election background

प्रतिनिधि सभा निर्वाचन २०८२

जडीबुटीको ट्रकमा भेप तस्करी

जडीबुटीको ट्रकमा भेप तस्करी
जडीबुटीको नाममा राजस्व छली गरी इलेक्ट्रिकल भेप बोकेर ल्याएको कन्टेनर सशस्त्र प्रहरीको फन्दामा ।

वीरेन्द्रनगर : हुम्लाको हिल्सा नाका जहाँबाट एकातिर तीर्थयात्रीहरू कैलाश मानसरोवर पुग्छन् । अर्कोतिर हुम्लाका स्थानीय नागरिकहरू दैनिक उपभोग्य सामान आयात–निर्यात गर्छन् । तर, पछिल्लो समय त्यहाँ दैनिक उपभोग्य समानहरू आयात निर्यातमात्र हुँदैन्, अवैध समानहरू वैध बनाएर तस्करहरूले कालो धन कमाउन उपयुक्त गेट वे नै बनेको छ । तीन दिनअगाडि मात्र जडीबुटी सेतक चिनीका नाममा डिभिजन वन कार्यालयद्वारा छुट पुर्जीसहित हुम्लाबाट हिँडेको कन्टेनर दैलेखको खिड्कीज्युलाबाट सशस्त्र प्रहरीको फन्दामा पर्‍यो । 

हुम्लाबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीका सहोदर भाइ लोकजंग शाहीले संकलन तथा छुट पुर्जी दिएको हुम्लामा संकलित जडीबुटी लोड भएको उल्लेख गरी पठाइएको कन्टेनरमा करिब ३९ हजार ९ सय थान विद्युतीय चुरोट (भेप) फेला परेको छ । डिभिजन वन कार्यालय सिमकोट हुम्लाले रसिद काटेर जडीबुटी उल्लेख गरी पठाएको कन्टेनरबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बल एपीएफ टोलीले दैलेखको खिड्कीज्युलाबाट कन्टेनर नियन्त्रणमा लिएको हो । कन्टेनरमा इएलएफबीएआर ब्रान्डका ३९ हजार ९ सय थान भेप बरामद गरिएको छ । 

डिभिजन वन कार्यालय हुम्लाका निमित्त डिभिजन वन अधिकृत लोकजंग शाहीले नेपालगन्जसम्मका लागि जाँचपास गरेर पठाएको कन्टेनर सशस्त्र प्रहरीले दैलेखको खिड्कीज्युलाबाट तीन दिनअगाडि नियन्त्रणमा लिएको बताए । नियन्त्रणमा लिइएको उक्त कन्टेनरलाई कोहलपुर लगेर राजस्व र भन्सारसहितको टोलीले खोलेर हेर्दा चीनबाट भन्सार छली गरी तस्करी गरेर ल्याएको ३९ हजार ९ सय थान भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी फेला परेको हो । बरामद भेप करिब १० करोडभन्दा बढी रुपैयाँको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त भेप बोकेको कन्टेनरमा रहेका तीन जना प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरूले हुम्लाका केही व्यवसायी र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको नाम प्रारम्भिक अनुसन्धानका खोलेका छन् । 

तस्करीको ‘लामै तयारी’ 
गत साउन महिनाको ५ र ६ गते सुर्खेतमा गत आर्थिक वर्षको वार्षिक समीक्षा थियो । डिभिजन वन कार्यालय प्रमुख चन्द्रवीर गुरुङ र योजना शाखा प्रमुख लोकजंग शाही आउनुपर्ने थियो । तर लोकजंग शाही सुर्खेत आउन मानेनन् । स्रोतले भन्यो, ‘प्रायः उहाँ तालिम गोष्ठीमा भन्दा पनि निमित्त कार्यालय प्रमुख भएर जिल्लामै बस्न बढी मन पराउनुहुन्छ ।’ यसपटक पनि उहाँले वार्षिक समीक्षामा आफू नजाने भनेपछि कार्यालय प्रमुख गुरुङ र प्रशासन प्रमुख नेत्र शाही सुर्खेत झरेका हुन् । उनीहरू साउन ५ र ६ गते वार्षिक समीक्षा र अर्को एक तालिममा सहभागी भएर हालसम्म पनि सुर्खेतमै छन् ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख भएर कार्यरत लोकजंग शाहीले नै कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा ५ हजार केजी सेतक चिनी उल्लेख गरी वन कार्यालय हुम्लाले नेपालगन्जसम्म पुग्ने गरी कन्टेनर जाँचपास गरेका थिए । 

प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी १ लाख २५ हजार राजस्वको रसिद काटेर कन्टेनर जाँचपास गरिएको थियो । राजस्व र सशस्त्र प्रहरीले चीनको ताक्लाकोट हुँदै हिल्सा नाकाबाट भेप तस्करी गरिएको आशंकामा सुरुदेखि नै कन्टेनर निगरानी गरेको थियो । राजस्व र सशस्त्रको टोलीले कन्टेनर पछ्याउँदै दैलेखको खिड्कीज्युलाबाट नियन्त्रणमा लियो । 

जडीबुटी व्यवसायको आवरणमा गैरकानुनी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि डिभिजन वन कार्यालय सिमकोट हुम्लाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शाहीले जाँचपास गराएका थिए । उनी २२ वर्ष (२०६०) सालदेखि डिभिजन वन कार्यालय हुम्लामा कार्यरत छन् । उनलाई निजामती सेवा ऐनअनुसार हरेक दुई वर्षमा कर्मचारीहरूको सरुवा हुने नियम लाग्दैन । 

सेतक चिनी संकलन इजाजतबमोजिम शर्मथान राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका वडा नंं १ हुम्लामा घाटगद्दी गरिराखेको थियो । उक्त वन पैदावार नियमानुसार निकासीका लागि इजाजत मागका लागि भदौ ३ गते यस कार्यालयमा निवेदन आयो । निवेदन उपर सम्बद्ध सरोकारवालको रोहबरमा वन पैदावार नापतौलका लागि सबडिभिजन वन कार्यालयका कर्मचारी हटाई पठाएकोमा घाटगद्दी स्थलमा गई संकलन इजाजतअनुसारको वन पैदावार नापतौल गरी संकलन लगतबमोजिम हुम्लाबाट वन पैदावार निकासीका लागि छुट पुर्जी दिइएको हो । 

छुट पुर्जी भएपछि २१ दिनभित्र घाटगद्दी स्थानबाट सल्लीसल्ला, बाजुरा – कालीकोट – दैलेख – अछाम– बर्दिया – कोहलपुर हुँदै नेपालगन्ज पुर्‍याउनुपर्ने थियो । ‘सबडिभिजन कार्यालय हुम्लामा कार्यरत कर्मचारीको रोहबरमा लोड गराई एचयूएम–१ नम्बरको सिल लगाई दरपीठ गरी बाटोमा पर्ने वन चेक पोस्टहरूमा अनिवार्य चेकजाँच तथा दरपीठ गराई लैजानु हुन जानकारी गराइन्छ’ भनी कन्टेनर वाहकलाई पास उपलब्ध गराएका थिए । नियमअनुसार सबडिभिजन कार्यालय हुम्लामा कार्यरत कर्मचारीको रोहबरमा लोड गराई एचयूएम–१ नम्बरको सिल लगाई दरपीठ गरी बाटोमा पर्ने वन चेक पोस्टहरूमा अनिवार्य चेकजाँच तथा दरपीठ गराई लैजानु हुन जानकारी गराइन्छ’ भनी कन्टेनर वाहकलाई पास उपलब्ध गराएका थिए ।

तस्करीको भेप बरामद भएको विषयमा थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ । जडीबुटी भनी उल्लेख गरेको कन्टेनरमा वनकै कर्मचारीको मिलेमतोमा तस्करीका भेप पठाइएको हुन सक्ने देखिएकाले उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको राजस्व अनुसन्धानको भनाइ छ । 

शाहीले आफूले डिभिजन वन कार्यालयका फरेस्टर सन्तोष खत्री, वन रक्षक कृष्णबहादुर हमाल, हबलदार निमबहादुर रावतको स्थलगत प्रतिवेदनका आधारमा छुट पुर्जी दिएको बताए । ‘२०८१ माघ ३ गते कैलाश ईश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाले संकलन पुर्जी मागेर राजस्व दाखिला गरेअनुसार मैले संकलन पुर्जी दिएको हुँ । त्यसपछि यही भदौ ३ गते संकलन स्थानमा ५ हजार केजी ९२ बोरा सेतक चिनी रहेको र उक्त समान नेपालगन्ज लिनका लागि छुट पुर्जी मागेर निवेदन दिए । मैले त्यसैअनुसार प्रक्रिया पुर्‍याएर जडीबुटी संकलन स्थानमा जडीबुटी भए, नभएको यकिन गर्न फरेस्टर सन्तोष खत्री, वन रक्षक कृष्णबहादुर हमाल, पुलिसको हबलदार नीमबहादुर रावतलाई पठाएको थिएँ’, उनले भने । 

उनले थपे, ‘उनीहरूले स्थलगत मुचुल्का बनाएर ५ हजार केजी समान ९२ थान सामान मुचुल्का ल्याएका छन् । त्यसैअनुसार प्रतिवेदनसहित दिए । त्यसपछि मैले मैले छुट पुर्जी दिएँ । उक्त समान ट्रकमा हालेर सिल गरें । तर उक्त ट्रक पक्राउ गरेर कोहलपुर राजस्व अनुसन्धान कार्यालयमा सिल खोल्दा हाम्रा कर्मचारीलाई बोलाइएन । उनीहरूले सिल बाटोमा तोडेर पहिले हालेको समान निकालेर तस्करीको समान हालेको हुन सक्ने आफूहरूको अनुमान छ । मैले त कर्मचारीको विश्वास गर्नै पर्छ । त्यसै अनुसार कर्मचारीको विश्वास गरें । तर कोहलपुर पुग्दा ट्रकमा सुनेको ४३ बोरा सेतक चिनीमात्र छ रे । अरू भेप छ भन्ने थाहा भयो ।’  

हिल्साबाट राजस्व छली गरी ल्याएको भेप १० करोड बढी मूल्यको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने, ‘यस घटनाका विषयमा जिल्लाका सुरक्षा निकायहरूले पनि गम्भीरताका साथ लिएका छौं । म हिजोबाट मात्र जिल्लामा हाजिर भएको छु । जिल्लाका सबै सुरक्षा निकायहरूसँग छलफल गरेर यस्ता तस्करी नियन्त्रणका विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’

तीन जना पक्राउ 
प्रहरीले कन्टेनर चालक भूमि रोकाय, कन्टेनरमा सवार हुम्ला सिमकोटका २७ बर्षिय छिरिङ लामा र मुगु खत्याडका ३२ बर्षिय जनक रोकायलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.