मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
गोरखा : लामो समयपछि मौसम खुलेसँगै मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आइतबार बिहानदेखि मौसम सफा भएको र ‘होल्ड’ भएर बसेका पर्यटकहरू गन्तव्यतर्फ जान थालेको स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् ।
'आज बिहानैदेखि मौसम खुल्यो । चार, पाँचदिनदेखि होटलमा बसेका पर्यटकहरू अहिले खुशी हुँदै गन्तव्यतर्फ हिँडिरहेका छन्,'पर्यटकका पथप्रदर्शक अजय गुरुङले भने, ,'बाटोमा पनि हुलका हुल पर्यटकहरु भेटिएका छन् ।'
सामागाउँमा होल्ड भएर रहेका डेढ, दुईसय पर्यटक साम्दोतर्फ गइरहेको र साम्दोमा होल्ड भएका २५० भन्दा धेरै जनाको समूह लार्केपास गइरहेको स्थानीय होटल व्यवसायीले जानकारी दिए ।
'धेरै समय भएको थियो, होटलमा बसेका, अहिले मौसम खुल्ने वित्तिकै पर्यटकहरु रमाउँदै निस्किएका छन्,' चुमनुब्री- २ स्यालाका होटल व्यवसायी पेम्बा रेता लामाले भने, ,'सामागाउँबाट डेढ, दुईसय पर्यटक साम्दोतर्फ गइरहेका छन्, साम्दोबाट दुई, अढाइसय जना पर्यटक लार्केपासतर्फ गएका छन् भन्ने खबर आएको छ । हाम्रो स्यालामा बसेकाहरु पनि निस्किएका छन् । तलबाट यतातर्फ पनि आइरहेका छन् ।'
यसअघि लगातारको बर्सातले गत मंगलबारदेखि मनास्लु क्षेत्रमा पर्यटकहरु होटलहरुमा ‘होल्ड’ भएर बसेका उनले बताए । बर्सातका बेला असुरक्षाका कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयले पनि पर्यटकहरूलाई पदयात्रामा नजान सूचित गरेको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गरी पदयात्रामा जान खुल्ला गरेको छ । मौसममा आएकाले पदयात्रामा जान खुल्ला गरिएको भन्दै सूचनामा मौसम पूर्वानुमानको अध्ययन गरी सावधानी अपनाएर हिँड्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !