कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह ठप्प
मुगु : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–सोरुकोटिस्थत इलाका प्रशासन कार्यालय कार्यालय प्रमुखविहीन बनेपछि त्यहाँँको सेवा प्रवाह ठप्प भएको छ।
गृह मन्त्रालयले गणेशविक्रम शाहलाई सो कार्यालयको प्रमुखको जिम्मेवारी तोकेर पठाएको थियो। शाहले इलाका प्रशासन कार्यालय सोरुकोटमा भदौ ६ गते कार्यभार सम्हालेका थिए। ६ गते हाजिर भएका शाहलाई दुई दिनपछि भदौ ८ गते गृह मन्त्रालयले घर पायकको जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरेको थियो। गृह–मन्त्रालयले उक्त कार्यालयका लागि हालसम्म कार्यालय प्रमुखको व्यवस्थापन नगरिदिँदा दैनिक सेवाहरू अवरुद्ध भएका हुन्। यो कार्यालयबाट दैनिक ५ देखि १० जना स्थानीयले नागरिकतालगायतका सिफारिसका सेवा लिइरहेका थिए।
तर प्रमुख नहुँदा दुई सातादेखि स्थानीयवासी यस्ता सेवा लिनबाट वञ्चित भएका छन्। उक्त कार्यालयमा कार्यरत सहायक कम्प्युटर अपरेट पदमराज शाहीका अनुसार नागरिकताका लागि मात्र दैनिक २०–३० जनाले फोन गरेर कार्यालय प्रमुख आउने जानकारी लिने गरेका छन्। २० जनाले नागरिकताका बनाउनका लागि आवश्यक कागजपत्रसहितको आवेदन दिएका छन्। उनीहरूले दैनिक फोन गरेर नागरिकता बनाउन कहिले आउँ भन्छन् ? उनीहरूलाई कार्यालय प्रमुखको टुंगो नलागेकाले कार्यालय प्रमुख पुगेपछि खबर गरौंला भनेर जवाफ सेवाग्राहीलाई फर्काउने गरेको शाहीले
सोरु गाउँपालिका–१० का ३९ वर्षीय कर्मे जैसी शारीरिक अपांगता भएका व्यक्ति हुन्। नागरिकता बनाउन भदौ १० गते परिवारका सदस्यहरूले उनलाई घरबाट चार घण्टाको पैदल यात्रा गराउँदै सोरुकोटस्थित इलाका प्रशासन कार्यालयसम्म पुर्याएका थिए। तर, कार्यालयमा प्रमुख नै नभएकाले आजसम्म पनि उनको नागरिकता बन्न सकेको छैन। नागरिकता नभएकै कारण उनी राष्ट्रिय परिचयपत्रबाट समेत वञ्चित छन्।
इलाका प्रशासनमा अझैसम्म प्रमुख छैनन् त्यसैले मेरो नागरिकता बनेको छैन जैसी पीडा भावमा आफ्नो गुनासो पोखे। सोही गाउँपालिका–१ का धीरबहादुर शाहीले नागरिकताको प्रतिलिपिका लागि आवश्यक कागजातसहित एक हप्ताअघि नै आवेदन दिएका थिए। तर, कार्यालयमा पुग्दा कर्मचारीहरूले कार्यालय प्रमुख नभएकै कारण प्रक्रिया अगाडि बढाउन सकिँदैन भन्ने जवाफ मात्र फर्काइरहेका र शाही भन्छन्, ‘कार्यालयमा गएर हरेक दिन यही जवाफ मात्र सुनिन्छ–प्रमुख नभएकाले केही गर्न सकिँदैन।’
इलाका प्रशासनमा प्रमुख नहुँदा यस्तै समस्या झेल्न बाध्य भएपछि कर्मचारीहरूले उनलाई जिल्ला प्रशासन कार्यालय पुग्न सल्लाह दिएका रहेछन्। तर, सदरमुकाम पुग्नमात्र गाडी भाडामा करिब तीन हजार रुपैयाँ खर्च पर्छ। होटलमा बस्नुपर्ने, खानपिन थपिँदा पाँच हजारभन्दा बढी खर्च हुने शाहीको भनाइ छ। कार्यालय प्रमुख नहुँदा सेवा प्रवाह ठप्प भएका विषयमा जिल्ला प्रशासन कार्यालयले तत्काल गृह मन्त्रालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !