election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सुदूरका मुख्यमन्त्रीको काम निवासबाटै, प्रदेशसभाको छैन टुंगो

उठ्ने तरखर गर्दै सुदूर सरकार

उठ्ने तरखर गर्दै सुदूर सरकार

जेन–जी आन्दोलनले अधिकांश भौतिक संरचना ध्वस्त भएपछि खरानीबाट उठ्ने प्रयास गर्दैछ, सुदूरपश्चिम सरकार। संरचनागत हिसाबमा सुदूरपश्चिम प्रदेशमा पनि निकै नै ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय ध्वस्त छन्। प्रदेशसभा भवन ध्वस्त छ। रातो स्टिकर लगाइएका भवनबाटै केही मन्त्रालयले काम त सुरु गरेका छन्, तर जोखिम पनि उस्तै छ।

धनगढी : जेन–जीले भदौ २३ र २४ गते गरेको आन्दोलनमा अराजक समूहको घुसपैठले सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालय, प्रदेशसभालगायतका थुप्रै मन्त्रालयहरूमा आगो लगायो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय ध्वस्त भए। प्रदेशसभा भवन पनि ध्वस्त भयो। दर्जनौं सवारी साधन जलेर खरानी भए। महत्वपूर्ण दस्तावेज र कागजात जलेका कारण सरकारी निकायलाई तीव्र गतिमा सेवा दिन सहज छैन। 

मुख्यमन्त्री कार्यालय र प्रदेशसभामा बढी क्षति

सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेशसभा सचिवालयमा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सबै सवारीसाधन जलाइएका छन्। मुख्यमन्त्रीले चढ्ने अढाई करोडको गाडीसहितका ७ वटा जिप जलेका छन्। १३ वटा सरकारी मोटरसाइकल ध्वस्त बने। मुख्यमन्त्रीको कार्यकक्ष, क्याबिनेट बस्ने हलसहितका अधिकांश संरचना जलेर ध्वस्त भएका छन्। 
निवासको सभाहललाई प्रयोग गरेर मुख्यमन्त्रीले बैठक गरिरहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सबै साजसज्जा जलेर खरानी भएकाले अहिले उक्त कार्यालय सञ्चालनको सम्भावना छैन। कर्मचारी र केही जेन–जी युवाहरू मिलेर एक हप्तासम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भित्री र बाहिरी भागको सरसफाइ गरेका थिए। तीनतले भवनको अधिकांश स्थानमा प्लास्टर नै चर्किएपछि भवनको मर्मतपछि मात्रै बस्न मिल्ने देखिएको छ। null

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चौथो तलामा कम क्षति भएकाले अहिले त्यहाँबाट सामान्य सेवा सुुरु गरिएको छ। ‘कार्यालयको चौथो तल्लामा केही रंगरोगन गरेर काम सुरु गरेका छौं। मुख्यसचिवसमेत सँगै बसेर काम भइरहेको छ। कार्यकक्षहरू बनाउन समय लाग्ने भएकाले चौथो तल्लाबाट सेवा सुरु गरिएको छ’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले भने।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कुनै पनि ल्यापटप, कम्प्युटर, सोफा, एसी सद्दे छैनन्। सबै जलेर ध्वस्त भएपछि केही सामान किनेर काम सुरु गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। मुख्यमन्त्रीले चढ्ने गाडीमा आगो लगाइएपछि उनले अहिले मातहतका कार्यालयहरूको स्कारपियो गाडी मागेर चढिरहेका छन्। प्रदेश सरकारसँग तीनवटा महँगा गाडी थिए। मुख्यमन्त्रीले चढ्ने गाडी, भौतिक पूर्वाधारमन्त्रीले चढ्ने ल्यान्डक्रुजर गाडीहरू आन्दोलनका क्रममा जलेर ध्वस्त भएका छन्। आन्तरिक मामिला मन्त्रालयमा रहेको अर्को महँगो गाडी तत्कालीनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा क्षतिग्रस्त भएको थियो।प्रदेशसभा भवनमा पनि केही बाँकी छैन। 

प्रदेशसभा भवनभित्रका कुर्सी, माइक, क्यामेरा, प्रत्यक्ष प्रसारणका लागि राखिएका ४ वटा भिडियो क्यामेरालगायतका उपकरणहरू जलेर ध्वस्त भएका छन्। संसदीय समिति, दलका कार्यालयहरू पनि जलेर ध्वस्त भएपछि प्रदेशसभा सचिवालय सुनसान देखिएको छ। ‘धेरै कुरा मर्मत गर्नुपर्ने र केही नयाँ ल्याएपछि मात्रै प्रदेशसभा बैठक बसाउन सकिन्छ। अहिले केही पनि बाँकी रहेन। प्रदेशसभाको बैठक कहिले हुन्छ भन्ने टुंगो छैन। यस्तो अवस्थामा प्रदेशसभा बैठकका लागि केही सोचिएकै छैन’, सभामुख भीमबहादुर भण्डारीले भने। 

प्रदेशसभाका पनि ७ वटा गाडी आन्दोलनकारीले जलाएपछि सभामुख पनि साधनविहीन भएका छन्। प्रदेशसभामा रहेको मिनीबस पनि जलाइएको छ। प्रदेशसभाको साउन्डसिस्टम पूरै जलेर नष्ट भएको छ। दलका कार्यालयहरू जलेकाले दलका बैठकहरू पनि बाहिर हुन थालेका छन्। नेपाली कांग्रेस, नेकपा एमालेलगायतले दलको कार्यालय जलेपछि बैठक बाहिर नै गरेको थिए। आर्थिक मामिला र पूर्वाधार विकास मन्त्रालयमा रातो स्टिकर
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका भवन बस्न नमिल्ने गरी ध्वस्त भएका छन्।

भौतिक पूर्वाधार मन्त्रालय मातहतको प्राविधिकको टोलीले दुवै मन्त्रालयको भवनमा रातो स्टिकर टाँसेको छ। ‘बस्न नसकिने भनिए पनि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक पूर्वाधार मन्त्रालयले तेस्रो तल्लामा केही कम्प्युटर र प्रिन्टर राखेर कामकाज सुरु गरेको छ’, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जोशीले भने।

दुवै मन्त्रालयका भवनहरू पुराना डिजाइनका हुन्। तत्कालीन सिँचाइ डिभिजनका भवनहरूमा आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालय राखिएको थियो। दुवै मन्त्रालयका सवारीसाधन पनि आन्दोलनकारीले जलाएर खरानी बनाइदिएका छन्। आर्थिक मामिला मन्त्रीबहादुर सिंह थापा बस्ने नयाँ भवन पूरै ध्वस्त भएको छ। त्यहाँका पिलरहरूको प्लास्टरमा लामो समयसम्म आगो रहेकाले प्लास्टर उप्किएको छ। त्यसैले पनि त्यहाँ रातो स्टिकर लगाइएको हो। त्यो भवन भने नयाँ बनाइएको थियो।

भूमि व्यवस्था कृषि तथा सहकारी र सामाजिकमा कम क्षति
सबैभन्दा कम क्षति सामाजिक विकास मन्त्रालयमा भएको छ। मन्त्रालयको भुइँतलामा मात्रै क्षति भएको छ। तर, सामाजिक विकास मन्त्रालयको बाहिर पार्किङ गरिएका सबै गाडीहरू भने आगो लगाएर ध्वस्त पारिएका छन्। सामाविक विकास मन्त्रालयका तीनवटा चारपांग्रे गाडी जलेर ध्वस्त भएका छन् भने १७ वटा मोटरसाइकल जलाइएका छन्। भुइँतलाको ढोका तोडेर लेखा, शिक्षालगायतका शाखाहरूबाट ल्यापटप र कम्प्युटरहरू चोरी गरिएका थिए। सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले मन्त्रालयको कामकाज भने सुचारु भइसकेको बताए।

‘हामीले मन्त्रालयमा बाँकी रहेका उपकरणहरू प्रयोग गरेर सेवा सुचारु गरिसकेका छौं। तर, सवारी साधानहरू केही पनि बचेनन्। आवागमनमा अलि अप्ठेरो भएको छ। कार्यालयका धेरैजसो कागजपत्रहरू बाहिर निकालेर आगो लगाइएका छन्’, उनले भने। उनले अरू मन्त्रालयको तुलनामा सामाजिक विकास मन्त्रालयमा कम क्षति भएको बताए। 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि अरू मन्त्रालयको तुलनामा कम क्षति भएको छ। भौतिक संरचना (भवन) बाहेक यसले प्रारम्भीक तथ्यांकका आधारमा ४ करोड बराबरको क्षति भएको जनाएको छ। मन्त्रालयका ६ वटा चारपांग्रे सवारीसाधन जलाइएका छन् भने ७ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। २४ ल्यापटप, १४ वटा डेस्कटप, कागजात, सोफासहितका सामानमा अगजनी गरिएको छ। 

‘मन्त्रालय र मन्त्रीको आवासमा करिब ४ करोड बराबरको क्षति भएको छ। यो प्रारम्भिक अनुमान हो। अझै विस्तृत रूपमा क्षतिको विवरण तपार पारिँदैछ। तर, पनि हामीले कम क्षति भएका कक्षहरूमा रंगरोगन गरेर काम सञ्चालन गर्न थालिसकेका छौं’, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले भने। 

आन्तरिक मामिला मन्त्रीको कार्यकक्षमा क्षति 
आन्तरिक मामिला मन्त्रालयका तीनवटा गाडी जलाइएका छन्। तर, त्यहाँ मन्त्रीको कार्यकक्ष बाहेकका कार्यकक्षमा भने खासै क्षति भएन। मन्त्रीको कार्यकक्ष जलेकाले मन्त्री हिरा सार्की निवासबाट काममा फर्किएका छन् भने अरू कर्मचारी कार्यालय आउन थालेका छन्। 

पुरानो जिल्ला कृषि कार्यालयको भवनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय बनाइएको थियो। भवन पुराना भए पनि अगलागी बढी नभएकाले भवनमा भने खासै क्षति नभएको मन्त्री सार्कीका स्वकीय सचिव केशव चन्दले बताए। उनले राजपत्र प्रकाशित गर्ने मेसिनमा पनि आगजनी गरिएकोमा उक्त मेसिन भने जोगिएको बताए। 
‘राजपत्र छाप्ने अफसेट मेसिनमा पनि आगजनी गरिएको थियो तर त्यो खासै जलेन। मन्त्रीको कार्यकक्ष बाहेकका कोठाहरूमा खासै क्षति भएन। कम्प्युटरहरू तोडफोड मात्रै भए। इलेक्ट्रिक हाजिर मेसिन जलाइएकाले अहिले लिखित हाजिर सुरु गरेका छौं’, उनले भने।

लोकसेवा र प्रदेश नीति तथा योजना आयोगमा पनि क्षति

आन्दोलनकारीहरूले प्रदेश लोकसेवा कार्यालयमा पनि तोडफोड गरेका थिए। लोकसेवाको घर भाडामा भएकाले उनीहरूले त्यहाँ आगजनी भने गरेनन्। तर, त्यहाँका महत्वपूर्ण काजगपत्र भने जलाएका थिए। 
यसअघि सञ्चालन गरिएका परीक्षाका उत्तरपुस्तीकाहरू राखिएका थैलीहरू जलाइएका छन् भने कार्यालयमा राखिएका २ लाख रकम पनि लुटिएको छ। कार्यालयको सामानमा तोडफोड गरिए पनि सेवा सुचार गरिएको लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले जानकारी दिए।

प्रदेश नीति तथा योजना आयोगको परिषद्का ४ वटा सवारीसाधनमा तोडफोड गरिएको छ। प्रदेश नीति तथा योजना आयोग पनि भाडाका घरमा भएकाले त्यहाँ आगो भने लगाइएन। तर, कार्यालयभित्रका आवश्यक काजपत्र, कम्प्युटरसहितका आवश्यक सामानहरू भने बाहिर निकालेर जलाइदिएका छन्। ‘सामान्य रूपमा कार्यालयको कामकाज सुरु गरेका छौं। उपकरणहरूमा क्षति भएको छ’, प्रदेश नीति तथा योजना आयोगका सचिव गणेशबहादुर सिंहले भने।

