अमेरिकी भ्यागुताले अस्ट्रेलियामा निम्त्याउँदै जैविक संकट
मेलबर्न (अस्ट्रेलिया) : एउटा सानो भ्यागुताले अस्ट्रेलियामा ठूलो जैविक संकट निम्त्याएको खबर सुन्दा विश्वास गर्न गाह्रै होला। अझै संस्कृति र आर्थिक क्षेत्रमा समेत क्षति पुर्याउँदै छन्, भन्यो भने त पत्याउनै मुस्किल पर्छ। तर, वैज्ञानिक अध्ययनले यो समस्या वास्तविक र निकै गम्भीर भएको देखाएको छ।
लामो खोज अनुसन्धानपछि अस्ट्रेलियन वैज्ञानिक र अनुसन्धानकर्ताहरूले भ्यागुता प्रजाति ‘केन टोड’ लाई जैविक सन्तुलनमा ठूलो संकटको रूपमा चित्रित त गरेका छन् नै, केनटोडका कारण अबको अवस्था निकै भयावह देखिएको भन्दै गहिरो चिन्ता पनि व्यक्त गरेका छन्।
उनका अनुसार, स्थानीय प्रजातिका करिब ९० प्रतिशत बासस्थान विषालु केनले ओगट्ने खतरा छ। यसले त्यहाँ पाइने २५ वटा हड्डी भएका प्रजातिहरूमा घातक प्रभाव पार्ने र संख्यामा कमी ल्याउने अनुमान गरिएको छ।
डर्बी र ब्रुम पश्चिमी अस्ट्रेलियाका समुद्री किनारका मानव बस्ती हुन्। ब्रुम मोती उद्योगका लागि प्रसिद्ध छ भने डर्बी एक प्रमुख बन्दरगाह र व्यापारिक केन्द्र हो। खनिज स्रोतका लागि महत्वपूर्ण पिलबारा क्षेत्र डर्बी र ब्रुमबाट करिब ९ सय ८५ किलोमिटर टाढा छ। डा. डनलपले अनुसन्धान प्रतिवेदनमा पिलबारातर्फ केनको बढ्दो उपस्थितिलाई चिन्ताजनक भनेकी छिन्।
कुनै बेला ऊखुबालीमा लाग्ने भुसुना किरा नियन्त्रण गर्न अमेरिकाबाट हवाई मार्गमार्फत केनहरू ल्याइएका थिए। तीनै केनहरू अहिले अस्ट्रेलियाको जैविक सन्तुलन बिगार्ने संकटको रूपमा देखिएका छन्। प्रारम्भमा वैज्ञानिकहरूले सोचेका थिए कि केनले केवल किरा खाइदिन्छन्, तर उल्टो भयो। यी भ्यागुताहरू अब खेतबारी, जंगल र मानव बस्तीतिर फैलिरहेका छन्।
पश्चिमी अस्ट्रेलियाको विश्वविद्यालयको अनुसन्धानले देखाएको छ कि, केनको आक्रमणले ५ स्तनधारी र ४ घस्रिने प्रजाति उच्च खतराको सामना गर्दै छन्। यसले पिलबाराका आदिवासी समुदायका परम्परागत खाद्य स्रोत र जीवनशैलीमा पनि प्रभाव पार्ने छ।
वैज्ञानिकहरूले आक्रमणकारी भ्यागुता नियन्त्रण गरी अस्टे«लियाको जैविक विविधता र मानव सस्कृति संरक्षणका उपाय अपनाउन सरकारलाई सुझाव दिएका छन्। पश्चिमी अस्ट्रेलियाको विश्व विद्यालय जैविक विविधता, संरक्षण र आकर्षण विभाग (डीबीसीए)को आर्थिक सहयोगमा डा.जुडीसहित विभिन्न सोधकर्ताहरूले गरेको अनुसन्धान प्रतिवेदनले ५ स्तनधारी र चार घस्रिने प्रजाति उच्च खतरामा पर्ने उल्लेख गरेका छन्।
यस्तो प्रजातिका भ्यागुताले पुर्याउने क्षतिका कारण पिलबाराका आदिवासीहरू समेत संकटमा पर्ने खतरा देखिएको छ। संक्रमणले त्यहाँ सस्कृति र परम्परामा नराम्रो प्रभाव पार्नुका साथै उद्योग र खानीमा समेत आर्थिक प्रभाव पार्नेछ। ‘यस्तो अवस्थामा पनि कुनै नियन्त्रणका उपाय अपनाइएन भने वातावरणीय सँगै आर्थिक क्षति उच्च हुने छ,’ वैज्ञानिक जुडीले अनुसन्धान प्रतिवेदनमा भनेकी छन्। यो सामान्य जैविक समस्या मात्रै होइन। पिलबारा क्षेत्र आदिवासी समुदायका लागि सांस्कृतिक महत्वको विशाल खानी हो। जहाँ गोन्ना, निलो–जिब्रो स्किङ र भ्यागुता खाने सर्प जस्ता जनावर परम्परागत भोजन र जीवनशैलीसँग गहिरो सम्बन्ध राख्छन्।
आक्रमणकारी प्रजाति परिषद्की नीति विश्लेषक डा. क्यारोल बुथ आदिवासी समुदायको खाद्य सामग्री (परम्परागत खाद्य स्रोतहरू)मा असर पारेको बताउँछिन्। भन्छिन्, ‘यसले साँच्चिकै सर्वप्रथम भोजन, जीवन शैलीमा पनि असर पारेको छ। अनि गम्भीर जैविक जोखिम निम्त्याएको छ।’
उनी वैज्ञानिक तथा सावधानीपूर्ण नीति केन्द्रित उपाय अपनाउनुपर्ने कुरामा जोड दिन्छिन्। भन्छिन्, ‘यहाँका प्रजाति हराए भने पिलबाराका परम्परागत संरक्षकहरूले आफ्नो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश गुमाउनेछन्।’अनुसन्धान प्रतिवेदन गत १० नोभेम्बरमा सार्वजनिक गरिएको थियो। केन टोडलाई ‘राइनेला मरिना’ नाम दिइएको छ।
केनले किम्बर्ली क्षेत्रभरि स्थानीय वन्यजन्तु तहसनहस गरिसकेका छन्। ब्रुम छिचोलेर पिलबारा तर्फ बढ्दै छन्। पिलबारा नयाँ बासस्थान बनाउने खतरा देखिएको छ। ‘त्यसपछि रोक्न सक्ने कुनै उपाय देखिँदैन’ वैज्ञानिकहरूले भनेका छन्, ‘यदि अहिले नै रोकिएन भने, पिलबाराको भविष्य नै संकटमा पर्न सक्छ।’
पछिल्ला अध्ययनले देखाएको दृश्य निकै चिन्ताजनक छ। आगामी ३० वर्षभित्र पिलबाराको ७५ प्रतिशत भू–भाग त्यस्ता विषालु भ्यागुताहरूले ढाक्ने सम्भावना उच्च छ।
केनहरू वर्षमा करिब ४०–५० किलोमिटर दक्षिणतर्फ सर्दै आएका छन्। यस्ता भ्यागुताले मरुभूमि छिचोल्न सक्दैनन्। तर, गाईवस्तुले पानी खाने ठाउँहरू ‘सिँढी वा ढुंगा’ बनेका छन्। यही कृत्रिम जलस्रोतले मरुभूमि पार गर्न मद्दत गरिरहेको छ।
अनुसन्धानमा संलग्न टिमका सदस्य कर्टिन विश्वविद्यालयका प्रोफेसर बेन फिलिप्स भन्छन्, ‘पहिलो पटक हामीसँग आक्रमणकारी प्रजातिलाई नै डिहाइड्रेसन गरेर रोक्ने मौका छ। यो रणनीति अस्ट्रेलियामा मात्रै सम्भव छ।’
प्रोफेसर फिलिप्सले पहिलो पटक सन् २००४ मा यस्ता भ्यागुताको अतिक्रमणले संकट निम्त्याउन सक्ने संकेत गरेका थिए। यो प्रजाति मुख्यतः जमिनमा, घाँसे मैदान, जंगलको छेउछाउ, घर छेउ, बगैंचा, सडकका छेउमा बस्ने गर्छन्।
अस्ट्रेलियामा सन् १९३५ बाट यसको संक्रमण सुरु भएको हो। त्यस ताका क्विन्सल्यान्ड राज्यमा ऊखुमा लाग्ने किरा नियन्त्रण गर्न भनेर अमेरिकाबाट हवाई मार्गद्वारा १ सय २ वटा ‘केनटोड’ ल्याइएका थिए। जर्नल साइन्टिफिक रिपोर्टमा प्रकाशित एउटा अध्ययनले नियन्त्रण प्रयासहरू भएनन भने विषालु भ्यागुताहरूले दक्षिणतर्फको आफ्नो यात्रा जारी राख्नेछन्।
आगामी ३० वर्षमा पिलबाराको ७५ प्रतिशत क्षेत्र संक्रमित हुनेछन्। तर, एक दशकभन्दा कम समयमा पनि व्यापक विनाश निम्त्याउन सक्छन्। यस्तो भ्यागुताको शरीरको छाला निकै कडा हुनुका साथै विष निकाल्ने क्षमता हुन्छ। यसको छालामा रहेका पेरोटोइड ग्रन्थीहरूले कडा विष (बुफोटोक्सिन) उत्पादन गर्छन्। जसले कुकुर, बिरालो, सर्प र अन्य जनावरलाई मारेका धेरै घटना छन्। अस्ट्रेलियामा यो प्रजातिलाई ‘सबैभन्दा विनाशकारी र आक्रमणकारी प्रजाति’ मध्ये एक मानिन्छ।
केनहरू दक्षिण तथा मध्य अमेरिका (मेक्सिकोदेखि दक्षिण अमेरिकासम्म) बस्ने प्रजाति हुन्। तर, खेतीबारीका किरा नियन्त्रण गर्न भनेर ल्याएपछि अहिले जैविक विविधता नै नष्ट हुन सक्ने खतरा देखा परेको छ। क्यारिबियन समुुद्र वरपरका देशहरूमा पनि समस्या देखिँदै छ। धेरै उष्णदेशीय क्षेत्रमा पनि सक्रमण बढ्दै गएको छ।
वन्यजन्तु संरक्षणका लागि अन्तर्राष्ट्रिय (आईयूसीएन)ले विश्वको १ सयभन्दा बढी आक्रामक प्रजातिहरूमध्ये एकको रूपमा सूचीबद्ध गरेको छ। यस्तो खतरनाक भ्यागुताहरू पानी नभएको क्षेत्र पार गर्न नसक्ने भएकाले संवेदनशील क्षेत्रमा ‘टोड’को प्रवेश रोक्ने रणनीति वा उपाए अपनाउन भनेका छन्।
लामो र अग्ला पर्खालहरू निर्माण गर्न सक्यो भने सक्रमण रोक्न सकिने आशा बैज्ञानिकले गरेका छन्। त्यस्ता पर्खाल कम्तीमा १५० किलोमिटर लामो हुनुपर्ने अपेक्षा गरिएको छ। यो प्रजातिले ठूलो सख्यामा राति लामो दूरी हिँडेर नयाँ ठाउँ कब्जा गर्छ। सेना, वैज्ञानिक, सरकार कसैले पनि सारा जंगल निगरानी गर्न सम्भव छैन। जसले गर्दा चुनौती देखिएको छ।
रिपोर्टका सहलेखक कर्टिनको स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेजका प्रोफेसर बेन फिलिप्सले ‘टोड कन्टेनमेन्ट जोन’ पनि करिब १५० किलोमिटर लामो हुनुपर्ने बताएका छन। तर, यस प्रजाति धेरै छिटो फैलिने र एक पटकमै ३० हजार भन्दा अण्डा पर्ने भएकाले नियन्त्रण कार्य चुनौतीपूर्ण हुने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !