परदेश जाने नि लुगाफाटो बोक्ने,
बर्खाको बेला नि दर्केको पानी,
जीउको साथी नि काँधै र माथि,
छाता छ छपनी मेरी आमै छाता छ छपनी ।
घरको दुःख नि हटाउन भनी,
हिँडेको म पनि मेरी आमै हिँडेको म पनि ।
आमा छन् रोगी नि बाबा चै जोगी,
साना छन् भाइबैनी मेरी आमै साना छन् भाइबैनी ।
केही कमाइ गरी नि घरमा आई,
पढाउन तिनलाई मेरी आमै पढाउन तिनलाई ।
विदेशै पुगी नि साथी भाइसँग,
कामको खोजीमा मेरी आमै कामको खोजीमा ।
विदेशको कमाइ नि हातमा समाइ,
लिआए गोजीमा मेरी आमै लिआए गोजीमा ।
हर्षका आँसु नि बगाउँदै आमा,
आशीर्वाद दिन्छिन् नि मेरी आमै आशीर्वाद दिन्छिन् नि ।
सन्तानको पौरख देखेर आमा,
खुसी भै हिँड्छिन् नि मेरी आमै खुसी भै हिँड्छिन् ।
प्रतिक्रिया दिनुहोस !