राष्ट्रिय परिचयपत्र र राहदानीको काम बन्द
आन्दोलनकारीहरूले प्रदेश सरकारका मात्रै होइन, संघीय सरकार मातहतका सरकारी कार्यालयहरूमा पनि आगजनी र तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी गरिएपछि अहिले राहदानी र राष्ट्रिय परिचयपत्रको काम बन्द भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राष्ट्रिय परिचयपत्र फाँटको भवन आगजनी पछि पूरै भत्किएको र उपकरणहरू सबै तोडफोड र आगजनी भएकाले सेवा ठप्प रहेको बताए। 

जिल्ला प्रशासन कार्यालय कैलालीको नयाँ भवन बनेपछि उसले राष्ट्रिय परिचयपत्र बनाउने कार्यका लागि आफ्नो पुरानो भवन दिएको थियो। ऐतिहासिक पुरानो भवनमा आगजनी गरिएपछि उक्त भवन भत्किएर खण्डहर भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले २ लाख सेवाग्राहीका तयार भएर आएका राष्ट्रिय परिचयपत्रका कार्डहरू जलेर नष्ट भएको बताएको छ।

‘२ लाख जनाका तयारी अवस्थामा वितरणका लागि राखिएका परिचयपत्रहरू जलेर नष्ट भएका छन्। अब ती परिचयपत्र कहिले सिस्टमले नयाँ बनाउला र प्रीन्ट भएर आउलान केही भन्न सकिने अवस्था छैन। त्यसै त ढिलो गरी आउने हुन्थ्यो, अब जलेपछि त्यसको ब्यकअप पनि छ की छैन, केन्द्रसँग समन्वय भइरहेको छ। धनगढीबाट राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा बन्द भएको छ’, सूचना अधिकारी जोशीले भने। 

उनले राष्ट्रिय परिचयपत्र राहदानीको काम इलाका प्रशासन कार्यालय टीकापुर र सुखडबाट भने भइरहेको बताए। ‘यताको सिस्टममा समस्या भयो, भवन पनि भत्कियो, तर छिटो बनाउन चाहने नागरिकले टीकापुर वा सुखड जान अनुरोध गरिरहेका छौं’, उनले भने। तर, जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकताको सेवा भने सुचारु भइसकेको जनाएको छ। 

प्रदेशसभा कक्ष ध्वस्त छ। माइक छैनन्। सांसदलाई बस्ने कुर्सी छैनन्। सभा बैठकको सबै साजसज्जा जलेर खरानी भएको छ। त्यसैले प्रदेशसभाको बैठक बस्ने कुनै टुंगो छैन।
भीमबहादुर भण्डारी - सभामुख, सुदूरपश्चिम प्रदेशसभा

मन्त्रालय र मन्त्रीको आवासमा करिब ४ करोड बराबरको क्षति भएको छ। यो प्रारम्भिक अनुमान हो। अझै विस्तृत रूपमा क्षतिको विवरण तयार पारिँदैछ। तर, पनि हामीले कम क्षति भएका कक्षहरूमा रंगरोगन गरेर काम सञ्चालन गर्न थालिसकेका छौं।
वीरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, सुदूरपश्चिम प्रदेश 

प्राविधिकहरूले बस्न नमिल्ने भनेपछि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको जलेको भवनमा रातो स्टिकर टाँसिएका छन्। तर, पनि भौतिक पूर्वाधार मन्त्रालयले भने तेस्रो तल्लामा केही कम्प्युटर र प्रिन्टर राखेर कामकाज सुरु गरिरहेको छ। 
जगदीश जोशी, सूचना अधिकारी - मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम

२ लाख सेवाग्राहीलाई वितरणका लागि राखिएका राष्ट्रिय परिचयपत्रका कार्डहरू जलेर नष्ट भएका छन्। अब ती परिचयपत्र कहिले सिस्टमले नयाँ बनाउला र प्रिन्ट भएर आउलान् ? केही भन्न सकिने अवस्था छैन। आजगनी भएका कारण धनगढीबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण सेवा बन्द भएको छ।
शिवराज जोशी - सूचना अधिकारी, जिल्ला प्रशासन कार्यालय कैलाली

nullपूर्णिमासम्म सबै मन्त्रालयको काम सुरु हुन्छ : मुख्यमन्त्री
कमलबहादुर शाह - मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश

प्रदेश मन्त्रालयका संरचना सबै ध्वस्त भएका छन्, कहिलेदेखि कामकाज सञ्चालन हुन्छ
कामकाज त सबै मन्त्रालयहरूले सञ्चालन गरिसकेका छन्। आगजनीबाट जोगिएका कक्षहरूमा सेवा सुचारु भइसकेका छन्। केही मन्त्रालयहरूमा रंगरोगन गरेर कामकाज सुचारु गरिएको छ भने केहीमा काम भइरहेको छ। मैले २७ गते नै सबै सचिवहरूलाई बोलाएर छिटो कामकाज सञ्चालनको निर्देशन दिएको थिएँ। सबैले मर्मत, रंगरोगन गरेर कामकाज पनि सुरु भइसकेको छ।

भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालयमा त रातो स्टिकर नै लगाएको छ नि ? 
– हो, प्रदेश सरकारले जलेका भवनहरूको अवस्थाका बारेमा प्राविधिक टोली बनाएको थियो। त्यसले भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय बस्न नमिल्ने भनेर रातो स्टिकर लगाइएको छ। दुवै भवन पुराना हुन्। दुवै मन्त्रालयका लागि नयाँ सरकारी भवनको खोजी भइरहेको छ। null
अहिलेका लागि आर्थिक मामिला मन्त्रालयले आफ्नो नयाँ भवनको सभाकक्षमा कार्यालय सञ्चालन गरिरहेको छ भने पूर्वाधार मन्त्रालयका लागि नजिकै रहेको पथरैया सिँचाइ आयोजनाको भवन लिएका छौं। त्यहाँबाट पूर्वाधार मन्त्रालयको पनि काम सुरु भइसकेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि क्षतिग्रस्त छ नि ? 
हो, सबै मन्त्रालयहरूमा क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि धेरै बढी क्षति भएको छ। मुख्यमन्त्रीको काम म निवासबाटै गरिरहेको छु। कार्यालयको काम कम क्षति भएको चौथो तलाबाट सुरु भएको छ। मुख्यसचिव, सचिव र कर्मचारीहरू एउटै हलमा कामकाजमा लागेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको मर्मत र रंगरोगनको काम भइरहेको छ। पूर्णिमाको दिनसम्म सकेर कामकाज सुरु हुन्छ।

क्याबिनेट बैठक कता भइरहेको छ ? 
आन्दोलनपछि क्याबिनेट बैठक बसेकै छैन। भोलि शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्छ। त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चौथो तल्लाको हललाई सरसफाइ गरिएको छ। मन्त्रिपरिषद्को बैठक बाहिर राख्न मिलेन। त्यसैले चौथो तल्लाको हललाई बस्न लायक बनाइएको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूरै जलेर ध्वस्त भएको छ। अरू बैठकहरू कता भइरहेका छन् ? 
निवासमा एउटा सानो हल छ। त्यसमा भइरहेका छन्। राजनीतिक दलका बैठकहरू, प्रदेशका सेवा सुचारु गर्नका लागि सुरक्षा लगायतका अरू बैठकहरू त्यही हलबाट भइरहेका छन्। 

प्रदेश सरकारका संरचनाहरूमा कति मूल्यको क्षति भयो त ? 
त्यसको पूरै विवरण आएको छैन। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मात्रै प्रारम्भीक रूपमा निकालिएको तथ्यांकका आधारमा झन्डै १० करोडको क्षति भएको छ। मैले सबै मन्त्रालयका सचिवहरूलाई क्षतिको विवरण बनाउन पनि भनिसकेको छु। केही दिनमा सबै विस्तृतमा आउला।

मुख्यमन्त्रीको गाडी पनि जलाइयो, कसरी काम गरिरहनुभएको छ ? 
अहिले हामीले एउटा समिति बनाएका छौं। मातहतका कार्यालयहरूमा कति गाडी छन् ? कसले चढिरहेका छन् ? कसलाई आवश्यक छ ? त्यसको प्रतिवेदन आएपछि गाडीहरूको पनि ब्यवस्थापन गरिन्छ। हामीले नयाँ गाडी नकिन्ने भनेका छौं। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.