मुस्ताङको फल्याक र धार्काजुङमा सिँचाइको हाहाकार
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँ सबैभन्दा धेरै स्याउ रोपण र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो।
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँ कृषिको प्रसिद्ध हबको रूपमा लिने गरिन्छ। यहाँको पालिकामा १९ वटा गाउँमध्ये सबैभन्दा धेरै स्याउ रोपण र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ हो। यहाँको उर्वर भूमिका किसानले स्याउ, उवा, फापर, आलु, बोडी, मकै, जौलगायत हरियो ताजा तरकारी उत्पादन गरेर गतिलो आम्दानी गर्छन्।
तर, यतिबेला त्यहाँका दुई गाउँका स्थानीय किसानहरूलाई सिँचाइको समस्या देखिन थालेको छ। जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि र अनुकूल समयमा हिउँ नपर्दा सिँचाइको मुहान बिस्तारै सुक्दै जान थालेपछि वारागुङ मुक्तिक्षेत्र—५ अन्तर्गत धार्काजुङ र फल्याकका किसान निकै चिन्तित देखिएका छन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले पछिल्लो दुई वर्ष मुस्ताङमा हिउँ नपरेकाले यहाँका सिँचाइ मुहान सुक्दै गएकाले यहाँका किसानमा निकै ठूलो समस्या र चुनौती थपिएको बताए। यहाँ बर्सेनि अनुकूल समयमा हिउँ नपरेसम्म यहाँको सिँचाइ समस्या झन्झन् बढ्दै जान भएकाले यहाँका किसानका लागि यो निकै ठूलो चिन्ताको विषय बनेको उल्लेख गरे। ‘यहाँ आकासे वर्षाले सिँचाइको समस्या टर्दैन, पर्याप्त सिँचाइका लागि अनुकूल समय पर्याप्त हिउँ पर्नुपर्ने हुन्छ,’ गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘बढ्दो कार्बन उत्र्सजनले सृजित यहाँको समस्या एकदमै भयावह बन्न सक्ने जोखिम बढेको छ, यहाँ बिस्तारै मुहान सुक्दै गइरहेकाले यहाँको खेतीयोग्य जमिनमा सिँचाइको अभाव देखियो।’
गाउँपालिका अध्यक्ष गुरुङले जलवायु संकटको समस्याले सृजित यहाँको कृषि प्रणालीमा देखिएको चुनौतीहरू समाधान गर्न नयाँ सिँचाइको मुहान पहिचान गर्नुपर्ने अवस्था आएको बताए। अध्यक्ष गुरुङले जलवायु संकटका कारण यहाँको पानीको स्रोत घट्दै गइरहेकाले विगतमा शतप्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ हुने गरेकोमा अहिले दश प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ गर्न समेत धौ धौ भइसकेको बताए।
वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बर्सेनि असार, साउन र भदौ महिनामा उच्च हुने यहाँको लुम्बुक खोलाको पानी सुक्दै जान थालेको बताए। यहाँको फल्याक र धार्काजुङ गाउँमा एक सय घरधुरीको बसोबास रहेको सबैले कृषि पेसा अंगालेको उल्लेख गरे। ‘यहाँको जीविकोपार्जनको माध्यम भनेकै कृषि हो, कृषिका लागि सिँचाइ नभै हुँदैन,’ वडाध्यक्ष गुरुङले भने, ‘यहाँको सिँचाइका लागि लुम्बुक खोलाको पानीनै मुख्य आधार हो, तर, अहिले त अचम्मै भयो, खोलाको पानी बढ्दै जानुपर्नेमा झन्झन् सुक्दै जान थाल्यो।’ वडाध्यक्ष गुरुङले सिँचाइका लागि पर्याप्त पानी चाहिने भए पनि यसरी खोला नै सुक्दै थालेपछि यहाँका किसानले खेतीपाती गरेको व्यर्थ हुने जनाए। वडाध्यक्ष गुरुङले लम्बुक खोलाको पानीबाट फल्याक र धार्काजुङका किसानले आलोपालो सिँचाइ गर्ने गरिएको बताए। वडाध्यक्ष गुरुङले यहाँ अनुकूल समयमा हिउँ नपरेकाले लम्बुक खोलामा स्रोत सुक्दै गइरहेको उल्लेख गरे। उनले यहाँका जलवायु संकटको समस्या समाधान गर्न तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए।
मुस्ताङको फल्याक र धार्काजुङ गाउँका स्थानीय किसान, गाउँ मुखियालगायत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूको टोलीले शनिबार त्यहाँका लुम्बुक खोलाको मुहानको अवलोकन गरेको छ। त्यहाँको लुम्बुक झरनानजिक तीनवटा मुहान रहेपछि सबै मुहानको पानीको स्रोत घट्दै गइरहेको वारागुङ मुक्तिक्षेत्रका उपाध्यक्ष डिकी गुरुङले जानकारी दिए। उनले मुस्ताङमा लगातार तीन वर्षसम्म हिउँ पर्न नसकेकाले यहाँको लुम्बुक खोलाको पानीको स्रोत विगतको भन्दा दुईतिहाइ बढीले सुक्दै गइरहेको उल्लेख गरे।
त्यसो त लुम्बुक खोलामा आंशिक पानीको स्रोत देखिए पनि त्यहाँ खोलाको पानी जमिन मुनिबाट बग्न थालेपछि त्यहाँको फल्याक र धार्काजुङमा सिँचाइको समस्या थप चुनौती बन्दै जान थालेको छ। वारागुङ—५ धार्काजुङका स्थानीय किसान कोन्चोक गुरुङले सिँचाइ मुहान सुक्दै जान थालेपछि जनप्रतिनिधि लिएर मुहानको अवलोकन गरिएको बताए। कृषक गुरुङले मुहान अवलोकन गर्दा विगतका वर्षहरू भन्दा पानीको मात्रा निकै घटेकाले यहाँका दुई गाउँका किसानलाई सिँचाइमा समस्या पर्न थालेको बताए। कृषक गुरुङले यसरी नै बर्सेनि सिँचाइको स्रोत सुक्दै गएमा केही वर्षभित्र यहाँको बस्ती विस्थापित हुने जोखिम रहेको सुनाए।
फल्याक गाउँका स्थानीय राजु गुरुङले यहाँको लम्बुक खोलाको पानीले यहाँको दुई गाउँको सिँचाइ समस्या टरेकोमा पछिल्लो समय सिँचाइमा समस्या देखिन थालेको बताए। उनले मुहान सुक्दै जान थालेपछि यहाँको कृषि प्रणालीलाई अघि बढाउन समस्या सृजना भएको बताए।
मुस्ताङको फल्याक र धार्काजुङ गाउँमा एउँटै किसानले २५ /३० वटा खेतमा सिँचाइ गर्ने गरेकोमा पछिल्लो समय ४/५ वटा खेतमा पनि सिँचाइ उपलब्ध गराउन धौ धौ भइरहेको छ। हिउँदयाममा पर्याप्त हिउँ परेमा त्यही हिउँ पग्लिएर लम्बुक खोलाको पानीको सतह पनि ठूलो हुने स्थानीय बताउँछन्। मुहान स्रोतको अग्ला विशाल पहाड हिउँविहीन भएपछि यहाँ सिँचाइको समस्या र चुनौती थपिएको हो।
मुहान अवलोकनमा पुगेका फल्याक र धार्काजुङका गाउँलेले केही अघि लुम्बुक गुफामा पुगेर सिँचाइको स्रोत बढोस् भन्दै धार्मिक पूजापाठ गरेका थिए। उनीहरूले अवलोकनका क्रममा आफ्ना कुल देउताको समेत पूजाआजा गरेका छन्।
प्रतिक्रिया दिनुहोस !