सेतो एप्रोनमा सजिएर
हतास आफूलाई एकाग्र बनाउँछु।
जब मलाई आभास हुन्छ
अस्पताल शैयामा फैलिएको कोलाहल
पीडा, रोदन र क्रन्दनहरू
मेरो औपचारिकता मात्रैले पनि
साँघुरिन्छन् बिरामीका पीडाहरू।
सरल स्वाभावको खुला परिचय
‘सेवा नै धर्म हो’मा समेट्न सकें भने
म बग्नुको औचित्य देखिनेछ।
नाइटिङ्गेलको पुज्य आभा
आफूमा समाहित गर्न सके
म र मेरो बर्दीको बिगुल फुकिनेछ।
म स्पष्ट छु,
हरेक बिरामीले पाउनेछन्
मीठो स्नेहभरी औषधिहरू
समयको सीमारेखाभित्र।
म सजग छु
मैले तर्ने नदीहरूमा
तर्दैगर्दा आउने छालहरूमा
त्यसैले त दिन्छन् नि
एउटा कुशल माझीको परिचय।
तरंग मिश्रित छालहरूले दिन्छन्
अलिकति हलचल कहिलेकाहीँ
तर समयसँगै मत्थर हुनेछन्
आफन्तीय क्रोधका क्षणिक आवेगहरू।
क्लान्त मुहारमा खुसी प्रवाह गर्दै
रोगले फिजाएको जराहरूमा
स्नेहको लेप लगाइरहँदा
जब ऊ पीडालाई जितेर
मुसुक्क मुस्कुराने छ
हो त्यो बेला
बिरामीको ओठमा म आफैं
गुलाफजस्तै फक्रने छु
अनि, त्यही फूलमाथि झरेको
बिहानीको शीतजस्तो
टलक्क टल्कनेछु।
- कीर्ति रिमाल (२३)। मनमैजु, काठमाडौं
प्रतिक्रिया दिनुहोस !