौं आउने पक्का भयो। 

दुई दिनपछि चमेली त्यो संस्थामा गएको जानकारी पाएँ मैले। चमेलीले संस्थाले मागेको पूर्ण जानकारी लिएर फेरि आउने वाचा गरेकी रहिछन्, त्यो थाहा पाएर मैले चमेलीलाई टेलिफोन गरे, आफूलाई भेट्न आउन भने, उसलेमा कल गरेर आउला भनिन्, चमेली आइनन्। म आफ्नै जिन्दगीको उधेडबुनमा थिएँ, चमेली विस्मृतिमा कतै बिलाइन्। 

एकदिन,   
उनै चमेलीसँग चिनाइदिने साथीले हार्दिक श्रदाञ्जली चमेली भनेर फेसबुकमा पोस्ट गरेको देखें। मेरो आकाश फनफनी घुम्न थाल्यो। ममुनिको जमिन भासियो, एकछिनलाई मैले होस गुमाएँ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.