एएनओ अमेरिकी समितिमा नयाँ नेतृत्व
काठमाडौं : विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ओरिजिनहरूको संस्था एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)मा भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकी राष्ट्रिय समिति चयन गरिएको छ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल सहरमा भएको सम्मेलनले समितिको उपाध्यक्षमा डा सञ्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिवमा चन्द्र पराजुली, कोषाध्यक्षमा तृष्णा चिमोरिया र सदस्यसहितको नयाँ कार्यसमिति चयन गरेको एनएनओका केन्द्रीय महासचिव चूडामणि भट्टराईले बताए।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसलाई नेपाल सरकारले नेपाली पहिचान दिनुपर्ने माग गरे। उनले विदेशी भएर नभई पुस्तौँअघि नेपालबाट बाहिर गएका नेपाली मूलका मानिस नेपाली जातिकै प्रतिनिधिका रूपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार रहेको र नेपाल सरकार आफ्नै सन्ततिलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखे।
सो अवसरमा ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओका केन्द्रीय सदस्य डा दामोदर पौडेलले नेपाली जातिका मानिसलाई नेपालसँग जोड्ने एएनओको अभियानले पछिल्ला दिनमा तीव्रता पाएकाले यस अभियानमार्फत नेपाली ओरिजिनले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।
एनएनओका अन्तरराष्ट्रिय बोर्ड अफ ट्रष्टी ओमराज गुरुङ र महासचिव चूडामणि भट्टराईले अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिका रूपमा भाग लिएका सामाजिक कार्यकर्तालाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी दिए। नेपालीको उपस्थिति रहेको सो सम्मेलनमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्य र गीत प्रस्तुत गरेका थिए। सोही कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई एएनओ र उक्त फाउण्डेसनका तर्फबाट सम्मान प्रदान गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !