election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मुटुलाई माया गरौं

मुटुलाई माया गरौं

पुस्तकमा समय सान्दर्भिक प्रसंग र जीवन उपयोगी संवादहरू प्रशस्त छन्। लेखकले अत्यन्त सरल भाषामा शारीरिक स्वास्थ्यलाई मानसिक, सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन्।

आधुनिक विश्व समाजमा मुटुसम्बन्धी समस्या मानवीय स्वास्थ्यमा गडबडी आउनुका प्रमुख कारणमध्ये एक हो । नेपाली परिवेशमा समेत बढ्दै गएका जीवनशैलीसम्बन्धी विमर्शहरूको बीचमा मुटु स्वास्थ्यलाई समावेश गर्न आवश्यक छ । यसै सन्दर्भमा डा. राजेन्द्र कोजूद्वारा लेखिएको ‘मुटुको कथा’ पुस्तकमार्फत प्रस्तुत गरिएका प्रत्येक क्षणलाई मननयोग्य छन् । स्वस्थ मुटु केवल एक चिकित्सकीय चिन्तामात्र 

नभई सार्वजनिक स्वास्थ्य चुनौती पनि हो ।

प्रसिद्ध कार्डियोलोजिस्टको रूपमा ३० वर्षभन्दा बढी अनुभव भएका कोजूले सेवाग्राहीको दैनिक आनीबानी यो किताबमा बटुलेका छन् । ती प्रभावशाली र व्यावहारिक प्रमाणका आधारमा प्रेरणादायी सुझाव पनि प्रस्तुत गरेका छन् । सन्तुलित आहार, नियमित शारीरिक गतिविधि तथा तनाव व्यवस्थापनमा विशेष जोड रहेको उहाँको यो पुस्तक दीर्घकालीन स्वास्थ्य र मुटुमैत्री जीवनशैलीमा प्रतिबद्ध जोकोहीका लागि व्यावहारिक, प्रेरणादायक तथा समय सान्दर्भिक छ । उनको स्पष्ट र समानुभूतिपूर्ण लेखनशैलीले प्रस्तुत पुस्तकसँगको एकै बसाइमा जटिल चिकित्सकीय अवधारणाहरूलाई समेत सजिलै बुझ्न सकिने बनाइदिन्छ ।

पुस्तकभित्रका हरेक अन्तर्दृष्टिपूर्ण परिघटनाहरूले लेखकको चिकित्सा विशेषज्ञतालाई सरल, जीवनशैली अनुरूपका सल्लाहसँग उत्कृष्ट रूपमा संयोजन गरेको छ । नेपाली समाजमा डा. कोजूजस्ता विज्ञहरूको उपस्थितिले चिकित्सकको विशिष्ट ज्ञान र जीवन्त अनुभवबीच एक रूपान्तरणकारी कडीको रूपमा काम गर्छ । पंक्तिकार विद्यार्थीमाझ अनुभवहरू बाँड्दै गर्दा हरेक समय आत्मसजगता, भावनात्मक बुद्धिमता, सहनशीलता, सहानुभूति र नैतिक निर्णयक्षमताजस्ता सीप विकास गरिरहेको हुन्छु । यस्ता रूपान्तरणमुखी चेतले नराम्रा व्यवहारहरू सुधार्न प्रोत्साहन गर्छ ।

कोजुले उपचारको क्रममा भेटेका सेवाग्राहीसँगको स्मरणीय क्षणहरूलाई समेट्दै उनीहरूकै जीवनलाई कथामा स्थापित गरेका छन् । यस प्रक्रियामा, साधारण कुराहरू असाधारण बनेका छन् । कतिले सुन्दरता प्राप्त गरेका छन् । साधारण देखिने मान्छेहरूले पनि जटिल भावनाहरू प्रकट गरेका छन् । त्यसैलाई लेखकले संरक्षण दिएर जीवन्त बनाएका हुन् पुस्तकमा । जसमा भेटघाट, व्यावसायिकता र मानवीय समवेदनाको संयोजन छ । धुलिखेल अस्पतालमा एकचोटी बिष सेवन गरेका अधबंैशे पुरुष भर्ना हुँदा उनकी जहानसँग डाक्टरले गरेका कुराकानीको क्रममा, उनीहरूसँग पैसा भएको भए विष किन खान्थे र ? भन्ने सार, कथामा उनका घरका लालाबाला अनि डाक्टरका आँसु र उनले ती महिलाको हातमा केही रुपैयाँ थमाउँदै, ‘जानू, पहिले खाना खाएर आउनू’ भन्ने सन्दर्भ जसरी ल्याइएको छ, त्यसले नेपाली गाउँठाउँको जीवन्त दृश्य डाक्टरहरूको मनमा स्वतस्फूर्त देखिने करुणा छर्लंग पारिदिन्छ ।

पुस्तकमा समय सान्दर्भिक प्रसंग र जीवन उपयोगी संवादहरू प्रशस्त छन् । लेखकले अत्यन्त सरल भाषामा शारीरिक स्वास्थ्यलाई मानसिक, सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन् । मार्मिक रूपमा बुनिएका परिघटनामार्फत मुटु खराब हुनुको दोष कहिले अधिक गुलियो खानेकुरा, अल्छीपन र सुखी जीवनलाई दिइएको छ भने कहिले चुरोटलाई त कहिले रक्सीलाई । नियमित व्यायाम गर्दा हृदयघातको सम्भावना घट्ने, चुरोट छाड्दा उच्च रक्तचाप र मधुमेह नियन्त्रण हुने अनि रक्सी त हरेक हिसाबले शरीरका लागि बेफाइदा !

स्वस्थ मुटु केवल एक चिकित्सकीय चिन्तामात्र नभई सार्वजनिक स्वास्थ्य चुनौती पनि हो ।

जब जब म पुस्तकका पानाहरू पल्टाउँदै जान्छु, कैयौं अर्थ, अनर्थहरू मेरो मनमा गुञ्जिन्छन् । एकाएक हुँडलिने विचारहरू केवल पानामा मात्र फस्टाउँदैनन् । बरु तिनै तरंगहरूले मस्तिष्कमा सहानुभूति उमारिदिन्छन् । गहिरा सम्झनाहरू जगाइदिन्छन् अनि लेखक र पाठकको बीचमा एक आत्मीय सम्बन्ध सिर्जना गर्छन् । हेल्थ पोस्टदेखि अस्पताल, अनि घरगाउँदेखि सहर हुँदै कक्षाकोठासम्मका कथाहरू पढ्दै जाँदा हाम्रा उद्देश्यहरू एउटै बन्छन् । जसरी हरेक यात्राहरूले मेरो लेखनमा सांस्कृतिक बनावटहरू भर्ने गर्छन् । जसरी मेरो कक्षा, मेरा कथा, कविता र लेखनका स्रोत बन्छन्, जसरी मेरा विद्यार्थीका अनुभव र अनुसन्धानले थुप्रै अरू पाठ्यपुस्तकको सिर्जना गर्छन्, त्यसरी नै डा. कोजूले विभिन्न सन्दर्भमा भोगेका जीवनको सूक्ष्म साक्षी बन्न पाउँदा खुसी लागेको छ ।

पुस्तक पढ्दै गर्दा लाग्छ, प्रायः आफ्नै यात्राका प्रतिध्वनिहरू, आनन्द, संघर्ष र सहनशीलताका क्षणहरू हुन् । धेरै प्रसंग, पात्र तथा परिस्थितिहरू अचम्मलाग्दो रूपमा परिचित लाग्छन्, मानौं कि कथाभित्र कतै म आफैं, मेरै घरसमुदायका वा मैले नजिकबाट नियालेका मानिसको जीवन छिरेका छन् । त्यस्तै, जिब्रो र मुटुको गन्थन, गुलियो र चिल्लोको लडाइँ, जेरी, बर्फी, हलुवापुरीलगायत तयारी खानाप्रतिको कटाक्ष, नुनको आत्मकथा, साथीभाइबीच एकैछिनमा प्रख्यात बनाइदिने सुर्तीको फुर्ती, सुर्ती मोल्ने हातेशिल्पी, आआफ्नो खोलको रवाफमा ठाँटिएका रक्सी र चुरोटको वार्तालाप, भोजको बेलिविस्तार, चुरोट र रक्सी छाड्दाका रमाइला पक्ष, बुढेसकालको सहज व्यवस्थापनमा जरुरी पर्ने जीवनशैली आदि सन्दर्भ पुस्तकमा छन् ।

लिपिस्टिक बिनाकै कफी रंगको ओठ भएकी, टाउको हल्लाउँदा बुलाकी हल्लिने एक लजालु, सरल र आफूभन्दा कम उमेरकी, हँसिली मैनालाई डा. कोजूले दिदीको रूपमा प्रस्तुत गरेको क्षण होस्, वा कलिलै उमेरमा सिन्दूर लगाएर अस्पताल आएकी गर्भवती नानीको व्यथा ! कसौंडीको कथा पढ्दा त झन् कता पुगियो कता ! अझ रोचक छ, डाक्टरको द्विविधा । कसौंडीभित्र अड्केको युवकको टाउको डाक्टरले कसरी झिक्ने ? न त पढाइ न त पूर्वअभ्यास ! तैपनि, जन्मद्वारबाट नवजात शिशुको टाउको निकालेको सन्दर्भ राम्ररी सम्झँदै तत्काल समस्या हल गर्न सफल लेखकले कथाहरूमा यसरी नै नेपाली समाजको चित्रण गरेका छन् ।

कति ठाउँमा यस्तै यस्तै, फरक तर कालजयी अनुभवहरूको हुबहु वर्णन गरेका छन् डा. कोजूले । जसले हामीले जीवनमा भोगेका वा वरिपरि देखेका अनुभवहरूलाई पनि प्रतिविम्बित गरिदिन्छन् । त्यस्तै ११ वर्ष जतिको थिएँ होला, ७ कक्षा पढ्दा । धादिङबेसीबाट दिनभरि हिँडेर विज्ञान पढाउन मार्पाक पुगेका एकजना शिक्षकले पहिलो दिनमै खुब जाँगर लगाएर प्रतिध्वनि पढाउँदा आफ्नो टाउकोमा बाल्टी घोप्ट्याएका थिए । घर गएर मैले पनि त्यसैगरी पित्तलको तसलाभित्र टाउको छिराएर हुँउँउँ गरेको मात्र थिएँ । कुरो यत्तिमै के टुंगिन्थ्यो र ! अहो ! डाक्टर न साक्टर, माझघरे माइला मामाले बल्लतल्ल निकालिदेका अरे ! झन्डै दुई घण्टा जति त्यसरी तसलाभित्र निसास्सिँदा पूरै गाउँलाई तनाब भएछ । पछिसम्म मैले बाल्यकालमा बाआमालाई दिएको दुःखको कुरो चल्दा मेरी आमा त्यही बिज्याइँ सम्झनुहुन्थ्यो ।

प्रकृतिसँगको निकटता, खेलकुद, साइक्लिङ, रनिङ, योग, ध्यान, माया, ममता, मितभाषी तथा सकारात्मक र स्वस्थ सोचले समेत मान्छेको जीवनलाई कसरी आनन्दित बनाइदिन्छ भन्ने सन्दर्भहरू पनि पुस्तकमा पटकपटक आएका छन् । हरेक मान्छेलाई प्रशस्त पसिना आउनेगरी खेल्ने, घुम्ने, हिँड्न सल्लाह दिँदै धूमपान, जाँडरक्सी निषेध गर्न अनि चिनी, नुन र चाहिनेभन्दा बढी भोजन नगर्न पनि सुझाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.