एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन ५० जना सदस्यले धारणा राखेका छन्।
बुधबारबाट ललितपुरमा सुरु बैठकको पहिलो दिन अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति विषयक विशेष प्रस्तावमाथि ५० जना सदस्यले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
धारणा राख्ने सदस्यहरूले जेनजी आन्दोलनका क्रममा भएका घटना, अन्तरिम सरकार गठनको प्रक्रियाका साथै संसद् विघटनका विषयमा आवश्यक सुझाव आएको उनले बताए।
त्यसैगरी नयाँ सरकार गठनका समयमा निवर्तमान प्रधानमन्त्री ओलीले दिएको सुझावलाई तोडमोड गरिएको लगाएत धारणा आएको गौतमले बताए। सदस्यहरूलाई धारणा राख्नका लागि तीन मिनेटको समय दिइएको र लिखित सुझाव राख्न सक्ने व्यवस्था समेत गरिएको उनले जानकारी दिए।
करिब ३६० सदस्यमध्ये ५० जनाले धारणा राखेकाले केन्द्रीय कमिटीको बैठक केही दिन चल्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। बैठक बिहीबार बिहान ८ बजे पुनः बस्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !