अनुष्का सिलवालको कवितासङ्ग्रह 'द बर्डन अफ ब्रेथ' सार्वजनिक
काठमाडौं : लेखक अनुष्का सिलवालको पहिलो कवितासङ्ग्रह 'द बर्डन अफ ब्रेथ' सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा विशेष समारोहका बीच 'द बर्डन अफ ब्रेथ' सार्वजनिक गरिएको हो। कवितासङ्ग्रहमा प्रेम, पहिचान र मानव अस्तित्वजस्ता विषयहरूलाई आत्मपरक ढङ्गले प्रस्तुत गरिएको छ।
२४ वर्षीया सिलवालले इन्डियाना विश्वविद्यालयको केली स्कूल अफ बिजनेसबाट मार्केटिङमा स्नातक गरेकी छन्। उनले मनोविज्ञानमा पनि स्नातक गरेकी उनले साहित्यसँगै मार्केटिङ पेसालाई पनि अंगाल्दै आएकी छन्। बाल्यकालमै डायरी लेख्न थालेकी सिलवालले नियमित निबन्ध र लेखहरू प्रकाशित गर्दै आएकी छन्।
द बर्डन अफ ब्रेथमा ११७ कविताहरू समेटिएका छन्, जसले असुरक्षाका क्षण, आत्मचिन्तन र भावनात्मक स्पष्टतालाई समेटेको लेखक सिलवालले बताए। पुस्तकको शीर्षक मनाङ यात्राका क्रममा जन्मिएको थियो, जहाँ ठाडो उकालोमा सास फेर्दा उनले बुझेकी थिइन्- 'सास लिनु भनेको बोझ बोक्नु हो'।
पुस्तकको विमोचन प्रख्यात साहित्यकार प्रा. गोविन्दराज भट्टराई र मण्डला बुक प्वाइन्टका माधव एल. महर्जनले संयुक्त रूपमा गरे। उनीहरूले सिलवालको काव्यिक सूक्ष्मता र अव्यक्त भावनाहरूलाई शब्दमा उतार्ने क्षमतालाई प्रशंसा गरे। कार्यक्रममा बोल्दै सिलवालले आफ्नो सिर्जनात्मक यात्रामा साथ दिने गुरु, शिक्षक र परिवारजनप्रति गहिरो कृतज्ञता व्यक्त गरिन्। उनले पुस्तकबाट प्राप्त आम्दानीको केही हिस्सा परोपकारी कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।
'म आफूलाई पूर्णकालीन लेखक ठान्दिनँ। लेखन सधैं मेरो शान्त र व्यक्तिगत अंश हो। यो पुस्तक त्यो अंशलाई संसारसँग बाँड्ने मेरो प्रयास हो। आशा छ, यी शब्दहरूले कहिल्यै बुझाइको आवश्यकता महसुस गर्ने, वा केवल सुन्न चाहने कसैलाई पनि छोइदिन सकून्,' विमोचन समारोहमा उनले भनिन्। द बर्डन अफ ब्रेथ काठमाडौंका पुस्तक पसलहरूमा उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस !