सोचमग्न समय !
युगबारे सोच, जति चाहिन्छ त्यति
तिमीलाई कहिल्यै छोएन
ती कर्णालीका कहरहरूले
तिमीलाई कहिले घोचेन
ती मधेसका गरिबीहरूले
छोएन, घोचेन भने के अर्थ राख्यो
तिम्रो बौद्धिकताले खै ?
समयले प्रश्न गर्दैछ— तिम्रो नीतिलाई
समयले सोध्दैछ— तिम्रो बौद्धिकतालाई
परिस्थितिले प्रश्न तेस्र्याउँदैछ— तिम्रो बहुमतलाई
प्रश्नैप्रश्न छन्— तिम्रो क्रान्तिलाई ?
अब त जवाफ देऊ प्रश्नहरूलाई
अब त न्याय देऊ पीडाहरूलाई
अब त नेतृत्व देऊ समयलाई
अब त सम्बोधन गर मागहरूलाई।
जेन–जी मागिरहेछ– न्याय र सत्यको संसार
युवा चाहिरहेछ— आत्मनिर्भर देश
जनता खोजिरहेछ— सुध्रिएका दलहरू
भुइँमान्छे सोचिरहेछ– राजनीतिक पुस्तान्तरण।
समय पर्खिरहेछ, गल्तीहरू स्वीकार
अझै भनिरहेछ, आफैंलाई सुधार
समयलाई आफूअनुकूल होइन
आफूअनुकूल समय बनाऊ
तब पो हुन्छ, युगको सम्मान
तब पो भेटिन्छ खोजेको परिणाम।
प्रतिक्रिया दिनुहोस !