आधा आकाश ढाक्छ्यौ
आधा आकाश ढाक्छ्यौ तरपनि कताकता हराए झैं लाग्छ अझै,
तिमी जस्तैले यहाँ, इतिहास लेखिरहेका छन्
आफ्नो शक्ति र पहिचानमा¸
वाधा अवरोधहरूलाई हत्केलाले छेकिरहेकै छन् त,
कहाँ कमजोर छ्यौ र कमजोरी देखाउँछ्यौ
उठ तिमी¸ आफैं उठ्नु पनि पर्छ
यहाँ कसैले उठाउँदैन पनि,
घुम्टो खोलेर दैलो उघार,
त्यहाँ तिम्रा सपना छेकिएका छन्।
काँडाबीच फुल्ने गुलाफ मात्र होइन
चट्टान फोडेर उम्रने पिपल पनि हौ तिमी,
सहिष्णुता र धैर्यता मात्र होइन
ममता र निर्भयता कि धनी पनि हौ तिमी
बादल फाटेको खुला आकास हेर न ! अनि पो रमाउँछ्यौ¸
सागरभित्र चम्किने मोती मात्र होइन
संसारै उजेल्याउने ज्योती पनि हौ तिमी।
आफैंले हो त शिखर चढ्ने पाइला किन कमाउँछ्यौ
कसैले दिएको खुसीमा व्यर्थै तिमी किन रमाउँछ्यौ
खुट्टा तान्नेहरु छन् भन्दैमा हुँदैनन् ती सबै शत्रु पनि,
शत्रुलाई पनि मित्र बनाउ आफैं कब्जा जमाउँछ्यौ।
तिमी आफैंसँग छ ओखती सबै चोटहरूको
कहीँ प्रवाह नगर चोट दिने ती खोटहरूको
विकल्प छैन यहाँ तिमी आफैं उठ्नु शिवाय¸
बस् खाँचो छ त¸मात्र..... तिम्रा अठोटहरुको।
आधा आकाश ढाक्छ्यौ तरपनि कताकता हराए झैं लाग्छ अझै,
प्रकृति कि धनी हौ, तरपनि कता कता हराए झैं लाग्छ अझै।
प्रतिक्रिया दिनुहोस !