गर्भवती महिलामा मधुमेहको समस्या

गर्भवती महिलामा मधुमेहको समस्या

ग्लुकोजलाई कोषमा पुर्‍याउन आवश्यक इन्सुलिनको उत्पादन प्यान्क्रियाजबाट कम भयो वा बन्द भयो भने मधुमेह रोग निम्तिन्छ। खासमा मधुमेह दुई प्रकारका हुन्छन् तर गर्भावस्थामा विशेष कारणले मधुमेहको समस्या देखिन सक्छ। पछिल्लो समय जीवनशैलीमा आएको परिवर्तनले विशेषतः दक्षिण एसिया क्षेत्रमा मधुमेहका बिरामीको संख्या बढ्दो छ। यसमा नेपाल पनि अछुतो छैन। देशअनुसार गर्भवती महिलाहरूमध्ये करिब १ देखि १० प्रतिशतमा मधुमेहको समस्या देखिएको छ। गर्भवती महिलामा देखिने मधुमेहमध्ये ९० प्रतिशत गर्भावस्थाको कारणले हुन्छ। गर्भवती महिलामा मधुमेह भएकीमध्ये ५० प्रतिशत महिलाहरू ५ देखि २० वर्षको अवधिपछि पूर्ण रूपमा मधुमेहको समस्याले आक्रान्त हुन्छन्।

सामान्यतया १८० मिलिग्राम प्रतिमिलिलिटरसम्म रगतमा चिनीको मात्रा हुँदा पिसाबमा चिनी देखिँदैन तर गर्भावस्थामा भने यति मात्रा हुँदा पनि पिसाबमा चिनी देखिन सक्छ। बिहान उठेपछि सुरुको पिसाब फ्याँकेपछिको दोस्रो पटकको पिसाबमा चिनी छ, छैन जाँच्नुपर्छ। यसरी पिसाबमा चिनी भेटिए वा २० हप्ताअगावै पिसाबमा चिनी देखिए मधुमेह भएको हो कि निर्क्योल गर्न ग्लुकोज खाएर गर्भवती महिलाको शरीरले चिनी पचाउन सक्ने क्षमता जाँच्नु पर्दछ। ७५ वा १०० ग्राम ग्लुकोज खाएर रगत जाँच्न सकिन्छ। यदि रगतमा १४० मिलिग्राम प्रतिशतभन्दा बढी भयो भने मधुमेह भएको शंका गर्नुपर्दछ। परिवारमा कसैलाई चिनी रोग छ, पहिले चार किलोभन्दा बढी तौलको बच्चा पाएको थियो, पटकपटक गर्भ तुहिएको, पहिले कुनै बच्चा बिना कारण खेर गएको थियो भने पनि मधुमेहको शंका गर्नु पर्दछ। गर्भवतीका कारण मधुमेह देखा परेका वा पहिलेदेखि मधुमेह भएका गरी गर्भावस्थामा मधुमेह दुई प्रकारमा बाँडिएको हुन्छ। यिनीहरूको व्यवस्थापन पनि फरकफरक तरिकाले गरिन्छ। 

गर्भवतीको कारणले हुने मधुमेह

गर्भवती बेलामा पहिलोपटक कार्बोहाइड्रेट पचाउन सक्ने क्षमतामा गडबडी देखिन्छ। फलतः रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी देखिन्छ। यस्तो समस्या गर्भावस्थाको दोस्रो वा  तेस्रो त्रैमासिकमा देखा पर्दछ जुन सुत्केरीपछि सामान्य अवस्थामा फर्किन्छ। माइती परिवारमा कसैलाई मधुमेह भएको, पहिला चार किलो वा बढी तौलको बच्चा पाएको, पहिला बिनाकारण महिना पुगेको बच्चा खेर गएको, गर्भावस्थामा शिशु वरिपरि पानीको मात्रा निकै बढी भएको, गर्भावस्थामा पटकपटक सेतो पानी बग्ने समस्या भएको, गर्भावस्थामा पिसाबमा चिनी निरन्तर गइरहेको, गर्भवती महिलाको उमेर ३० भन्दा बढी भएकी र मोटोपना भएकी महिलालाई गर्भवतीको कारणले हुने मधुमेह हुन सक्छ। 

गर्भवतीको कारणले हुने मधुमेहले पुर्‍याउन सक्ने खतराहरू यस प्रकार छन्। महिना पुग्नै लाग्दा अकस्मात् गर्भे शिशुको मृत्यु हुन सक्छ। गर्भे शिशु निकै ठूलो हुन सक्छ। गर्भेशिशु वरिपरिको पानी बढी हुनसक्छ। सुत्केरी दौरान स्त्री जननेन्द्रिय (बच्चा आउने बाटो) मा चोट पुग्न सक्छ। करिब ५० प्रतिशत महिलामा पछिपछिको गर्भमा पनि यस्तो समस्या दोहोरिन सक्छ। गर्भवतीका कारणले हुने मधुमेहको व्यवस्थापन गर्दा पटकपटक गर्भ जाँच गर्नुका साथै खाना परहेज र शारीरिक व्यायाममा पनि ध्यान दिइनु जरुरी छ। यदि खाली पेटमा रगत जाँच्दा १०५ मिलिग्राम प्रतिशतभन्दा बढी वा खाना खाएको २ घण्टापछि रगत जाँच्दा १३० मिलिग्राम प्रतिशतभन्दा बढी पाइयो भने खाना परहेज गरेर मात्र नपुग्न सक्छ। 

ऐरोबिक अभ्यास, हल्का हिँडडुलले रगतमा ग्लुकोजको मात्रा घटाउन मद्दत गर्दछ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामा यदि ग्लुकोज राम्रोसँग नियन्त्रणमा छ भने बच्चा पाउने मितिसम्म कुर्न मिल्छ। तर बच्चा ठूलो छ वा गर्भेशिशुमा कुनै जटिलता छ भने गर्भावस्थाको ३८ हप्तातिरै सुत्केरी गराउनु पर्दछ। यस्ता खाले महिलामा केही वर्षको अन्तरालमा पूर्ण रूपमा मधुमेह देखा पर्न सक्ने हुनाले निरन्तर रूपमा फलोअप चाहिन्छ। गर्भवतीको कारणले हुने मधुमेह भएकी महिलामध्ये खाली पेटमा चिनीको मात्रा धेरै भएकामा पछि दोस्रो प्रकारको मधुमेह हुने तथा मुटु एवं रक्तनली सम्बन्धी समस्या उत्पन्न हुन सक्छ। 

पहिल्यैदेखि हुन सक्छ मधुमेह

मधुमेहका लक्षण चिह्न भएकी र अकस्मात् रगतमा २०० मिलिग्राम प्रतिशत भन्दा बढी चिनीको मात्रा देखिएकी महिलालाई पहिल्यैदेखि मधुमेह भएको हुन सक्छ। यस्तो अवस्थामा गर्भ जाँचको क्रममा पहिलोचोटी यो गर्भावस्थामा पत्ता लागेको हुन सक्छ। भोक तिर्खा बढी लाग्नु, रातिको समयमा समेत पटकपटक पिसाब लाग्नु, जिउ चिलाउनु, आँखा धमिलो देखिनु, थकाइ लाग्नु, कमजोरी महसुस हुनु, हात खुट्टा झमझमाउनु आदि मधुमेहका लक्षण चिह्न हुन्। यसैगरी घाउचोट लाग्दा निको हुन समय लाग्नु, शारीरिक तौलमा कमी आउनु, विवाहित दम्पतीमा निःसन्तानको समस्या हुनु पनि मधुमेहका लक्षण चिह्न हुन सक्छ।

रगतमा चिनीको मात्रा नियन्त्रणमा भएन भने गर्भे शिशुको मृत्यु हुने, गर्भे शिशु राम्ररी बढ्न नसक्ने, गर्भवती महिलामा कम्पन छुट्ने समस्या हुन सक्ने, रगतमा किटोननामक हानिकारक पदार्थ बढ्न सक्ने हुन सक्छ। 

गर्भावस्थाको असर  र मधुमेह
ह्युम्यान प्लासेन्टल ल्याक्टोजेन, इस्ट्रोजेन, प्रोजेस्टेरोन, कर्टिसोल नामका रासायानिक तत्त्वको सामूहिक प्रभावले इन्सुलिनको काममा अवरोध खडा गरी चिनी नियन्त्रणमा राख्न गाह्रो हुन्छ। गर्भेशिशुको साथी सालले इन्सुलिन बढ्ता टुक्र्याइदिन्छ। गर्भावस्थाको अवधिसँगै इन्सुलिनको आवश्यकता पनि बढ्दै जान्छ। पिसाबबाट बढ्ता चिनी खेर जान सक्ने हुनाले रगतको जाँचबाट मात्र चिनीको वास्तविक मात्रा थाहा हुन्छ। वाकवाकी, संक्रमण तथा सुत्केरी व्यथाले रगतमा अधिक चिनीका कारण हुन सक्ने जटिलता हुन सक्ने हुन्छ। रक्तनलीमा असर पुर्‍याई आँखाको पर्दा, मिर्गौला, मुटुको रक्तनली तथा नसामा पनि बढ्ता खराब निम्त्याउँछ।

मधुमेहको असर गर्भावस्थामा 
मधुमेहले गर्भावस्थाका तीनै चरणमा असर गर्न सक्दछ। गर्भावस्थामा गर्भ तुहिने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भवती महिलामा कम्पन छुट्न सक्ने, गर्भे शिशु वरिपरि पानी बढी हुने, गर्भवती महिलामा छटपटी बढ्ने, आँखाको पर्दा र मिर्गौलामा असर पुग्ने हुन्छ। सुत्केरी व्यथाको दौरान व्यथा लामो हुने, शिशुको टाउको जन्मे पनि काँध अडकन सक्ने, फोरसेप वा भ्याकुम उपकरणको मद्दतले सुत्केरी गराउनु पर्ने, स्त्री जनेन्द्रियमा बच्चा आउने बाटोमा चोट पुग्न सक्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ। सुत्केरीपश्चात् संक्रमण बढ्ने तथा स्तनपानमा समस्या आउन सक्ने हुन्छ।

मधुमेहको असर नवजात शिशुमा 
गर्भवती महिलामा भएको मधुमेहको कारण नवजात शिशुमा पनि नकारात्मक असर पर्न सक्छ। गर्भमा छँदै आकार ठूलो हुने, स्नायु प्रणाली, मुटु, मिर्गौला, खाद्यनलीसम्बन्धी जन्मजात विकलांग हुन सक्ने, बिनाकारण मृत्यु हुने हुन सक्छ। 
जन्मपश्चात् शिशुको रगतमा चिनीको मात्रा घट्ने, क्याल्सियम र म्याग्नेसियमको मात्रा पनि घटने, श्वासप्रश्वास समस्या आउने, रगत बाक्लो हुने, जन्डिसको मात्रा बढी हुने, मुटुको आकार बढ्ने हुन्छ। नवजात शिशुको रगतमा चिनी नपुगेर, श्वासप्रश्वासको समस्या भएर, रगत बाक्लो भएर अनि जन्डिसको समस्याले मृत्यु हुने दर २–३ गुणाले बढ्छ।

मधुमेह भएकी गर्भवती 
गर्भावस्थाको दौरान दैनिक क्यालोरी ३० देखि ३५ किलो क्यालोरी प्रतिकिलोग्राम शारीरिक तौल आवश्यकता पर्दछ। सामान्य तौल भएकी गर्भवती महिलालाई २००० देखि २५०० किलो क्यालोरी प्रतिदिन र मोटोपना भएकीलाई १२०० देखि १८०० किलो क्यालोरी प्रतिदिन आवश्यकता पर्दछ। जसमध्ये कार्बोहाइड्रेट ५० प्रतिशत, प्रोटिन २० प्रतिशत र चिल्लो पदार्थ २५ देखि ३० प्रतिशत हुनु पर्दछ। खानामा रेसादार बढी हुनु पर्दछ। आवश्यक खानाको २५ प्रतिशत बिहानको खानामा हुनु पर्दछ भने दिउँसो र रातिको खानामा ३०–३० प्रतिशत हुनु पर्दछ। मधुमेह भएकी गर्भवती महिलाले पटकपटक चिनीको मात्रा जाँच्नु पर्दछ। गर्भे शिशुको अवस्था थाहा पाउन अन्य समयमा भन्दा बढी पटक अल्ट्रासाउन्ड गराउनु पर्दछ। मधुमेह भएकी गर्भवती महिलाको गर्भेशिशुको तुलनात्मक रूपमा फोक्सो पाको (बलियो) भएको हुँदैन। हमेशा यसको ख्याल राख्नु पर्दछ।

मधुमेहले प्रभावित गर्भवती महिलामा उच्च रक्तचाप वा गर्भे शिशुमा कुनै जटिलता देखिन थालेमा सुत्केरी गराउनतर्फ लाग्नु पर्दछ। मधुमेहले प्रभावित गर्भवती महिलाको उमेर बढी भएमा, धेरै बच्चा पाइसकेको भएमा, पहिलोको गर्भ बिग्रेको भएमा, मधुमेह नियन्त्रणमा राख्न गाह्रो भएमा, कुनै जटिलता आएमा, कम्पन छुटेमा, गर्भे शिशुको वरिपरि पानी बढी भएमा, बच्चाको बसाइ उल्टो भएमा, बच्चा निकै ठूलो (४ किलोभन्दा बढीको) भएमा सिजेरियन अपरेसनको जरुरत पर्न सक्दछ। समग्रमा करिब ५० प्रतिशत मधुमेहले प्रभावित गर्भवती महिलालाई सुत्केरी बेलामा सिजेरियन अपरेसनको आवश्यकता पर्दछ।

सुत्केरी व्यथाको बेलामा आमा र बच्चाको स्वास्थ्यमा निगरानी राख्नु पर्दछ किनकि कुनै पनि बेला जटिला उत्पन्न हुन सक्छ। मधुमेह भएकी गर्भवती महिला सुत्केरी भएपछि स्तनपान गराउने बेलामा ५०० किलो क्यालोरी खाना थप आवश्यक पर्दछ। सुत्केरीपश्चात् इन्सुलिनको आवश्यकता स्वाट्टै घट्न सक्छ। 

बच्चाको स्याहार राम्ररी गर्नु पर्दछ। किनकि मधुमेह भएकी गर्भवती महिला सुत्केरी हुँदा शिशु निस्सासिन सक्छ। सुत्केरीपछि कुनै विकलांग छ, छैनराम्ररी जाँच गर्नुपर्दछ। जन्मेको दुई घण्टाभित्र नवजात शिशुको रगतमा चिनीको मात्रा जाँच्नु पर्दछ। यथाशीघ्र स्तनपान गराउनु पर्दछ। यस्तो बच्चालाई भिटामिन ‘के’ दिनु पर्दछ। यसरी राम्ररी ध्यान दिएको खण्डमा मधुमेहले प्रभावित गर्भवती महिलाको शिशुको मृत्यु हुने सम्भावना ५ प्रतिशतले घटाउन सकिन्छ।

परिवार नियोजनको हकमा जन्मान्तरको लागि कण्डम वा फेमिडोमजस्ता अस्थायी साधन अपनाउनु पर्दछ। पाठेघरमा राखिने कपर टीले पाठेघरको संक्रमण बढाउन सक्छ। तर प्रोजेस्टरोनमात्र भएको चक्की पनि दिन सकिन्छ। सन्तानको रहर पुगिसकेको भए स्थायी बन्ध्याकरण गराउन सल्लाह दिनु पर्दछ।

प्रा.डा. सुमनराज ताम्राकार
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.