जिपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न
न्युयोर्क क्विन्स : जिपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनामा न्यूयोर्क क्विन्सस्थित उडसाईड्समा रहेको कार्यालयमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
न्युयोर्क ब्लड सेन्टरसँग सहकार्य गरी एक वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो। बिहान ११ बजे सुरु भएको सो कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो। अनलाइनमार्फत ९२ जनाले सहभागिताका लागि स्वीकृति लिएकोमा विविध कारणवश केही उपस्थित हुन सकेका थिएनन्। ६१ जनाले रक्तदान गरेका थिए।
फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे र कार्यसमितिका पदाधिकारीहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, राजेस आचार्य, प्रेम अधिकारी क्षेत्री, सूर्य सिम्खडा, फुदोमा शेर्पा, हिरा तामाड एवं स्वयंसेवकहरू क्रमशः शेखर कार्की, टेक कार्की, लाक्पा जी शेर्पा, आङ तुला शेर्पा गुरुङ, डा. रमेश चित्रकार, राजु रौनियार लगायतका टोली खटिएका थिए।
न्युयोर्क ब्लड सेन्टरको बातानुकुलीत र सम्पूर्ण सुविधासम्पन्न विशेष प्रकारको बसमा रहेका ४ वटा बेडबाट एकै समयमा ४ जनाले रक्तदान गरी कार्यक्रम सुरु गरिएको थियो। न्युयोर्क ब्रोन्स्क निवासी समाजसेवी दम्पति रविन बज्राचार्य र प्रोफेसर शर्मिला शाक्यले रक्तदातालाई फलफूल र अण्डाको प्रायोजन गरेका थिए।
फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले आफूहरूले कोरोना कहरदेखि हालसम्म सयौं कार्यक्रमहरु सफलतापूर्वक गर्दै आएको र रक्तदान कार्यक्रम पहिलो पटक गर्न लाग्दा केही चिन्ता रहेकोमा आफूले सोचे भन्दा अझै उत्साहपूर्ण सहभागितामा कार्यक्रम भव्यतासाथ सम्पन्न भएको बताए। उनले सहभागी एवं सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !