समृद्धि गुमनाम नायकहरू
जन्मदेखि मृत्युसम्म मौलिक सामाजिक संस्कार परम्पराहरूलाई आजसम्म जीवित राखेका छन्। उनीहरूमा समुदायको अगुवाइ गर्ने धामीझाँक्री वा नाइके परम्परा छ। उनीहरूले मानव सभ्यता विकासमा दिइएको योगदान अतुलनीय छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार १ सय ४२ जाति, समुदाय सूचीकृत छन्। त्यसमध्ये सार्की जाति जनसंख्याको हिसाबले १४ औं स्थानमा सूचीकृत छन्। उनीहरूलाई जातीय समूहका हिसाबले हिमाल–पहाडका रैथाने शिल्पी –कथित दलित) समुदायभित्र सूचीकृत गरिएको छ। उनीहरूका आफ्नै पुख्र्यौली मौलिक जातीय परम्परा, लोकसंस्कार, लोकसंस्कृति, लोकपरम्परा, वेशभूषाहरू छन्। जन्मदेखि मृत्युसम्म मौलिक सामाजिक संस्कार परम्पराहरूलाई आजसम्म जीवित राखेका छन्। उनीहरूमा समुदायको अगुवाइ गर्ने धामीझाँक्री वा नाइके परम्परा छ। उनीहरूले मानव सभ्यता विकासमा दिइएको योगदान अतुलनीय छ।
पशुपंक्षी र जनावरहरूका छालाजन्य शिल्प–हस्तकलाको अन्वेषण, आविष्कार र विकासबाट सिंगो मानव सभ्यताले फड्को मारेको सहजै बुझ्न सकिन्छ। मानवका शिरदेखि पाउसम्म, घरभित्र र बाहिरका दैनिक कार्यमा छालाजन्य हस्तकलाकै प्रयोग गरिन्थ्यो। मानिस बस्न थर्पु वा गोठ, शरीर ढाक्ने बस्त्रको रूपमा, सुत्न र ओढ्न, पानी राख्न, दूध, दही जमाएर मोही पार्ने कुलु, छालाको बन्दुक, पैसा, कार्यालयका कागजात राख्ने अभिलेख, घोडाको काठीकाँधी बाँध्ने डोरी, गोरु जोत्ने हल्लुड, बस्ने मुढा, मादल, खुकुरी, खुँडा, तरबारको दाप, छालाजन्य घरायसी (चाल्नो, डोको, डालो, डोरी, नाम्लो) सामग्री र ज्याकेट, स्टकोट, टोपी, जुत्ता, चप्पल बनाउने सिर्जनाकार सार्की जातिको देन छ। दैनिक आवश्यकतालाई सहज बनाउन छाला प्रशोधनशाला, चर्मशास्त्रको विकास, अन्वेषण र आविष्कारबाट समाजमा ठूलो परिवर्तन ल्यायो।
यस तथ्यबाट सार्कीहरूको आनुवंशिक ज्ञान परम्पराको महत्त्व र वैज्ञानिकता स्पष्ट हुन्छ। उनीहरूका सांस्कृतिक सम्पदा उत्तिकै विशिष्ट छन्। त्यस्ता मौलिक सम्पदाहरू कतिपय लोप भए, केही सम्पदाहरू आजसम्म अस्तित्वमा छन्। उनीहरूसँग पछिल्लोपटक साबर र छालाजन्य शिल्प–हस्तकला बनाउने सीपकला, प्रविधिमात्र जीवित छन्। आजसम्म छालाजन्य विभिन्न सरसामग्रीहरू उत्पादन गरेर सीपकला, प्रविधिलाई निरन्तरता दिँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार यस्ता छालाजन्य हस्तकलाको विकास आजभन्दा करिब सात हजार वर्ष अघिबाट भएको मानिन्छ।
ऋग्वेदमा छालाको काम गर्ने चर्मन अर्थात् चमार वा सार्कीको नाम उल्लेख भएको छ। वाजसनेयी संहितामा चाण्डाल र पौल्कसको नाम पाउन सकिन्छ।
दैनिक आवश्यकतालाई सहज बनाउन छाला प्रशोधन, अन्वेषण र सिर्जनाकार सार्की जातिको योगदान अतुलनीय छ। यद्यपि सार्कीहरू नश्ल, वंश, राजकाज, वेशभूषा, लोकपरम्परा र सांस्कृतिक हिसाबले हिन्दु वर्णव्यवस्थाभन्दा बाहिरका मानिन्छन्। तिनलाई वर्ण व्यवस्थाभित्र ल्याई अछूत बनाएर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रूपमा बहिष्करण गरियो। यसबाट उपेक्षित र अपमानित जीवन जिउन बाध्य पारियो।
जनकलाल शर्माका अनुसार हाम्रो समाजमा अस्पृश्यताको भावना ल्याउने प्रमुख कारण स्मृति, धर्म, पुराण, ग्रन्थलाई मानिन्छ। यसको जग भनेको देवालय हुने गरेको छ। स्मृतिग्रन्थमा वर्णित अनेक जातिको नाम वेदमा पनि पाइन्छ। ऋग्वेदमा छालाको काम गर्ने चर्मन अर्थात् चमार वा सार्कीको नाम उल्लेख भएको छ। वाजसनेयी संहितामा चाण्डाल र पौल्कसको नाम पाउन सकिन्छ। यसैगरी अस्पृश्यताको अर्को कारण हो, म्लेच्छ अर्थात् अहिन्दु जाति र कुनै खास देशको निवासी वा कुनै खास धर्म मान्ने व्यक्तिको संसर्ग वा त्यस्तो व्यक्ति पनि अस्पृश्य मानिन्छ। यतिमात्र होइन, कुनै समय माझी, व्याधा, कसाई, धोबी, कामी, दमाई, सार्की, मुसलमान, इसाई आदि सबै अस्पृश्य मानिन्थ्यो। तर पछि माझी अस्पृश्यमा गनिन छोडियो (जनकलाल शर्मा, २०३९ : ६०, ६१)।
साबर (रसा युनिकलर) हिमालयको दक्षिण ढालमा पाइने मृग हो। दैलेखी साबर जुत्ता पनि यसैबाट बन्छ। ‘पवित्र’ मृगको र मयलपोससँग रंग मिल्ने भएर पनि यसले मान्यता प्राप्त ग¥यो। सार्की शब्द तिब्बतको साँ¥हाकबाट आएको भन्ने भनाइलाई मान्ने हो भने तिब्बती प्रभाव मान्नुपर्ने हुन्छ। मिजारको अर्थ हुन्छ रातो रंगले छाला रंग्याउने व्यक्ति (सौरभ, २०७१ : ९४, ११८)।
विभिन्न मतमतान्तर रहे तापनि सार्की जाति नेपालकै पुरानो किराँत मूलका बाहुल्य रहेको मिश्रित नश्लका आदिमवासी–मूलवासी हुन्। पंक्तिकारको पछिल्लो खोजका अनुसार सार्की शब्द मध्य नेपालको गोरखा जिल्लामा रहेको सार्की–चमार हिमाल (७१६५) बाटै उत्पत्ति भएको पाइन्छ। सोही हिमालको नामबाटै ‘सराक, साराक’ ‘सारकी’ अपभं्रश हुँदै सार्की शब्दको उत्पत्ति भएको बलियो प्रमाण छ (पर्यटन विभाग, सन् २०२४ : ४२८ )।
डा. केशवमान शाक्यका अनुसार कर्णाली भेगमा रहेका वर्तमान समयमा कथित दलित, त्यो बेलाका शुद्रहरू ईशाको पाँचौं शताब्दीमा खसहरू आइपुग्नुभन्दा अघिका प्राचीन अविकसित कविला अनादिवासीहरू र उनीहरू प्रकृति पूजक रहेको मत छ। नेपालका सार्की जाति सबैभन्दा पुरानो जातिहरूमध्यका एक आदिमवासी हुन्। विभिन्न धार्मिक ग्रन्थ, अभिलेख, पुराताŒिवक, ऐतिहासिक, लोककिंवदन्ती र सांगीतिक सन्दर्भहरूमा उनीहरूको उल्लेख भएको पाइन्छ। अध्येता भोगीराज चामलिङका अनुसार किराँतीहरूको मुन्धुममा समेत सार्की जातिको सन्दर्भ जोडिएको पाइन्छ। यस तथ्यबाट सार्कीहरू सबैभन्दा पुरानो आदिमवासी रहेको पुष्टि हुन्छ।
सार्की (चमार) वंशका राजकाज : विगतमा सार्कीहरू राजकाज गरिसकेका शक्तिशाली राजवंशका सन्तान हुन्। उनीहरू ज्ञान, शिल्प–हस्तकला–प्रविधि र संस्कृतिले भरिपूर्ण छन्। उनीहरूलाई बाइसी, चौबीसी राज्यलाई एकीकरण गर्ने बेलाको इतिहासलाई हेर्दा, यो जाति समाजमा दक्ष, कुशल, शिल्पी, साहसी, शूरवीर र लडाकु योद्धाको रूपमा रहेका विभिन्न अभिलेखमा दस्ताबेजीकरण गरेको पाइन्छ। सार्की जातिको एक शाखा मग्रातीका पुर्खाहरूले मध्य नेपालको मगरात क्षेत्रमा राजा बनेर राज्यशासन गरेको बुझिन्छ।
विं.सं. १८२५ तिर गोर्खाका राजा पृथ्वीनारायण शाहले मकवानपुरे सेन राजा दिग्बन्धन सेनलाई पराजित गरेपछि दिग्बन्धन सेनका शाखा सन्तानहरूलाई सार्की बनाएका थिए (दानबहादुर विश्वकर्मा, २०७४ : ५, ६)।
सार्की (चमार) एक शक्तिशाली राजवंशको रूपमा रहेको तथ्य पाइन्छ। विभिन्न राजवंशहरूमा–चँवर, चमार, चौर, चालुक्य, सौर, शवर, गहवार, शंखवार, महार, चोल, भील, भुल, भगैल, सोलंकी, साड्की, सार्कीलगायतका जातिहरू चमारअन्तर्गत नै पर्छन्। जसको जातिगत वंशानुगत शिल्प–हस्तकला, पेसा चर्मसम्बन्धी रहेको छ। उनीहरू प्राचीन राजवंश भएको कुरा ऐतिहासिक सन्दर्भहरूमा उल्लेख गरिएको पाइन्छ। चमार वंशका राजाहरूले मानव समाजको आदिम अवस्थादेखि एघारौं शताब्दीसम्म चमरावती, चितौड, राजस्थान, सौराष्ट, महाराष्ट्र, अनहिलवाड, वल्लभी, वाराणसी, दिल्ली, उज्जैन, कनौज अर्थात् सिंगो सिन्धु मैदानका साथै भारत, नेपाल, सिक्किम, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्सलगायत सार्कका विभिन्न स्थानमा राज्यकेन्द्र बनाएर राज्यशासन गरेका थिए।
चमार (सार्की) वंशीय राजाहरूले लामो समयसम्म राजकाज र शासन गरेको कुरा के.पी. शंखवारद्वारा लिखित ‘शुद्रोका खोजपूर्ण इतिहास अर्थात् सच्चा भारतका इतिहास’मा उल्लेख गरिएको छ। यीमध्ये चमर वंशका प्रथम राजा चमरसेन थिए भने अन्तिम राजा कर्णदेव द्वितीय थिए। त्यसैगरी, पहिलो शताब्दीतिर उज्जैनमा भिल राजाहरूले राज्यशासन गरेको पाइन्छ। भिल राजाहरूमा विक्रमादित्य प्रसिद्ध राजाको रूपमा परिचित छन्। राजा विक्रमादित्य गर्दभीलका पुत्र थिए। चमार राजा साहसीरायको कुल वंशले सिन्धु देशमा दसौं पुस्तासम्म राजकाज गरेको कुरा ऐतिहासिक स्रोत सन्दर्भहरूमा उल्लेख गरिएको पाइन्छ। प्राचीन सिन्धु सम्राट् चुमरी, चामुण्डाराय, चौँवरसेन, चित्रसेन, सारङदेव, विक्रमादित्यलगायतका राजाहरू र राजमाता सुदामा, तपसी शिवरी, सन्तगुरु रैदास, स्वामी अछुतानन्द, स्वामी रमानन्द, स्वामी समनदास, भारत रत्न डा. भीम राव अम्बेडकर, बाबु जगजीवनराम, कासीराम, मायावती, रुस आधुनिकीकरणका पिता जोसेफ स्टालिनजस्ता विश्वविख्यात् हस्तीहरू सार्की जातिकै थिए।
इटलिका नागरिक कापुचिन पादरी कास्सिआनो १७३९–१७५४ ईश्वीभित्र पटकपटक नेपाल भ्रमण गरेर सिम्रौनगढको पर्खालको बारेमा उनको रिपोर्टमा उल्लेख गरेको पाइन्छ। उनका अनुसार (चर्मनगढ, चिमनगढ हुँदै) सिम्रौनगढका चक्रव्यूहाकार चित्र भक्तपुर दरबार क्षेत्रमा थियो, जसको प्रकाशन उनले इटलीका पत्रिकामा गरेका थिए (बहुभाषिक सयपत्री, वर्ष–४, २०५५ : १४९)। डा. नवल वियोगीका अनुसार भारतका अनुसूचित जाति, नेपालका रैथाने शिल्पी समुदाय मूलत : द्रविड र नागपाल वंशका हुन्। सार्की राजाहरूले सर्वप्रथम छालाका मुद्रा निर्माण गरेर समाजमा मुद्राको सुरुवात् गरेको इतिहास पाइन्छ।
औजार वा प्रविधि
कुनै शिल्प–हस्तकला र विभिन्न सरसामग्री उत्पादनका लागि औजार वा प्रविधिको आवश्यकता पर्दछ। सार्कीहरूले छालाका विभिन्न शिल्प–हस्तकला उत्पादनका लागि परम्परागत विभिन्न आधुनिक मिश्रित औजार वा प्रविधिको प्रयोग गर्दै आएका छन्। जुन औजार वा प्रविधि यस प्रकार छ :
१) बाँक २) मुकुर्चा ३) छेड्ने आरो ४) सिउने काँटे आरो ५) पनिती (सम्म) ढुंगा (पहिले) ६) बजारको उध्याउने ढुंगा (अहिले) ७) क्यातुके (केतुके) पाट (धागो) ८) भैंसी, गाई, गोरुको नहर ९) मैन १०) गाई, गोरु, भैंसीको सिङ ११) बोसो १२) भाँडी झोला १३) भाँडी झुन्ड्याउने सिंगार १४) दापमा बुट्टा हान्ने रेखे (सल्लो, उत्तिसको काठ) १५) गाई, गोरु वा भैंसीको करङ १६) काठको अचानो १७) गाब (पानी उमालेर कोदोको पीठो पकाइन्छ, यसले खुकुरीको छालाको दापको जोर्नीलाई जोड्ने गर्दछ) १८) भात (कतिपय ठाउँमा गाब नभएको अवस्थामा भातको प्रयोग गरिन्छ)।
छालाजन्य जुत्ता–चप्पल शिल्प–हस्तकला : टीकाथली ललितपुरका विकास पुर्कोटीका अनुसार सबैभन्दा पहिला जुत्ता–चप्पल बनाउने साँचो (फर्मा, डाई वा मेसिन) कालो (काली माटी) माटाको बनाइन्थ्यो। यो कुरा पुर्कोटीले आफ्नो बुबा र बाजेबाट सुनेको बताउँछन्। पुरुष, महिला, बालबालिकाको खुट्टाको आकारको माटाका साँचो बनाइन्थ्यो। त्यो साँचोमा छालाको जुत्ता–चप्पल मोडेर जोडी सकेपछि माटोलाई टुक्रा पारेर निकालेर जुत्ता–चप्पल तयार पारिन्थ्यो। यसरी माटाको साँचोलाई बनाउँदै, फोड्दै जुत्ता–चप्पल तयार पारिन्थ्यो।
यस्तो झन्झटबाट मुक्त हुनका लागि काठको साँचो बनाएर प्रयोग गर्न थालियो। काठको साँचोलाई आधुनिक प्लास्टिकको साँचोले विस्थापित गरिदियो। हिजोआज पुरानो काठको साँचोबाट जुत्ता–चप्पल बनाउनु त परै जाओस् देख्नसमेत मुस्किल छ। तर महालक्ष्मी नगरपालिका (अमन टोल), वडा नम्बर ३, ललितपुरका राजेश मग्रातीले भने पुरानो काठकै साँचो प्रयोग गरिरहेका छन्। यो एक अपवाद र संयोग नै मान्नुपर्छ। किनकि हिजोआज सबैतिर प्लास्टिकका साँचो र आधुनिक मेसिनबाट जुत्ता–चप्पल बनाइन्छ। तर मग्रातीले पुरानै काठको साँचोबाट निकै आकर्षक र गुणस्तरीय जुत्ता–चप्पल बनाइरहेका छन्।
मग्रातीले आफ्नो पुख्र्यौली शिल्प–हस्तकला बुबा लुरे सार्कीबाट सिकेर निरन्तरता दिइएको ३२ वर्ष पूरा भएको बताउँछन्। आफ्नो पुख्र्यौली ज्ञान विपरीत पढाइ हुने विद्यालय शिक्षामा राजेश रम्न सकेनन्। उनले १० कक्षासम्म पढेर बीचमै छाडी बाजे गोप्य सार्की र बुवाको सहयोगमा आफ्नै छालाजन्य हस्तकलालाई नै निरन्तरता दिए। पहिला अमन टोलमा करिब २२ घर सार्की रहेकोमा अहिले करिब ५५ घर छन्। यहाँ आफ्नो पेसालाई निरन्तरता दिनेहरू घट्दै छन्। साबिक इमाडोल गाविस वडा नम्बर २, मट्टारमा रहेको सार्की टोल नगरपालिका बनेपछि ३ र ५ नम्बर वडामा बाँडियो।
मग्रातीको घरको आर्थिक अवस्थाले आफ्नै पेसामा अडिन बाध्य बनायो। उनको दुई छोरी, एक छोरासहित पाँच जनाको परिवारको लागि चुल्हो बाल्ने सहारा यही पेसा बनेको छ। उनले २०५२ सालमा जुत्ता–चप्पल पसल सञ्चालनमा ल्याएपछि राम्रोसँग चलिरहेको थियो। मग्राती भन्छन्– ‘बीचमा आर्थिक अवस्था त्यति राम्रो नभएकोले २०६० सालमा विदेश (कतार) गएँ, त्यहाँ चार वर्ष बिताएँछु। तर मलाई विदेशमा बस्न मन लागेन। नेपाल फर्किएपछि पुन : आफ्नै छालाजन्य हस्तकलालाई निरन्तरता दिइरहेको छु। आफ्नो पुख्र्यौली ज्ञान, सीपकला, प्रविधिप्रति गर्व गर्छु। किनकि यही कामले आजसम्म मलाई र मेरो परिवारको जीविका चलिरहेको छ। अहिले मैले जुन हस्तकला उत्पादन गर्दछु, त्यो सबै मेरा बुवाबाट सिकेको हो। पहिला सबै छालाजन्य हस्तकला शुद्ध छालाबाट बनाउँथ्यौं। मेरा बुवाले गाई, गोरु, राँगा, भैंसी, बाख्राको छाला संकलन गरेर त्यसमा विभिन्न औषधि हालेर खाडलमा राखेर छाला नै तयार गरेको याद छ। यस्ता छालाजन्य हस्तकलाका सामग्री घर, गाउँमै बिक्रीवितरण र खपत हुन्थ्यो।
छालाजन्य हस्तकला न्युन मूल्यमा बिक्री हुनाले मेहनतअनुसारको फाइदा हुँदैनथ्यो। यस्ता सबैजसो हस्तकलाका सामग्री बुवाले हातैले सिलाएको देखेको छु। मेरो बाजे र बुवाको पालामा सिलाउने धागो, काँटी वा किलासमेत बाँसको नै थियो। बाँसको धागोसँगै नालो (सनपाटजस्तो रेसादार धागो निस्किने, खेत, मकैबारीमा आफैं उम्रिने एक प्रकारको वनस्पति) को धागो पनि प्रयोग गरिन्थ्यो। त्यतिबेला सबै कुरा हातबाटै बनाउनु परेकोले एक जोर जुत्ता–चप्पल बनाउन हप्ता, दस दिन लाग्ने बुवाबाट सुनेको छु।
महिलाको साँचो ३४ देखि ४० नम्बरको हुन्छ भने बालबालिकाहरूको ६ देखि १३ नम्बरको हुन्छ। पुरुषको साँचो ३० देखि ३८ र ठूलोमा ३९ देखि ४४ नम्बरसम्मको हुन्छ। काठमाडौं उपत्यकाभित्रै जुत्ता–चप्पल शिल्प–हस्तकला उत्पादनमा पुरानो प्रविधिकै प्रयोग गरिनु अचम्मको कुरा हो। अहिले सबैतिर आधुनिकताको लहर र प्रयोग चलिरहेको छ। मग्रातीले जुत्ता–चप्पल उत्पादनमा पुरानै ज्ञान, सीपकला, औजार वा प्रविधिमा आफ्नो सीपलाई चम्काइरहेका छन्। यस तथ्यबाट स्थानीय सरकारको मौलिक सीपकला आधुनिकीकरणमा ध्यान नपुगेको देखिन्छ।
मग्रातीका अनुसार उनले सरकारबाट कुनै सहयोग आजसम्म पाएका छैनन्। विभिन्न सामाजिक संघसंस्थाहरू छन्। तर कुनै संस्थाको नजर हाम्रो हस्तकलामा परेको छैन। समुदायको उत्थानका लागि कसैको ध्यान गएको पाइँदैन। यो हाम्रै कमजोरी हो कि, सम्बद्ध संस्थाले चासो नदिइएका हुन् ? पुरानो प्रविधिका संरक्षक राजेश मग्रातीको भनाइ विचारणीय छ। उनले उत्पादन गरेको जुत्ता–चप्पल जोडीको एक हजारदेखि १५ सय रुपैयाँमा बेच्दै आएको बताउँछन्। उनले प्रयोग गर्दै आएको पुरानो औजार यस प्रकार छ :
१) माटा (काली माटी) को साँचो, २) काठको महिला–पुरुष साँचा,े ३) बाँसको धागो, ४) बाँसको किला, ५) नालो, (सनपाट जस्तो रेसाखार धागो निस्किने वनस्पति) ६) काली रंग, ७) ढुंगाको पलेँटी, ८) मार्बल (अहिले) को पलेंँटी, ९) छाला खुर्काउने कालो पालिसको प्वाल पारिएको बिर्को, (रबर सोल बबिङ गर्ने, खाक्सीको विकास नहुँदा), १०) मैदा वा भातको गाब, ११) खस्रो वा मसिनो खाक्सी, १२) तीन खुट्टे, १३) मुर्कुचा, (ह्यामरको काम गर्छ) १४) फलामे माछा पेन्चिस, १५) पहिलाको तिनपाटे पुरानो आरो, १६) अहिलेको गोलो आरोे, १७) बाँक, १८) कैंची, १९) ट्यांग,
२०) छाला वा केतुकेको धागो।
पुछारमा : नेपाली समाजमा श्रमिक र श्रमको अवमूल्यन गर्ने मनोविज्ञान एवं सरकारी उपेक्षाको सिकार सार्की जातिको परम्परागत पेसा बनको छ। उनीहरूको मौलिक आदिमवासी ज्ञानपरम्परा छालाजन्य शिल्प–हस्तकला लोपोन्मुख भएको छ। यसको पुस्तान्तरण, संरक्षण, सुरक्षा नहुनु, जीविकोपार्जनसँग नजोडिनु, पुँजी, प्रविधि र पहुँचको अभाव हुनु, सरकारी नीतिगत संरक्षणको अभावले गर्दा संकटमा पर्दै गएको छ। यसका साथै उनीहरूका भौतिक, अभौतिक सामाजिक, सांस्कृतिक सम्पदासमेत छायाँमा परेको छ। सार्कीहरू जस्तै सयौं अरू समृद्धिका नायकहरू विपन्नताको खाडलमा धकेलिनु नै मुलुक दुर्गतिको कारक बुझ्न निकै ढिला भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !