मनास्लु क्षेत्रमा घाइते भएका पर्यटकको दुई दिनसम्म उद्धार हुन सकेन
गोरखा : मनास्लु क्षेत्रमा भ्रमणका क्रममा भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका एक पर्यटकको दुईदिनदेखि उद्धार हुन सकेको छैन । चुमनुब्री- १ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर सख्त घाइते भएका टोखा- ६ काठमाडौंका मिनुइन्द्र लम्सालको उद्धार हुन नसकेको हो ।
प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो ठाउँमा सडक सञ्जाल पुगेको छैन । ‘टाउकोमा गम्भीर चोट छ । झन् जोखिम हुने भएकाले मान्छेले बोकेर ल्याउन पनि सकेका छैन । मौसक प्रतिकूल हुँदा हेलिकोप्टर जान पनि सकेको छैन,' डीएसपी राजकुमार श्रेष्ठले भने ।
टाउकोमा ज्यादै ठूलो चोट लागेको उनको बिही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाले जानकारी दिइन् । ‘टाउकोमा धेरै गहिरो चोट लागेको छ । रगत बान्ता गर्नुभएको छ,' उनले भनिन्, 'बिरामी धेरै गम्भीर हुनुहुन्छ तर, उद्धार हुन सकेको छैन ।'
बिहीबार बिहान नौ बजेतिर सामागाउँबाट फर्कने क्रममा चुमनुब्री -४ बुर नजिकै भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए । सो टोलीमा घाइते लम्साल, विशाल लम्साल र दीपेन्द्र न्यौपाने रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !