किन हुन्छ, मुड गडबड ?
विशेषतः मुडमा गडबडी उत्पन्न भएर हुने एक कडा खालको मानसिक रोग हो, बाइपोलार डिसअर्डर। यो रोगमा व्यक्तिको मुडको मात्रा सामान्यभन्दा ज्यादा उच्च भएर विचार र व्यवहारमा परिवर्तन मेनिया हुने हुन्छ। कहिले फेरि मेनियाका लक्षणको ठीक उल्टो डिप्रेसनका लक्षण देखिन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वको जनमानसमा यो रोगबाट करिब ४ करोड मानिस पीडित भएको देखिन्छ। नेपालमा भने कुल जनसंख्याको शून्य दशमलव २ प्रतिशतमा अर्थात् करिब ६० हजार व्यक्ति यो रोगबाट पीडित रहेको तथ्य नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण, २०२० ले ले देखाएको छ।
यो रोगको कारणले व्यक्तिको जीवनका अनेकौं पक्ष (शिक्षा, व्यापार, व्यवसाय, पारिवारिक आदि) मा नकारात्मक प्रभाव परेको देखिन्छ। हाम्रोजस्तो समाजमा यो मानसिक रोगप्रतिको लाञ्छना र विभेदका कारण उपचारको पहुँचमा नआउने अथवा गलत उपचार विधि अपनाएको देखिन्छ।
वास्तवमा बाइपोलार डिसअर्डरको उपचारका लागि आधुनिक औषधि र मनोपरामर्शको सहयोगले बिरामीलाई निको तुल्याउन सकिन्छ। महिला तथा पुरुष दुवैमा उत्तिकै मात्रामा देखिन सक्ने यो समस्यामा कतिपय व्यक्तिले रक्सी र चुरोटको सेवन बढी गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार उपचार सुरु गरिएन भने व्यक्तिको मृत्यु अन्य मानिसको तुलनामा १० वर्षअघि नै हुने तथ्यांक छ।
कारण
अन्य मानसिक रोगमा जस्तै यो रोगको पनि वास्तविक कारण यही नै हो भन्न सकिन्न। वंशानुगत, मनोवैज्ञानिक र सामाजिक परिवेशजस्ता धेरै कारणको प्रभाव हुन सक्छ। सामाजिक परिवेशअन्तर्गत पनि असहज बाल्यकाल, सम्बन्धविच्छेद, परिवारका निकट आफन्तको मृत्यु आदि अनेक कारण हुन सक्छन्। रक्सी सेवन वा मादक पदार्थको सेवनले पनि यो रोग बढाउन मद्दत गर्दछ।
लक्षण
यो रोगका लक्षण भिन्नभिन्न समयमा फरकफरक हुन सक्छ। यो रोगका मुख्य दुई चरण (फेज) हुन्छन्। मेनिया भएका बेलामा व्यक्तिले एकदमै खुसी महसुस गर्ने, शरीरमा निकै फूर्ति आएजस्तो अनुभव गर्ने आदि हुन्छ। अनि एक्कासि उसको मनस्थिति (मुड) तत्कालै परिवर्तन हुन सक्छ।
बाइपोलार डिसअर्डरको अर्काे चरणमा डिप्रेसनका लक्षण देखिन्छ जुन मेनियाको भन्दा ठीक उल्टो हुन्छ। यस्तो अवस्थामा व्यक्तिले मन र शरीर शिथिल महसुस गर्ने, निराश, उदास वा बेखुसी रहने हुन्छ। समग्र रूपमा यस्तो दुई थरी अवस्था हुने भएकैले यसलाई वाइपोलार डिसअर्डर भनिन्छ। मेनियाका मुख्य लक्षणहरू हुन,—
- बोलेको बोल्यै गर्ने।
- चाहिनेभन्दा बढी धाक, रवाफ लगाउने।
- अत्यधिक आत्मसम्मान।
- उच्च मनोभाव।
- निद्रा आवश्यकभन्दा कम पर्ने।
- थोरै सुते पनि फुर्तिलो महसुस हुने।
- अनावश्यक रूपमा क्रोधित हुने
- मनको चञ्चलता बढ्ने
- एकै ठाउँमा धैर्य गरेर बस्न नसक्ने
- ध्यान केन्द्रित नहुने।
- अस्वाभाविक व्यवहार।
- चाहिनेभन्दा ज्यादा खर्च गर्ने।
- आफू निकै शक्तिशाली वा प्रसिद्ध व्यक्ति हुँ भन्ने ठान्ने।
मेनियाका यी मुख्य लक्षण कम्तीमा एक हप्ता देखिन सक्छ। यसको प्रभावले व्यक्तिको दैनिक कामकाज र सामाजिक क्रियाकलापमा एकदमै बाधा पुत्त्वयाएको छ भने तत्काल उपचार सुरु गरिहाल्नुपर्ने हुन्छ।
उपचार के छ ?
यो रोगको प्रकृति नै बेलाबेलामा निको हुने र फेरि फर्किने वा दोहोरिने समस्या हो। सही उपचार विधिबाट व्यक्तिले यी लक्षणलाई जितेर आफ्नो जीवन सफल बनाउन सक्छ।
यो रोगको उपचार विधिमा औषधि र मनोविमर्श प्रभावकारी देखिएको छ। लै औषधिको मात्र प्रयोगले रोगलाई नियन्त्रणमा राख्ने भए पनि पूर्ण रूपमा निको बनाउन मनोविमर्शलगायत परिवारको सहयोग महत्त्वपूर्ण हुन्छ।
लक्षण तत्काल नियन्त्रण गर्नका लागि मनस्थिति स्थिर बनाउने औषधि चिकित्सकको परामर्शमा सुरु गरिहाल्नुपर्छ। औषधिले मेनियाका लक्षण कम गराई दैनिकी सहज बनाउन मद्दत गर्दछ। लक्षणका आधारमा मेनियाको पहिलो इपिसोड भए पनि औषधिले निको तुल्याएपछि पनि कम्तीमा ६ महिना नछुटाइकन चिकित्सकको परामर्शमा औषधि सेवन गर्नुपर्ने हुन्छ। एकभन्दा बढीको मेनिया वा डिप्रेसनका लक्षणको अवधिको अवस्थामा औषधि सेवन छुटाउँदा बल्झिने सम्भावना रहिरहन्छ। त्यसैले एकभन्दा लक्षणको अवधि भएमा बाइपोलारका बिरामीले लामो समयसम औषधि सेवन गर्नु जरुरी हुन्छ। औषधिबाहेक मनोसामाजिक सहयोग मनोपरामर्शले बिरामीलाई फाइदा पुत्त्वयाउँछ। मनोपरामर्शकर्ताद्वारा प्रदान गरिने विभिन्न उपचार विधि जस्तै कम्गेटिभ बिहेभियर थेरापी, पारिवारिक मनोशिक्षा आदि बिरामीलाई निको बनाउन सहायक हुन्छन्।
बाइपोलार डिसअर्डरलाई समयमै उपचार गराउन सके लक्षणलाई पूर्ण रूपमा नियन्त्रण गरी बिरामीलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ। यसका लागि परिवारको सहयोग र रोगप्रतिको सकारात्मक बुझाइ महत्त्वपूर्ण हुन्छ। यसका साथै बिरामीले स्वस्थ जीवनशैली अपनाउनुपर्छ। नियमित व्यायाम, पर्याप्त निद्रा, सन्तुलित भोजन गर्ने तथा धूमपान, मद्यपान नगर्न अनि तनाव व्यवस्थापन गर्न सके यो रोगको सहज उपचार सम्भव हुन्छ।
- वझा वरिष्ठ मनोचिकित्सक हुन्।
प्रतिक्रिया दिनुहोस !