प्रविधि जगतका हस्तीसँग ट्रम्पको विशेष रात्रिभोज : किन गएनन् मस्क ?
मार्क जुकरबर्गले मागे माफ, २ मिनेटमा टिम कुकले भने ९ पटक धन्यवाद
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा प्रविधि जगतका हस्तीसँग विशेष रात्रिभोजको आयोजना गरे।
रात्रिभोजमा एप्पलका सीईओ टिम कुक, मेटाका सीईओ मार्क जुकरबर्ग, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, ओरेकलका सीईओ सफारा क्याट्ज, गुगलका सह–संस्थापक सर्गेई ब्रिन र ओपनएआईका साम अल्टम्यान, गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका सीईओ सत्य नाडेला, माइक्रोनका सीईओ संजय मेहरोत्रा, टिब्को सफ्टवेयरका संस्थापक विवेक रणदिवे र प्यालेन्टियरका सीईओ श्याम शंकर रहेका थिए।
तर सबैभन्दा बढी चर्चामा एलोन मस्क आएका थिए। उनी एक्स (पहिले ट्विटर), टेस्ला र स्पेसएक्सका प्रमुख र विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। तर उनी यस रात्रिभोजमा उपस्थित थिएनन्।
चुनावी अभियानदेखि नै एलोन मस्क ट्रम्पसँग धेरै पटक देखिएका छन्। धेरै अवसरमा दुवैले एकअर्काको प्रशंसा गरेको देखिन्थ्यो।
ट्रम्पको दोस्रो कार्यकालमा मस्क उनका नजिकका सहयोगी थिए। उनलाई सरकारी दक्षता विभाग (डोज) चलाउने जिम्मेवारी दिइएको थियो।
तर केही समयपछि मस्कले ट्रम्प प्रशासनबाट आफूलाई टाढा राखे। यसपछि मस्कले ट्रम्पको पनि आलोचना गरे। उनीहरूको सम्बन्धमा आएको दरारलाई मिडियामा पनि धेरै कभरेज भयो।
तर अब ट्रम्पको टेक कम्पनीका प्रतिनिधिसँगको बैठकमा एलोन मस्क अनुपस्थित भएको खबरले हेडलाइन बनिरहेको छ।
ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने, ʻयस टेबल वरिपरि सबैभन्दा चलाख व्यक्तिहरू बसिरहेका छन्। यो साँच्चै चलाख समूह हो र म उनीहरूमा धेरै गर्व गर्छु।ʼ
सामाजिक सञ्जालमा यो रात्रिभोजबारे मिश्रित प्रतिक्रिया आएको छ। कसैले यसलाई रणनीतिक साझेदारी भनेका छन् भने कसैले यसलाई राजनीतिक फोटो–अप भनेका छन्।
मस्क किन डिनरमा गएनन् ?

मस्क बैठकमा उपस्थित थिएनन्। तर उनको ठाउँमा कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा उनका प्रतिद्वन्द्वी ओपनएआईका साम अल्टम्यान उपस्थित थिए।
रात्रिभोज रोज गार्डेनमा हुने अपेक्षा गरिएको थियो। तर खराब मौसमका कारण अधिकारीहरूले कार्यक्रमलाई ह्वाइट हाउसको स्टेट डाइनिङ रुममा सार्नुपरेको थियो।
ह्वाइट हाउसमा कृत्रिम बुद्धिमत्ता (एआई) शिक्षा सम्बन्धी नयाँ कार्यदलको बैठक पछि रात्रिभोज आयोजना गरिएको थियो।
कार्यदलको उद्देश्य अमेरिकी युवाहरूका लागि एआई शिक्षा विकास गर्नु हो। यसको अध्यक्षता ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले गरेकी थिइन्।
यस कार्यक्रमको अतिथि सूचीमा किन समावेश गरिएको छैन भनेर मस्कलाई सोध्दा उनले भने, ʻमलाई आमन्त्रित गरिएको थियो। तर दुर्भाग्यवश म उपस्थित हुन सकेन। मेरो तर्फबाट एक प्रतिनिधि त्यहाँ उपस्थित हुनुभएको थियो।ʼ
तर अमेरिकी मिडिया रिपोर्टहरूले मस्कको नाम पाहुना सूचीमा नभएको बताउँछन्।
२ मिनेटमा टिम कुकले भने ९ पटक धन्यवाद

ट्रम्पसँगको करिब दुई मिनेटको कुराकानीमा एप्पलका सीईओ टिम कुकले ९ पटक धन्यवाद भने। सामाजिक सञ्जालमा यसबारे धेरै छलफल भइरहेको छ।
उनले आफ्नो भाषण धन्यवादबाट सुरु गरेर दुई पटक धन्यवाद भन्दै अन्त्य गरे।
टिम कुकले भने,ʻअमेरिकामा केही महत्त्वपूर्ण उत्पादन कार्य गर्न सक्ने वातावरण सिर्जना गर्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन चाहन्छु। मलाई लाग्छ यसले तपाईंको सोच र नेतृत्वलाई देखाउँछ। म तपाईंलाई विश्वभरका अमेरिकी कम्पनीहरूलाई सहयोग गर्नुभएकोमा पनि धन्यवाद दिन चाहन्छु। यो धेरै महत्त्वपूर्ण कुरा हो र म तपाईंको सरकारसँग काम गर्न पाउँदा खुसी छु।ʼ
ट्रम्पले एप्पलले अमेरिकामा कति लगानी गरिरहेको छ भनेर सोधेका थिए। यसबारे टिम कुकले एप्पलले अमेरिकामा ६०० अर्ब डलर लगानी गरिरहेको बताए।
मार्क जुकरबर्गले किन माफ गर्नुहोस् भने ?

मेटा प्रमुख मार्क जुकरबर्गले २०२८ सम्ममा अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कम्पनीले एआई र भर्चुअल रियालिटी परियोजनाहरूमा बढी ध्यान केन्द्रित गर्ने बताए।
जुकरबर्गले भने,ʻयहाँ ठूला कम्पनीहरूको समूह छ। यहाँ उपस्थित सबै कम्पनीहरूले देशमा ठूलो लगानी गरिरहेका छन्। डाटा सेन्टरहरू र आवश्यक सुविधाहरू निर्माण गर्न सकियोस्। यसले नयाँ प्रविधिलाई अगाडि बढाउनेछ। मेटाले २०२८ सम्ममा अमेरिकामा कम्तिमा ६०० अर्ब डलर खर्च गर्नेछ।ʼ
यस क्रममा जुकरबर्गले बोलेको माफीले सबैको ध्यान खिचेको छ।
लगानीको उल्लेख गरेको केही समयपछि मार्क जुकरबर्गले राष्ट्रपति ट्रम्पलाई स्पष्टीकरण दिइरहेको देखियो।
मार्क जुकरबर्गले भने,ʻमाफ गर्नुहोस्, म तयार थिइनँ। मलाई थाहा छैन तपाईं कुन संख्या (लगानीसँग सम्बन्धित) सुन्न चाहनुहुन्छ।ʼ
जुकरबर्गले यसो भनेपछि ट्रम्प हाँसेका थिए।
प्रतिक्रिया दिनुहोस !