उत्तरी गोरखामा भारी हिमपात, पर्यटकलाई सकस
गोरखा : उत्तरी गोरखाको विभिन्न स्थानमा भारी हिमपात भएको छ । चुमनुब्री गाउँपालिका -१ साम्दो र सामागाउँमा सोमबार रातिदेखि हिमपात सुरू भएको त्यहाँ रहेको बोर्डर आउटपोस्ट (बिओपी) ले जानकारी दिएको छ ।
हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। हिमपातका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू प्रभावित भएका छन् ।
५१०६ मिटर उचाइमा रहेको लार्केपास गएका विदेशी पर्यटकहरू रोकिएका छन् । उनीहरू घरभित्रै कोही आगो ताप्दै रमाइलो गरिरहेको स्थानीय मिङ्मार लामाले जानकारी दिएका छन् । उनका अनुसार कोही बाहिर निस्केर सेल्फी खिच्दै रमाइरहेका छन् भने कोही घरभित्र खानपानमा व्यस्त छन्।
हिमपातका बेला यात्रामा ननिस्कन स्थानीय सरकारले आग्रह गरेको छ । हिमपात रोकिएपछि मात्रै पर्टकहरूको यात्रा पुन: सुरु हुने लामाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !