election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अस्ट्रेलियामा फैलिँदो महादेव महिमा

अस्ट्रेलियामा फैलिँदो महादेव महिमा

तत्कालीन राजा वीरेन्द्रको अनुमतिमा पशुपतिनाथबाट ज्योतिर्लिंग ल्याइएको थियो

सिड्नी (अस्ट्रेलिया) : सूचना प्रविधिको अध्ययनका लागि साउथ कोरिया पुगेका कैलालीका धीरज न्यौपानेले तीन वर्षको बसाइमा त्यहाँ हिन्दू धर्मका आराध्यदेव महादेव शिवको मन्दिर कतै देखेनन्। तर, एक दिन भगवान् श्रीकृष्णको मन्दिर भेटिएपछि दर्शन गरे। यद्यपि, उनी स्वयं महादेवका अनन्य भक्त थिए।

हाल उनी अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित डिकिन विश्वविद्यालयमा सूचना प्रविधि विषयमै पीएचडी गर्दै छन्। केही दिनअघि न्यू साउथ वेल्स राज्यको सिड्नी आइपुगेका उनले एक अद्भुत रहस्य थाहा पाए। हिमालय पर्वतको काखमा रहेको नेपाललाई समुद्रपारिको अस्ट्रेलियासँग महादेवका माध्यमबाट आध्यात्मिक रूपमा जोड्ने प्रयास भइसकेको रहेछ। ‘सुन्दा  मेरो त  धैर्यको सीमा नै रहेन,’ आश्चर्य मान्दै धीरजले भने, ‘तुरुन्तै कार लिएर शिवगुफा खोज्दै मिन्टो पुगेँ, र अन्ततः मुक्ति–गुप्तेश्वर महादेवको दर्शन गर्ने सौभाग्य मिल्यो।’ 

सिड्नी सहरबाट ३५ किलोमिटर दक्षिण–पश्चिमस्थित मिन्टो उपनगरमा रहेको मुक्ति–गुप्तेश्वर शिवमन्दिर अस्ट्रेलियामा भूमिगत शैलीमा निर्माण गरिएको एक मात्र मानव–निर्मित शिव मन्दिर हो। ‘यो गुफा मात्र हैन। यसलाई त आत्माको निवास स्थलको प्रतीक मान्न सकिन्छ। यस्तो  ठाउँमा  गरिने ध्यान–साधनाले विश्वमा ज्ञानको प्रकाश फैलाउन सहयोग पनि पुर्‍याउँछ। मैले जे खोजेको थिएँ, त्यही भेटेँ’, उनले थपे। 

मानव–निर्मित भूमिगत शिव मन्दिरले हिन्दू धर्मको पवित्रता, गहन आध्यात्मिकता र सांस्कृतिक सम्पदालाई आधुनिक विश्वमा प्रस्तुत गर्न सघाएको छ । त्यहाँ पुग्नेहरू धेरैजसो नेपालबाट उच्च शिक्षा र रोजगारीका लागि आएकाहरू सँगै उनीहरूलाई भेट्न आउने आफन्तहरू पनि। भारतीयहरू पनि ठूलो संख्यामा पुग्छन्।

मन्दिरको निर्माण सन् १९९७ मा सुरु भई १४ फेब्रुअरी १९९९, महाशिवरात्रिका दिन सम्पन्न भएको हो। मुख्य शिवलिंग नेपालका तत्कालीन राजा वीरेन्द्रको अनुमति लिएर पशुपतिनाथ मन्दिरबाट ल्याइएको हो। जसले यस मन्दिरलाई सांस्कृतिक रूपमा ऐतिहासिक बनाएको छ।

मन्दिर सञ्चालक प्रेम मिश्राका अनुसार, योगी नरहरीनाथसँगको परामर्शपछि शिवलिंग स्थापना गरिएको थियो। उनले शास्त्रमा उल्लेख भएअनुसार अन्तिम ज्योतिर्लिंग पृथ्वीको दक्षिणी भागमा स्थापना हुनुपर्ने संकेत थियो, त्यसैले अस्ट्रेलिया रोजिएको बताए।
मिश्र भारतको काशीका बासिन्दा हुन्। उनी १९६९ मा यहाँ आएका थिए। ‘मेरी पत्नी नेपाली हुन्। उनकै माध्यमबाट योगी नरहरीनाथ संग सम्पर्क भयो। उहाँहरू अन्तिम ज्योतिर्लिंग स्थापना सम्बन्धी अनुसन्धान गर्दै हुनुहुन्थ्यो’ अध्यक्ष मिश्राले भने, ‘उहाँहरूको ठूलो इच्छा थियो कि अन्तिम ज्योतिर्लिंग यहीँ स्थापना होस्। त्यसैले यहाँ स्थापना गरियो।’ 

महासागरीय क्षेत्रमा ज्योतिर्लिंग स्थापना गर्नुको मुख्य उद्देश्य नेपाल र हिमालय पर्वतलाई धर्मका आधारमा जोड्नु हो। किनभने नेपालीको छिमेकी चीनमा  महादेवको अर्को बास्थान कैलाल मान सरोवर पनि छ। त्यहाँदेखि अस्ट्रेलियासम्मको धार्मिक तथा आध्यात्मिक मार्ग जोड्न यहाँको ज्योतिर्लिंगले सघाएको  पनि छ । यस्तो मार्ग कोर्न योगी नरहरीनाथ सिड्नी आएर  करिब एक महिना बसेर मन्दिर निर्माण र योजनासम्बन्धी जानकारी लिएका थिए।   

नेपाल, पशुपतिनाथ, राजा वीरेन्द्र र हिन्दू धर्मलाई जोड्ने गरी ज्योतिर्लिंग स्थापना गरिएको रहस्य थाहा पाएपछि  मन्दिर क्षेत्रको अवलोकन गर्न पुगेका  रवीन्द्र लम्साल पनि निकै उत्साहित देखिए। तत्काल दुई हात जोड्दै  महादेवको  दर्शन पनि गरे। ‘त्यो बेला राजा वीरेन्द्रले शिवलिंग अर्थात् ज्योर्तिलिंग प्रदान गर्नुको मुख्य कारण  भविष्यमा नेपाल–अस्ट्रेलिया सम्बन्ध अध्यात्म, पर्यटन र सांस्कृतिक सञ्जालको नयाँ युगमा प्रवेश गर्न सकोस भन्ने हुनुपर्छ’ न्यू साउथ बेल्स विश्व विद्यालय सिड्नीबाट  सूचना प्रविधि विषयमा पीएचडी  गरेका लम्सालले थप व्याख्या गर्दै भने, ‘यो  केवल एउटा मूर्ति होइन। दुई देशबीचको सम्बन्धको आधारशीला पनि हो।’

उनले अस्ट्रेलियाको अति व्यस्त सहरी क्षेत्रमा नेपालबाट ल्याइएका शिवको ज्यार्तिलिगले शान्त, पवित्र र आध्यात्मिक वातावरण प्रदान गरेको बताए। लम्सालले  भने, ‘यहाँ हिन्दू धर्मप्रति आस्था राख्नेहरूले मुक्ति र शान्तिको अनुभव गर्न सक्छन्।’ 
 ज्योतिर्लिंगको उद्घाटन गर्न राजा वीरेन्द्रलाई आमन्त्रण गरिएको थियो। तर, प्रोटोगल नमिलेपछि  वीरेन्द्रले युवराज दीपेन्द्रलाई पठाएका थिए।  

‘दीपेन्द्र आएको खबर थाहा पाएपछि  ठूलो संख्यामा नेपालीहरू घुइँचो लागेको थियो’  मन्दिर सञ्चालक मिश्राले भने, ‘जबकी हामीले प्रचार–प्रसार गरेकै थिएनांै। तर, धेरै नेपाली आए।’ यो माध्यमबाट पनि नेपालीहरू विश्वका विभिन्न भागहरूमा आफ्नो आध्यात्मिक, धार्मिक र ऐतिहासिक सम्पदा फैलाउन सक्षम छन् भन्ने सन्देश गएको  उनी बताउँछन्। 
त्यति मात्र हैन अस्ट्रेलियाली पर्यटकहरूलाई नेपालको धरोहरस्थल पशुपतिनाथ र  मुक्तिनाथतर्फ आकर्षण गर्न मार्ग खुला गरेको छ। पर्यटन बोर्डले चाह्यो भने धार्मिक पर्यटनको सञ्जाल विस्तार गर्ने  माध्यम बनाउँदै  अस्ट्रेलियाबाट भक्तजनहरू नेपाल भ्रमणमा लान सक्छ।

धार्मिक सम्पदा राजकीय तहबाट प्रदान गरिएकाले मन्दिरलाइ कतिपयले त नेपाल–अस्ट्रेलिया सम्बन्धको कूटनीतिक दस्तावेजको एक अद्वितीय अध्यायसमेत भन्न चुकेका छैनन्। अस्ट्रेलिया आएका नेपाली समुदायलाई पशुपतिबाट ल्याइएको शिव लिंग सांस्कृतिक आत्म पहिचानको एउटा आधार पनि बनेको छ। वारिंगाल क्षेत्रका फेडरल सदस्य टोनी एबटले मुक्ति–गुप्तेश्वर शिव धर्मको महाशास्त्र भन्दै लेखेका छन, ‘शिव मन्दिरको शुभारम्भले हाम्रो संस्कृति समृद्ध पारेको छ। राष्ट्रिय कथामा वीरतापूर्ण आयाम थपेको छ।’ उनले सन् १७८८ देखि विभिन्न देशहरूबाट नयाँ बसोबासीहरू आउने लहर सँगै अस्ट्रेलियामा  हिन्दूहरूले पुर्‍याएको योगदान सम्मान योग्य भएको बताएका छन्।

न्युसाउथ वेल्सकी तत्कालीन गभर्नर तथा प्रोफेसर मारी आर बशिरले पनि मुक्ति–गुप्तेश्वर शिवको  मन्दिर निर्माणलाई  नागरिक अधिकारको सम्मानकोे रूपमा लिएको  बताएकी छन्। प्रोफेसर मारीले मन्दिर सञ्चालकलाई  पठाएको बधाई  सन्देशमा भनेकी छन्, ‘अस्ट्रेलिया विभिन्न धर्महरूको आश्रयस्थल हो। जहाँ संसारका प्रमुख धर्महरू सबै समेटिएका छन्। अस्ट्रेलिया यस्तो राष्ट्रका रूपमा विकसित भएको छ, जसले विविधतालाई महत्व दिन्छ।’ उनले मुक्ति–गुप्तेश्वर मन्दिर जस्ता धार्मिक संस्थाहरूले अस्ट्रेलियाली समाजको समग्र कल्याणमा महत्वपूर्ण योगदान पुर्‍याएको ठानेकी छन्। 

शिवपुराणमा गरिएको वर्णनअनुसार, ज्योतिर्लिंग अण्डाकार आकारको छ। यसलाई ध्यानपूर्वक हेर्ने हो भने,  शिबलिंग नन्दीको पृष्ठमा स्थापित भएको जस्तो देखिन्छ। जर्मनीको पुरातत्व विभागको संरक्षणमा डा.डाइट्रिच स्टेडिङद्वारा गरिएको कार्बन परीक्षण अनुसार, लिंगको उमेर करिब ३५ करोड बर्ष (३ सयदेखि ३ सय ५० मिलियन वर्ष) पुरानो भएको पाइएको छ। सृष्टिको एक प्रलय–चक्रको अवधिसमेत लगभग त्यति नै वर्षको मानिन्छ। यसरी हेर्दा यो ज्योतिर्लिंग सृष्टिको आरम्भकालीन अवशेष भएको देखिन्छ।

इतिहास र स्थापना
मन्दिरको निर्माण कार्य सन् १९९७ मा सुरु भयो। १४ फेब्रुअरी १९९९, महाशिवरात्रिका दिन  सम्पन्न गरियो। मन्दिरको मुख्य शिवलिंग  पशुपतिमन्दिरबाट ल्याएकाले ऐतिहासिक ठानिएको छ। जसले मन्दिरको सांस्कृतिक अन्तर सम्बन्धलाई झल्काउँछ।

वास्तुकला र संरचना
मन्दिर  भूमिगत गुफा शैलीमा निर्माण गरिएको छ।  जुन लगभग १४ सय ५० वर्ग मिटरमा फैलिएको छ। प्रमुख विशेषता पनि छन्। १० मिटर गहिरो पवित्र गर्भगृह छ। १२ ज्योतिर्लिंगहरूको प्रतिरूप, १०८ रुद्र शिवलिंगहरू, १ हजार ८ सहस्त्र नाम शिवलिंगहरू, तथा विश्वभरबाट संकलित ८१ नदी र ५ महासागरको जल समावेश गरिएको छ।

धार्मिक महत्व र गतिविधि
मुक्ति–गुप्तेश्वर मन्दिरमा दैनिक पूजा, अभिषेक, आरती, र विशेष पर्वहरू—विशेषगरी महाशिवरात्रिको अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ। यहाँ विश्वभरबाट भक्तजनहरू पुग्ने गर्छन्,। जसले यो मन्दिरलाई अस्ट्रेलियामा बसोबास गर्ने हिन्दू समुदायको महत्वपूर्ण आध्यात्मिक केन्द्र बनाएको छ। मुक्ति–गुप्तेश्वर मन्दिर केवल एक धार्मिक स्थल मात्र नभई यो हिन्दू दर्शन, सांस्कृतिक सम्पदा र आध्यात्मिक खोजको प्रतीक हो।

सांस्कृतिक  र कूटनीति
राजाबाट दिइएको शिवलिंग नेपाल सरकारको तर्फबाट अस्ट्रेलियामा एउटा धार्मिक–सांस्कृतिक चिनो हो। यो सांस्कृतिक कूटनीतिको उत्कृष्ट उदाहरण हो, जसले नेपाललाई विश्वमाझ धार्मिक सहिष्णुता र संस्कृति सञ्जाल फैलाउने देशका रूपमा प्रस्तुत गर्छ। अस्ट्रेलियामा बस्ने नेपाली र भारतीय समुदायहरूले यो मन्दिरलाई साझा आस्थाको केन्द्र बनाएका छन्। जसले द्विपक्षीय जनस्तरीय सम्बन्ध बढाउन सहयोग पुर्‍याएको छ।

नेपाल–अस्ट्रेलिया सम्बन्धमा ऐतिहासिक योगदान
नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध ऐतिहासिक रूपमा मैत्रीपूर्ण, सहयोगपूर्ण र विस्तारोन्मुख रहेको छ। सामान्यतया राजनीतिक, व्यापारिक वा शैक्षिक आदान–प्रदानलाई केन्द्रमा राखेर हेर्ने गरिए पनि, सांस्कृतिक र धार्मिक सम्पर्कहरूले पनि यी दुई देशबीचको सम्बन्धलाई मजबुती प्रदान गरेका छन्। सिड्नीको मिन्टो क्षेत्रको  मुक्ति–गुप्तेश्वर शिव मन्दिर त्यसको प्रत्यक्ष उदाहरण हो ।

सांस्कृतिक कूटनीति र मुलुकको छवि
राजकीय तहबाट प्रदान गरिएको धार्मिक मूर्ति नेपालको सांस्कृतिक कूटनीतिक क्षमताको स्पष्ट उदाहरण हो। यो कार्यले नेपाललाई केवल एउटा हिमाली राष्ट्र वा पर्यटन गन्तव्यको रूपमा मात्र नभई सांस्कृतिक सम्पदाको संवाहक राष्ट्रका रूपमा चिनाउने अवसर दिएको छ। अस्ट्रेलियाको बहु सांस्कृतिक समाजमा यस्तो योगदानले नेपालको छवि अझ सकारात्मक र प्रभावशाली ढंगले स्थापित गर्न सहयोग पुर्‍याएको छ।

नेपाली  पहिचानको सुदृढीकरण
कतिपयले त अस्ट्रेलियामा बढ्दो नेपाली समुदायको धार्मिक र सांस्कृतिक जीवनशैलीलाई प्रबद्र्धन गर्न पनि मन्दिरलाई महत्वपूर्ण आधारका रूपमा लिएका छन् । नेपाली मूलका आप्रवासीहरूले यस मन्दिरलाई आफ्नो आस्था र पहिचानको प्रतीकका रूपमा ग्रहण गर्दै गएका छन्। यसले उनीहरूको आत्मसम्मान बढाउने मात्र होइन, स्थानीय अस्ट्रेलियाली समुदायसँग सहअस्तित्व र अन्तर संवादको पुलसमेत निर्माण गरेको छ।

धार्मिक पर्यटन र आर्थिक सम्भावना
नेपाल सरकार वा पर्यटन प्रबद्र्धन संस्थाहरूले यसलाई धार्मिक पर्यटनको रणनीतिमा समावेश गर्न सक्छन्। अस्ट्रेलियाबाट नेपाल भ्रमण गर्न चाहने भक्तजनहरूलाई सिधै मुख्य ज्योतिर्लिंग भएको पशुपतिनाथ मन्दिरतर्फ आकर्षित गर्न सकिन्छ। जसबाट  धार्मिक पर्यटनसँगै आर्थिक लाभ लिन सकिन्छ।

द्विपक्षीय सम्बन्धमा नयाँ सम्भावनाहरू
मुक्ति–गुप्तेश्वर मन्दिरले नेपाल–अस्ट्रेलिया सम्बन्धमा सांस्कृतिक गहिराई थपेको छ। भविष्यमा यस सम्बन्धलाई शैक्षिक, अनुसन्धानात्मक तथा अन्तरधार्मिक संवादका क्षेत्रहरूमा पनि विस्तार गर्न सकिन्छ। यस्ता कार्यले दुई देशबीचको सहकार्यलाई समावेशी, बहुआयामिक र दिगो बनाउन सहयोग गर्ने छ।

ॐ को झलक 
शिवपुराणअनुसार, ज्योतिर्लिंग अण्डाकार आकारको हुन्छ। मुक्ति–गुप्तेश्वरको शिवलिंगमा ध्यानपूर्वक हेर्दा, हजारौं सेता कणहरूभित्र ‘ॐ’ मन्त्रको झलक देखिन्छ। कसैले महादेवलाई हर्षित स्वरूपमा देख्छन् भने, कसैले क्रोधित रूपमा–तर सबैका लागि यो एक अद्वितीय आध्यात्मिक अनुभूति हो। पशुपतिनाथबाट ल्याइएको यो ज्योतिर्लिंग, मुक्ति–गुप्तेश्वर महादेवको अद्वितीय लिंगको रूपमा मानिन्छ। श्रद्धा र पूर्ण समर्पणका साथ यो लिंगलाई प्रणाम गर्दा, भगवान् महादेव—देवाधिदेव–स्वयं यस लिंगभित्र स्पष्ट रूपमा दर्शन दिन्छन् भन्ने विश्वास गरिएको छ।

धेरै भक्तहरूले लिंगमा महादेवको तेस्रो नेत्रसमेत देखेको अनुभव सुनाउँछन्। शिवको मुखको आकार र भाव पनि विभिन्न व्यक्तिहरूलाई फरक–फरक रूपमा प्रकट हुन्छ–कसैले हर्षित स्वरूप देख्छन्, भने अर्कैले त्यही क्षणमा क्रोधित रूप देख्न सक्छन्। लिंगभित्र अनगिन्ती साना सेता कणहरू छन्, जसले महादेवको झलक दिन्छन्। यदि लिंगलाई ध्यानपूर्वक हेर्ने हो भने, ती प्रत्येक कणमा ‘ॐ’ मन्त्र अंकित देखिन्छ। यसरी, हजारौं कणहरूले मिलेर यस ज्योतिर्लिंगमा दिव्य ‘ॐ’ मन्त्रको स्वरूप निर्माण भएको अनुभूति हुन्छ।

जुनसुकै कोणबाट हेर्दा पनि, लिंगमा भगवान् शिवकै स्वरूप प्रकट हुने भक्तजनहरू बताउँछन्। दूधले अभिषेक गर्दा–विशेष गरी रुद्राभिषेकमा–दूधको धारामै शिवको स्पष्टरूप देखिने अनुभव भएको मन्दिरका अध्यक्ष मिश्राले बताएका छन्। यस्तो अलौकिक दृश्यलाई शब्दमा वर्णन गर्न असम्भव जस्तै लाग्छ।

नेपाल–अस्ट्रेलिया सम्बन्धको इतिहास र वर्तमान अवस्था
नेपाल र अस्ट्रेलियाबीचको राजनैतिक सम्बन्ध सन् १९६० (वि.सं. २०१७ साल) मा औपचारिक रूपमा स्थापित भएको हो। यो सम्बन्ध आपसी मित्रता, सम्मान र सहकार्यको आधारमा विस्तार हुँदै आएको छ।

अस्ट्रेलियाले सन् १९८४ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरी सम्बन्धलाई अझ सुदृढ बनायो, जबकि नेपालले अहिले पनि अस्ट्रेलियासँगका कूटनीतिक कार्यहरू नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत गर्दै आएको छ।

सुुरुवाती वर्षहरूमा नेपाल–अस्ट्रेलिया सम्बन्ध मुख्यतया विकास सहयोग र मानवीय सहायतामा केन्द्रित थियो। अस्ट्रेलियाले नेपालमा शिक्षा, स्वास्थ्य, कृषि तथा आपतकालीन राहतका क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। त्यसका साथै, द्विपक्षीय सम्बन्धमा शैक्षिक र सांस्कृतिक आदान प्रदानले महत्वपूर्ण भूमिका खेलेको छ। हाल अस्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि सबैभन्दा लोकप्रिय अध्ययन गन्तव्यहरूमध्ये एक हो। धेरै नेपाली विद्यार्थी हरेक वर्ष उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने गर्छन्। यसले दुई देशबीचको जन–जन सम्बन्धलाई अत्यन्त घनिष्ट बनाएको छ।

अस्ट्रेलियामा अहिले करिब ३ लाख नेपाली भएको अनुमान छ। जसले यहाँको शिक्षा, व्यवसाय, र सेवाक्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेका छन्। नेपाल–अस्ट्रेलिया सम्बन्ध केवल सरकारी तहमा सीमित छैन। बरु जनस्तर, शिक्षा, पर्यटन, र सांस्कृतिक आदानप्रदानमार्फत अझ मजबुत हुँदै गएको छ। दुवै देशबीचको सम्बन्ध मैत्री, परस्पर सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण बनेको छ।

धर्मले मानव र भगवान् बीचको सम्बन्धलाई जोड्ने उद्देश्य राख्छ। हिन्दू शास्त्रहरू विशेष गरी भिन्नतालाई पार गर्दै धार्मिक विविधतालाई सम्मान गर्न र शान्तिको संस्कृतिको निर्माण गर्न जोड दिन्छन्।  अस्ट्रेलियाको मिन्टु क्षेत्र पनि त्यसैको उदाहरण मान्न सकिन्छ ।  

अस्ट्रेलियमा कहाँ–कहाँ छन् शिव 
प्रत्यक्ष नेपालसँग जोडिएको न्यू साउथ वयल्सको  सिड्नीको मिन्टोमा १३औं तथा अन्तिम ज्योतिर्लिंग छ। भिक्टोरियाको  मेलबर्नमा पनि शिव मन्दिर छ। ब्रिस्बेन– लक्ष्मी नारायणको मन्दिर छ। यहाँ शिवलिंग र शिव–पार्वती मूर्ति छन्। पार्थमा पनि शिव मन्दिर छ । एडिलेडमा हिन्दूको मन्दिर  छ। यहाँ शिवका मूर्तिहरू  छन्।

हिन्दूको संख्यामा पनि वृद्धि
अस्ट्रेलियामा हिन्दु धर्म तेस्रो नम्बरमा पर्छ। पछिल्लो पटक सन् २०२१ को जनगणनाअनुसार अस्ट्रेलियामा ६ लाख ८४ हजार २ जना हिन्दूधर्म मान्नेहरू छन्। जुन कुल जनसख्याको २ दशमलव ७ प्रतिशत हो।

हिन्दूहरूको संख्या बढे सँगै पशुपति नाथाबाट लाइएका महादेव सँगै नेपाल र नेपालीको पहिचान स्थापित हुँदै गएको छ। यति पवित्र स्थल हुँदाहँुदै पनि कतिपयले मन्दिरका अध्यक्ष मिश्राले यसललाई आर्थिक उपार्जनको माध्यम बनाएको आरोप लगाउने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.