मुटुलाई माया गरौं
पुस्तकमा समय सान्दर्भिक प्रसंग र जीवन उपयोगी संवादहरू प्रशस्त छन्। लेखकले अत्यन्त सरल भाषामा शारीरिक स्वास्थ्यलाई मानसिक, सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन्।
आधुनिक विश्व समाजमा मुटुसम्बन्धी समस्या मानवीय स्वास्थ्यमा गडबडी आउनुका प्रमुख कारणमध्ये एक हो । नेपाली परिवेशमा समेत बढ्दै गएका जीवनशैलीसम्बन्धी विमर्शहरूको बीचमा मुटु स्वास्थ्यलाई समावेश गर्न आवश्यक छ । यसै सन्दर्भमा डा. राजेन्द्र कोजूद्वारा लेखिएको ‘मुटुको कथा’ पुस्तकमार्फत प्रस्तुत गरिएका प्रत्येक क्षणलाई मननयोग्य छन् । स्वस्थ मुटु केवल एक चिकित्सकीय चिन्तामात्र
प्रसिद्ध कार्डियोलोजिस्टको रूपमा ३० वर्षभन्दा बढी अनुभव भएका कोजूले सेवाग्राहीको दैनिक आनीबानी यो किताबमा बटुलेका छन् । ती प्रभावशाली र व्यावहारिक प्रमाणका आधारमा प्रेरणादायी सुझाव पनि प्रस्तुत गरेका छन् । सन्तुलित आहार, नियमित शारीरिक गतिविधि तथा तनाव व्यवस्थापनमा विशेष जोड रहेको उहाँको यो पुस्तक दीर्घकालीन स्वास्थ्य र मुटुमैत्री जीवनशैलीमा प्रतिबद्ध जोकोहीका लागि व्यावहारिक, प्रेरणादायक तथा समय सान्दर्भिक छ । उनको स्पष्ट र समानुभूतिपूर्ण लेखनशैलीले प्रस्तुत पुस्तकसँगको एकै बसाइमा जटिल चिकित्सकीय अवधारणाहरूलाई समेत सजिलै बुझ्न सकिने बनाइदिन्छ ।
पुस्तकभित्रका हरेक अन्तर्दृष्टिपूर्ण परिघटनाहरूले लेखकको चिकित्सा विशेषज्ञतालाई सरल, जीवनशैली अनुरूपका सल्लाहसँग उत्कृष्ट रूपमा संयोजन गरेको छ । नेपाली समाजमा डा. कोजूजस्ता विज्ञहरूको उपस्थितिले चिकित्सकको विशिष्ट ज्ञान र जीवन्त अनुभवबीच एक रूपान्तरणकारी कडीको रूपमा काम गर्छ । पंक्तिकार विद्यार्थीमाझ अनुभवहरू बाँड्दै गर्दा हरेक समय आत्मसजगता, भावनात्मक बुद्धिमता, सहनशीलता, सहानुभूति र नैतिक निर्णयक्षमताजस्ता सीप विकास गरिरहेको हुन्छु । यस्ता रूपान्तरणमुखी चेतले नराम्रा व्यवहारहरू सुधार्न प्रोत्साहन गर्छ ।
कोजुले उपचारको क्रममा भेटेका सेवाग्राहीसँगको स्मरणीय क्षणहरूलाई समेट्दै उनीहरूकै जीवनलाई कथामा स्थापित गरेका छन् । यस प्रक्रियामा, साधारण कुराहरू असाधारण बनेका छन् । कतिले सुन्दरता प्राप्त गरेका छन् । साधारण देखिने मान्छेहरूले पनि जटिल भावनाहरू प्रकट गरेका छन् । त्यसैलाई लेखकले संरक्षण दिएर जीवन्त बनाएका हुन् पुस्तकमा । जसमा भेटघाट, व्यावसायिकता र मानवीय समवेदनाको संयोजन छ । धुलिखेल अस्पतालमा एकचोटी बिष सेवन गरेका अधबंैशे पुरुष भर्ना हुँदा उनकी जहानसँग डाक्टरले गरेका कुराकानीको क्रममा, उनीहरूसँग पैसा भएको भए विष किन खान्थे र ? भन्ने सार, कथामा उनका घरका लालाबाला अनि डाक्टरका आँसु र उनले ती महिलाको हातमा केही रुपैयाँ थमाउँदै, ‘जानू, पहिले खाना खाएर आउनू’ भन्ने सन्दर्भ जसरी ल्याइएको छ, त्यसले नेपाली गाउँठाउँको जीवन्त दृश्य डाक्टरहरूको मनमा स्वतस्फूर्त देखिने करुणा छर्लंग पारिदिन्छ ।
पुस्तकमा समय सान्दर्भिक प्रसंग र जीवन उपयोगी संवादहरू प्रशस्त छन् । लेखकले अत्यन्त सरल भाषामा शारीरिक स्वास्थ्यलाई मानसिक, सामाजिक र नैतिक मुद्दाहरूसँग जोडिदिएका छन् । मार्मिक रूपमा बुनिएका परिघटनामार्फत मुटु खराब हुनुको दोष कहिले अधिक गुलियो खानेकुरा, अल्छीपन र सुखी जीवनलाई दिइएको छ भने कहिले चुरोटलाई त कहिले रक्सीलाई । नियमित व्यायाम गर्दा हृदयघातको सम्भावना घट्ने, चुरोट छाड्दा उच्च रक्तचाप र मधुमेह नियन्त्रण हुने अनि रक्सी त हरेक हिसाबले शरीरका लागि बेफाइदा !
स्वस्थ मुटु केवल एक चिकित्सकीय चिन्तामात्र नभई सार्वजनिक स्वास्थ्य चुनौती पनि हो ।
जब जब म पुस्तकका पानाहरू पल्टाउँदै जान्छु, कैयौं अर्थ, अनर्थहरू मेरो मनमा गुञ्जिन्छन् । एकाएक हुँडलिने विचारहरू केवल पानामा मात्र फस्टाउँदैनन् । बरु तिनै तरंगहरूले मस्तिष्कमा सहानुभूति उमारिदिन्छन् । गहिरा सम्झनाहरू जगाइदिन्छन् अनि लेखक र पाठकको बीचमा एक आत्मीय सम्बन्ध सिर्जना गर्छन् । हेल्थ पोस्टदेखि अस्पताल, अनि घरगाउँदेखि सहर हुँदै कक्षाकोठासम्मका कथाहरू पढ्दै जाँदा हाम्रा उद्देश्यहरू एउटै बन्छन् । जसरी हरेक यात्राहरूले मेरो लेखनमा सांस्कृतिक बनावटहरू भर्ने गर्छन् । जसरी मेरो कक्षा, मेरा कथा, कविता र लेखनका स्रोत बन्छन्, जसरी मेरा विद्यार्थीका अनुभव र अनुसन्धानले थुप्रै अरू पाठ्यपुस्तकको सिर्जना गर्छन्, त्यसरी नै डा. कोजूले विभिन्न सन्दर्भमा भोगेका जीवनको सूक्ष्म साक्षी बन्न पाउँदा खुसी लागेको छ ।
पुस्तक पढ्दै गर्दा लाग्छ, प्रायः आफ्नै यात्राका प्रतिध्वनिहरू, आनन्द, संघर्ष र सहनशीलताका क्षणहरू हुन् । धेरै प्रसंग, पात्र तथा परिस्थितिहरू अचम्मलाग्दो रूपमा परिचित लाग्छन्, मानौं कि कथाभित्र कतै म आफैं, मेरै घरसमुदायका वा मैले नजिकबाट नियालेका मानिसको जीवन छिरेका छन् । त्यस्तै, जिब्रो र मुटुको गन्थन, गुलियो र चिल्लोको लडाइँ, जेरी, बर्फी, हलुवापुरीलगायत तयारी खानाप्रतिको कटाक्ष, नुनको आत्मकथा, साथीभाइबीच एकैछिनमा प्रख्यात बनाइदिने सुर्तीको फुर्ती, सुर्ती मोल्ने हातेशिल्पी, आआफ्नो खोलको रवाफमा ठाँटिएका रक्सी र चुरोटको वार्तालाप, भोजको बेलिविस्तार, चुरोट र रक्सी छाड्दाका रमाइला पक्ष, बुढेसकालको सहज व्यवस्थापनमा जरुरी पर्ने जीवनशैली आदि सन्दर्भ पुस्तकमा छन् ।
लिपिस्टिक बिनाकै कफी रंगको ओठ भएकी, टाउको हल्लाउँदा बुलाकी हल्लिने एक लजालु, सरल र आफूभन्दा कम उमेरकी, हँसिली मैनालाई डा. कोजूले दिदीको रूपमा प्रस्तुत गरेको क्षण होस्, वा कलिलै उमेरमा सिन्दूर लगाएर अस्पताल आएकी गर्भवती नानीको व्यथा ! कसौंडीको कथा पढ्दा त झन् कता पुगियो कता ! अझ रोचक छ, डाक्टरको द्विविधा । कसौंडीभित्र अड्केको युवकको टाउको डाक्टरले कसरी झिक्ने ? न त पढाइ न त पूर्वअभ्यास ! तैपनि, जन्मद्वारबाट नवजात शिशुको टाउको निकालेको सन्दर्भ राम्ररी सम्झँदै तत्काल समस्या हल गर्न सफल लेखकले कथाहरूमा यसरी नै नेपाली समाजको चित्रण गरेका छन् ।
कति ठाउँमा यस्तै यस्तै, फरक तर कालजयी अनुभवहरूको हुबहु वर्णन गरेका छन् डा. कोजूले । जसले हामीले जीवनमा भोगेका वा वरिपरि देखेका अनुभवहरूलाई पनि प्रतिविम्बित गरिदिन्छन् । त्यस्तै ११ वर्ष जतिको थिएँ होला, ७ कक्षा पढ्दा । धादिङबेसीबाट दिनभरि हिँडेर विज्ञान पढाउन मार्पाक पुगेका एकजना शिक्षकले पहिलो दिनमै खुब जाँगर लगाएर प्रतिध्वनि पढाउँदा आफ्नो टाउकोमा बाल्टी घोप्ट्याएका थिए । घर गएर मैले पनि त्यसैगरी पित्तलको तसलाभित्र टाउको छिराएर हुँउँउँ गरेको मात्र थिएँ । कुरो यत्तिमै के टुंगिन्थ्यो र ! अहो ! डाक्टर न साक्टर, माझघरे माइला मामाले बल्लतल्ल निकालिदेका अरे ! झन्डै दुई घण्टा जति त्यसरी तसलाभित्र निसास्सिँदा पूरै गाउँलाई तनाब भएछ । पछिसम्म मैले बाल्यकालमा बाआमालाई दिएको दुःखको कुरो चल्दा मेरी आमा त्यही बिज्याइँ सम्झनुहुन्थ्यो ।
प्रकृतिसँगको निकटता, खेलकुद, साइक्लिङ, रनिङ, योग, ध्यान, माया, ममता, मितभाषी तथा सकारात्मक र स्वस्थ सोचले समेत मान्छेको जीवनलाई कसरी आनन्दित बनाइदिन्छ भन्ने सन्दर्भहरू पनि पुस्तकमा पटकपटक आएका छन् । हरेक मान्छेलाई प्रशस्त पसिना आउनेगरी खेल्ने, घुम्ने, हिँड्न सल्लाह दिँदै धूमपान, जाँडरक्सी निषेध गर्न अनि चिनी, नुन र चाहिनेभन्दा बढी भोजन नगर्न पनि सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस !