पर्यटक लोभ्याउँदै चिउरीको झोलुंगे पुल
स्याङ्जा : हर्दै डरलाग्दो चिउरीको तारे भीर। तल हेर्दा मन झसङ्ग हुन्छ। धेरै वर्ष यहाँका स्थानीयवासीले वारपारका लागि निकै दुःख र कष्ट भोगे। सहज जीवनयापनका लागि यहाँ एउटा झोलुंगे पुलको योजना बन्यो। निर्माण कार्य पनि सम्पन्न भयो। अहिले सोही पुल सबैको मन, मस्तिष्कमा बस्ने सफल भएको छ। पर्यटकीय गन्तव्य बनेको छ।
गल्याङ नगरपालिका— ७ र ८ अर्थात् चिउरीभीर र पेलाकोटलाई जोड्ने गरी आँधीखोलामा बनाइएको चिउरीको झोलुंगे पुल अहिले पर्यटकीय गन्तव्य बनेको हो। जिल्लाकै अग्लो र लामो झोलुंगे पुलमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ। एक सय ९० मीटिरको उचाइमा रहेको झोलुंगे पुल ३ सय ६८ मिटर लम्बाइको छ।
पुलको अवलोकन तथा दृश्यावलोकनका भीड लाग्ने गरेको छ। सिद्धार्थ राजमार्ग छेवैमा रहेको पुलका वरपरका हरियाली प्रकृतिले जो–कोहीलाई पनि लोभ्याउने गर्दछ। नजिकै रहेका बस्ती, खेतीयोग्य जमिन, नागबेली आकारमा बग्दै आएकी आँधीखोला र पेलाकोटमा रहेका केदारनाथ मन्दिरले झनै सबैको मन जितेको छ।
ʻचिउरी पुलको चर्चा परिचर्चा सामाजिक सञ्जालमा धेरै देखियो। हेरियो पनि। यो बाटो ओहोरदोहोर धेरै पटक भयो। तर, आजसम्म यहाँ आउने अनुकुल मिलेको थिएन। हेर्दा सुन्दाभन्दा प्रत्यक्ष यही आएर पुल तर्दा र अवलोकन गर्दा छुट्टै आनन्द मिल्दो रहेछ,ʼ लोकगायक तथा सर्जक पुरुषोत्तम न्यौपाने भने।
पुल बन्नुभन्दा अगाडि वारपार गर्नका लागि निकै कठिन थियो। घुमेर जानु पर्ने बाध्यता थियो। पुल निर्माण भएसँगै स्थानीय बासिन्दाका जीवनयापनमा पनि सहज बनेको छ। अर्कोतर्फ, पर्यटकीय थलोको रूपमा परिचित हुँदै गएको छ। यहाँ आन्तरिक तथा भारतीय पर्यटकको समेत भीड बढ्दै गएको छ।
स्याङ्जा सदरमुकामबाट ४० किलोमिटरको दुरीमा पर्दछ। सो पुलमा दैनिक २ देखि ३ सय जति आउने गरेको स्थानीयवासी गीता पाठकको भनाई छ। शुक्रबार र शनिबार यहाँ मानिसहरूको भीड हुने गरेको उनले बताइन्।
यस्तै भारतीय नागरिक पनि आउने गरेका छन्। पोखरा घुम्न तथा मुक्तिनाथको दर्शनका लागि आउने भारतीय नागरिक पनि पुल देखेपछि सवारी साधन रोकेर मनोरञ्जन लिने गर्दछन्।
झोलुङ्गे पुलमा आउने पर्यटकको संख्या बढेपछि राजमार्ग छेवैमा पार्किङ र पुलसम्म जान आउन रेलिङ सहितको पदमार्ग निर्माण गरिएको गल्याङ नगर गुरुप्रसाद भट्टराईले बताए। गल्याङ ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा आउनका लागि पनि पुलले धेरै सजिलो बनाएको छ। मन्दिरमा पुग्न यसअघि २ घण्टा लाग्ने गरेकोमा अहिले आधा घण्टामै पुग्न सकिने केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टिकाराम पाठकले जानकारी दिए।
करिब ४ वर्षअघि विसं २०७८ असारमा निर्माण सकिएको पुल एक करोड ८३ लाखको लागतमा निर्माण भएको हो।
प्रतिक्रिया दिनुहोस !