बाबा थिए घरको मियोसरि सधैं हाम्रो उपकारमा
त्यस्तो ऋण म कसो गरी तिरुँला चिन्ता छ रातोदिन ।
हे बाबु दुःखले तिखार्छ दिमाग, अल्छी विलासी नहोऊ
धैर्यधारण गर्नु पर्दछ सधैं उद्दण्ड कहिल्यै नहोऊ
भन्ने वाणी म आज सन्न कसरी पाउँछु र यो लोकमा
बाबाको मुख देख्न पाउने भए गर्थें जीवन अर्पण ।
सपनामा पनि देख्न सक्तिनँ कतै मेरा पिताको रूप
हेर्दै चित्त बुझाउँछु वरिपरि उनका अनेकौं सीप
आइ टप्प टिपी तँ निष्ठुरी भई पत्तै नपाई लगिस्
पारेर टुहुरो मलाई तैंले गर्नु नगर्नु गरिस् ।
केही काम पर्यो भने बुझी सबै बाबासँग सोध्दथें
सत्य–तथ्य बुझी म निडर भई म काममा लाग्दथें
भाग्यमानी म ठान्दथें जगतमा म झैं यहाँ को छ र ?
गल्ती केही हुँदा म पाउँथे सुझाव प्यारा पिताजीसँग ।
जिउँदा नै भगवान् थिए घरमहाँ सम्झन्छु अहिले पनि
ज्ञानका ती कुटुरा फुकाउनु हुँदा आनन्द लाथ्यो अति
छोराछोरी सबै हुँदा पनि यहाँ पिताको छ सम्झना
विगतको गरी सम्झना म अहिले कल्पन्छु रातोदिन ।
प्रकृतिको सम्बन्धविछोड गराउने काल तँ कुन तत्व होस्
बाबु–छोराको सम्बन्ध अटल अमर रहोस् प्रकृतिचक्र चलोस्
परम्परा र रीतिथिति कुमाले चक्र सरी चलिरहन्छ नै यसरी
प्यारा बुवाको सम्झनाले सताइरहन्छ हरदम किन बेस्सरी ।
- हरिकृष्ण सिलवाल
प्रतिक्रिया दिनुहोस !