गोविन्दाविरुद्ध पत्नी सुनिता आहुजा अदालत पुगिन्
काठमाडौं : बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको ३८ वर्ष पुरानो वैवाहिक सम्बन्ध संकटमा परेको छ। उनीहरूबीच सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अहिले मुम्बईको परिवार अदालत (फ्यामिली कोर्ट) मा पुगेको छ।
यस मुद्दाको पहिलो सुनुवाइ गत बिहीबार मुम्बईको परिवार अदालतमा सुरु भएको हो। सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सुनिता आहुजालाई अदालतमा देखिएको थियो।
सुनुवाइका बेला गोविन्दा भने व्यक्तिगतरूपमा उपस्थित थिएनन्, तर भिडियो कन्फरेन्समार्फत सहभागी भएका थिए। अदालतले उनलाई अर्को सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुन आदेश दिएको छ।
यसबीच गोविन्दाका वकिल र सल्लाहकार ललित बिन्दलले सुनिताले गत वर्ष नै तलाकको निवेदन दर्ता गरेको बताए। मुद्दाको अर्को सुनुवाइ तीन महिनापछि, आगामी नोभेम्बरमा हुने उनले बीबीसीलाई बताए।
'सुनिता आहुजाले नै विभिन्न धाराअन्तर्गत गोविन्दाविरुद्ध गत वर्ष डिसेम्बरमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेकी थिइन्। मुद्दा पुरानो हो र छिट्टै दुवैबीच सम्झौता हुने अवस्थामा छ। सुनिताले जुन कारणले मुद्दा दर्ता गरेकी थिइन्, अहिले त्यो समस्या समाधानतर्फ गएको छ,' उनले भनेका छन्।
गत २१ अगस्टमा भएको सुनुवाइमा उनी स्वयं गोविन्दाको तर्फबाट उपस्थित भएका थिए। सुनिताले केही दिनअघि मात्र आफ्नो जन्मदिनको अवसरमा युट्युब च्यानल सुरु गरेर नयाँ यात्रा सुरु गर्ने संकेत दिएकी थिइन्।
त्यस भिडियोमा उनले भ्लगिङ सुरु गर्ने कारणबाहेक गोविन्दाका विषयमा समेत बोलेकी थिइन्। उनले गोविन्दासँगको सम्बन्ध बिग्रनुमा अज्ञात व्यक्तिहरूको हात रहेको आरोप लगाएकी थिइन्। गोविन्दा र सुनिताको विवाह सन् १९८७ मार्च ११ मा भएको हो।
प्रतिक्रिया दिनुहोस !