लोमान्थाङमा जनप्रतिनिधिले खोले ‘संग्रहालय’
जोमसोम : उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले घेरिएको माटोको सहरका रूपमा परिचित लोमान्थाङमा संग्रहालय स्थापना गरिएको छ । यहाँका स्थानीय जनप्रतिनिधि छेवाङ रिनजिन गुरुङले व्यक्तिगत लगानीमा त्यहाँ संग्रहालय स्थापना गरेका हुन् ।
उपल्लो मुस्ताङ स्थित पर्खालले घेरिएको माटोको सहर लोमान्थाङको विगत र वर्तमान अवस्थामा भइरहेका विद्यमान परिवर्तित विकासलाई त्यहाँ पुग्ने पर्यटकमाझ पस्किन लोमान्थाङका वडासदस्य छेवाङले संगहालय स्थापना गरेका हुन् । त्यहाँ वडासदस्य छेवाङले आफ्नो पूर्वजले बनाएको दुई सय वर्ष पुरानो ढुंगा र माटोले निर्मित पुरानो दुई तलाको घरमा संग्रहालय स्थापना गरेका हुन् ।
उपल्लो मुस्ताङमा बर्सेनि विदेशी पर्यटकले महँगो शुल्क तिरेर त्यहाँ जाने गर्छन् । पछिल्लो समय सडक सहज भइसकेकाले नेपाली स्वदेशी पर्यटक पनि उल्लेख्य मात्रामा उपल्लो मुस्ताङ घुम्न पुग्छन् । तर, त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले लोमान्थाङको ऐतिहासिकता, धर्म, संस्कृति र परम्पराबारे खासै जानकारी हासिल गर्न सक्तैनन् । यसर्थ, उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटकलाई त्यहाँ पर्खालले घेरिएको लोमान्थाङको पर्याप्त जानकारी उपलब्ध गराउने उद्देश्यले वडासदस्य छेवाङले संग्रहालय स्थापना गरेको बताए ।
सन् १९९२ पछि उपल्लो मुस्ताङमा धेरै विकासका नमुनाहरू कोरिएको सग्रालय सञ्चालन गरिएको छेवाङले उल्लेख गरे । ‘यहाँ पाँच सय वर्षमा हुन नसकेको विकास पछिल्लो ३० वर्षमा भएको छ,’ यहाँ सडक, बिजुली, इन्टरनेटका सुविधाहरू जोडिएका छन्,’ सञ्चालक वडासदस्य छेवाङले भने, ‘यहाँ लोमान्थाङको पहिलेको जीवनशैली र वर्तमानको जीवनशैलीलाई अहिलेको पुस्तालाई देखाउन र पर्यटकलाई परिवर्तित लोमान्थाङको सचित्र उजागर गर्ने गरी संग्रहालयमा त्यसका तस्बिरहरू राखिएको छ ।’
पर्खालले घेरिएको लोमान्थाङभित्र दर्जनौं पुराना ढुंगा र माटोले बनेका ऐतिहासिक गुजुमुज्ज एकआपसमा जोडिएका परम्परागत घरहरू अवस्थित छन् । त्यही पुराना घरहरूमा त्यहाँ जाने पर्यटकले पहिलेपहिले रात कटाउँथे । अहिले त्यस्तो अवस्था नरहेको वडासदस्य छेवाङको भनाइ छ । लोमान्थाङमा आधुनिक घरहरू निर्माण हुँदै गरेको र पर्यटकका लागि भीआईपी होटेलहरू सञ्चालनमा रहेको उनले बताए । यहाँ संग्रहालयमा पर्यटकलाई विगत र वर्तमान लोमान्थाङको परिवर्तित अवस्थालाई संग्रहालय अवलोकनबाट सबै कुरा जानकारी प्राप्त हुने उनले बताए । यहाँको हिउँदयाम र बर्खायाममा हुने मौसम परिवर्तन र जीवनशैलीका थुप्रै तस्बिरहरू संग्रहालयमा व्यवस्थापन गरेका छन् । यहाँका कृषि, पशुपालक, चाडपर्व, ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको तस्बिर ग्यालरी संग्रहालयमा पुगेर अवलोकन गर्न पाइने वडासदस्य छेवाङले जनाए ।
लोमान्थाङको ऐतिहासिक तिजी र यार्तुङलगायतका विभिन्न चाडपर्व मनाउने प्रचलन र तरिकाहरूलाई संग्रहालयमा समेटिएको उनले बताए । ‘यहाँको महत्वपूर्ण चाडपर्व अवलोकन गर्न नसकेका पर्यटकलाई यहाँबाट धेरै कुरा जानकारी प्राप्त हुन्छ । यसले यहाँ आइपुग्ने पर्यटक तथा विभिन्न खोज अनुसन्धान गर्नेका लागि पनि संग्रहालय उपयोगी बन्न सक्नेछ’, उनले भने ।
छेवाङले संग्रहालयभित्र सदियौं वर्ष पहिले प्रयोग हुने भाँडावर्तन, खेतीपातीमा प्रयोग हुने घरेलु औजार, पूजाका सामग्रीहरूलगायत समानहरू सजाइएका छन् । निकै लामो समय युरोप बसेर स्वदेशमै केही गर्न सकिन्छ भन्ने हेतुले पुख्र्यौली थलो लोमान्थाङ फर्किएका छेवाङ सामाजिक अभियान्ताका साथै पर्यटन पथप्रर्दशक पनि हुन् । उनी लोमान्थाङ—५ को वडासदस्यमा निर्वाचित भएपछि त्यहाँका विकास र समृद्धिका लागि परेका हुन् ।
गाउँठाउँमै बसेर केही आयआर्जन गर्न सकिन्छ भनेर अरूले गर्न नसकेको फरक खालको व्यवसाय सुरु गरेको वडासदस्य छेवाङ बताउँछन् । उनले संग्रहालयमा उपल्लो मुस्ताङ लेन्ड स्किप तस्बिर र जैविक विविधतालगायत तस्बिर ग्यालरी राखेको बताए । उपल्लो मुस्ताङको लोमान्थाङ आउने पर्यटकहरूले लोमान्थाङको विगत र वर्तमान अवस्था, मुस्ताङी राजाको दरबार, साँघुरो गल्ली, पर्खालले घरिएको माटोको सहर लोमान्थाङ, यहाँका गुम्बा, मार्ने, छोर्तेनलगायत तस्बिरहरू संग्रहालयभित्र राखिएको छेवाङको भनाइ छ ।
छेवाङले भदौ १ मा लोमान्थाङमा संग्रहालय स्थापना गरेका हुन् । त्यसो त लोमान्थाङमा आमची घ्याचो विष्टको आयुर्वेद पृथक् संग्रहालय पनि छ । छेवाङले स्थापना गरेको संग्रहालय परिवारका सदस्यहरूले आलोपालो गरी चलाउने गरेको जानकारी दिए । यहाँ अवलोकन गर्ने स्वदशी तथा विदेशी पर्यटकलाई अवलोकन शुल्कबापत दुई सय रुपैयाँ शुल्क उठाउने गरेको वडासदस्य छेवाङले बताए । तर, स्कुल र क्याम्पसमा पढ्ने विद्यार्थीका लागि परिचयपत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरिएको वडासदस्य छेवाङको भनाइ छ । संग्रहालयका लागि स्थानीय पालिकामा संस्था दर्ता भइसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !