‘तुमको मेरा आखिरी सलाम, गुडबाई’

‘तुमको मेरा आखिरी सलाम, गुडबाई’

मुम्बई (एजेन्सी) : बलिउड ब्लकबस्टर ‘शोले’ मा बीरुले ट्यांकीमाथि चढेर ‘गाउँ वालो, तुमको मेरा आखिरी सलाम, गुडबाई’ भने झैं चलचित्रमा बीरुको भूमिका निभाएका धर्मेन्द्र देवलले सोमबार संसारभरका प्रशंसकलाई गुडबाई गर्दै बिदा भएका छन्। हिन्दी सिनेमा उद्योगका ‘ही–म्यान’ का रूपमा चिनिने अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो।

धर्मेन्द्र अभिनयका लागि मात्र नभई सुन्दर रूपका लागि पनि चर्चित थिए। उनी आफ्नो समयमा संसारका सबैभन्दा सुन्दर पुरुषहरूको सूचीमा समावेश थिए। धर्मेन्द्रका आदर्शका रूपमा रहेका अभिनेता दिलीप कुमारले एक पटक एउटा कार्यक्रममा भनेका थिए, ‘जब म भगवान्लाई भेट्छु, मलाई किन धर्मेन्द्र जत्तिकै सुन्दर नबनाएको भनेर सोध्छु।’ 

दिलीप कुमारले जगाए अभिनयको चाहना 

उनका बुबा लुधियाना नजिकैको सानेवाल गाउँमा गणित शिक्षक थिए। त्यहाँ चलचित्र हेर्नु टाढाको सपना जस्तै थियो। एक दिन बाल्यकालमा धर्मेन्द्रले गोप्य रूपमा दिलीप कुमारको फिल्म शहीद हेरे, जुन १९४८ मा रिलिज भएको थियो। उक्त चलचित्र र दिलीप कुमारले उनको हृदयमा जादु गरेको धर्मेन्द्रले बताएका छन्। त्यसै चलचित्र हेरेपछि उनको भाग्यमा चलचित्रको छाप लागे जस्तै भयो। 

भाग्यले पनि धर्मेन्द्रलाई साथ दियो। सन् १९५८ मा फिल्मफेयर पत्रिकाले प्रतिभा खोजीको घोषणा गर्‍यो, जसमा बिमल रोय र गुरु दत्त जस्ता दिग्गज समावेश थिए। त्यतिबेला अन्तै काम गरिरहेका धर्मेन्द्र ‘जान मोहम्मद फोटो स्टुडियो’ मा गएर भने, ‘मलाई दिलीप कुमार जस्तो देखाउन केही गर, म छनोट हुनेछु।’ अनि त्यस्तै भयो। गाउँको केटो फिल्मफेयर पत्रिकाले प्रतिभामा छनोट भए र बम्बई पुगे।

बिमल रोयको धर्मेन्द्र र बन्दिनी
बिमल रोय आफैंले उनलाई चलचित्र ‘बन्दिनी’ मा पहिलो भूमिका दिए। रोय उनलाई धर्मेन्दु भनेर बोलाउँथे। बन्दिनी बनाउन समय लागे पनि अर्जुन हिंगोरानीले धर्मेन्द्रलाई चलचित्र ‘दिल भी तेरा हम भी तेरे’ को लागि पनि अनुबन्दित गरे। 

सन् १९६६ मा रिलिज भएको फूल और पत्थरले धर्मेन्द्रलाई एकल नायकको रूपमा पहिचान दियो। फिल्ममा एउटा दृश्य छ जहाँ एक ठग र रक्सी पिउने धर्मेन्द्रले आफ्नो शर्ट फुकालेर भिखारी र विधवालाई लगाउँछन्। त्यतिबेला अरू कुनै नायकको यस्तो शरीर थिएन। यो फिल्मले हि–म्यान र धर्मेन्द्रलाई पहिलो फिल्मफेयर मनोनयनमा पार्‍यो। 

६० को दशकको अन्त्यसम्ममा, धर्मेन्द्र सफलताको सिँढी चढिरहेका थिए, तर प्रतिस्पर्धा कडा थियो। ६० को दशकमा जब उनी अभिनयको सुरुवात गर्दै थिए, शम्मी कपूर चर्चामा थिए। १९७० को दशकसम्म, राजेश खन्ना धेरै लोकप्रिय थिए र जसरी उनी नयाँ उचाइमा पुग्दै थिए, अमिताभ बच्चन आँधी बनेर आए। तर, यी सबैको बीचमा धर्मेन्द्र सायद एक मात्र अभिनेता हुन् जो ६० देखि ८० को दशकसम्म उनी चर्चित भएरै टिकिरहे।

सन् १९७५ मा शोलेको समयमा बीरूको लोकप्रियता उचाइमा पुगेको थियो। बसन्तीसँगको उनको रोमान्स, उनले ट्यांकी चढेको दृश्यलगायतले धर्मेन्द्रको स्टारडमलाई अत्याधिक उचाइमा पुर्‍यायो । शोले भारतीय सिनेमाको इतिहासमा पहिलो फिल्म थियो जसले पहिलो पटकको रिलिजमै भारतभरका १०० भन्दा बढी थिएटमा रजत जयन्ती (२५–हप्ता) मनाएको थियो। हुन त धर्मेन्द्रलाई कमजोर नर्तक मानिन्थ्यो। यद्यपि, ‘जट्ट यमला पगला दिवाना’ जस्ता उनका गीतहरू दर्शकमाझ आज पनि लोकप्रिय छन्।

हेमा मालिनीसँगको हिट जोडी
सन् १९७० को दशकमा धर्मेन्द्र र हेमा मालिनीको ठूलो पर्दामा सफल केमिस्ट्री देखियो। भप्पी सोनीको तुम हसीन मैं जवान (१९७०) र असित सेनको शराफत (१९७०) बाट सुरु भएको यो जोडीले सीता और गीता (१९७२), समाधि (१९७२) र राजा रानी (१९७२) जस्ता चलचित्रहरूबाट आफ्नो सफलताको कथा स्थापित गर्यो। शोले (१९७५) सहित वास्तविक जीवनको यो जोडीले ३० भन्दा बढी चलचित्रहरूमा अभिनय गरे।

चलचित्रमा देवलहरू 
धर्मेन्द्रका दुई छोराहरू, सनी देओल र बबी देओल, बलिउडमा प्रख्यात स्टार बने। धर्मेन्द्रले आफ्ना दुई छोराहरूसँग दिल्लगी (१९९९), अपने (२००७) र यमला पगला दीवाना (२०११) जस्ता चलचित्रहरूमा सँगै काम गरेका थिए। धर्मेन्द्रले सनी देओलको सबैभन्दा ठूलो हिटमध्ये एक घायल पनि निर्माण गरे।
अन्तिम चलचित्र इक्किस
धर्मेन्द्रको अन्तिम चलचित्र इक्किस हुनेछ, जुन २०२५ को क्रिसमसमा प्रदर्शनमा आउनेछ।   श्रीराम राघवनद्वारा निर्देशित यो चलचित्र भारतको सर्वोच्च सैन्य सम्मान परमवीर चक्र प्राप्त गर्ने सबैभन्दा कान्छो लेफ्टिनेन्ट अरुण खेतरपालको विषयमा रहेको बताइएको छ। अगस्त्य नन्दले अरुणको भूमिका निर्वाह गर्ने छन् भने धर्मेन्द्रले अरुणको हजुरबुबाको भूमिका निर्वाह गर्नेछन्।

मोदीद्वारा शोक प्रकट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, ‘धर्मेन्द्र जीको निधनले भारतीय सिनेमामा एक युगको अन्त्य भएको छ। उहाँ एक महान व्यक्तित्व र एक प्रतिभाशाली अभिनेता हुनुहुन्थ्यो, जसले आफ्नो हरेक भूमिकामा एक अद्वितीय आकर्षण र गहिराइ ल्याउनुभयो। विभिन्न पात्रहरूलाई चित्रण गर्ने तरिकाले उहाँलाई धेरैको प्रिय बनायो।’

अभिनेता धर्मेन्द्र आफ्नो सरलता, नम्रता र न्यानोपनका लागि समान रूपमा परिचित रहेको जनाउँदै मोदीले थपे, ‘यो शोकको घडीमा उहाँको परिवार, साथीभाइ र अनगिन्ती प्रशंसकहरूप्रति म समवेदना व्यक्त गर्दछु। ओम शान्ति।’

उनको निधनमा विपक्षी दलका नेता राहुल गान्धीले सोमबार बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधनमा शोक व्यक्त गर्दै उनको मृत्युलाई भारतीय कला जगतका लागि अपूरणीय क्षति भएको बताए। उनले भारतीय सिनेमामा धर्मेन्द्रको ‘अतुलनीय योगदान’ को प्रशंसा गर्दै अभिनेतालाई सधैं सम्मान र प्रेमका साथ सम्झिने बताए।

नवाज शरीफ पनि धर्मेन्द्रका प्रशंसक 
धर्मेन्द्रको भारतमा मात्र नभई पाकिस्तानमा पनि ठूलो फ्यान फलोइङ छ, जसमा पूर्व ाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ पनि समावेश छन्। नवाज  शरीफ एक पटक भारत भ्रमणमा आउँदा आफ्ना परिवारका साथ कारमा यात्रा  गरिरहेका थिए। धर्मेन्द्रको घर अगाडि कार रोकेर उनले आफ्नो    श्रीमती र  छोराछोरीलाई धर्मेन्द्रको घर यही हो भनेर देखाएकासमेत थिए। 

धर्मेन्द्रको बम्बई यात्रा
सन्  १९३५ मा पञ्जाबमा जन्मिएका धर्म सिंह देओलले आफ्नो पुर्खाको गाउँ नरसालीबाट  बम्बईसम्म गरेको यात्रालाई एक सपनाको रूपमा वर्णन गर्न सकिन्छ। पर्दामा एक्सन हिरो र ‘हि म्यान’ ले परिचित धर्मेन्द्र कवि गुणले भरिपूर्ण थिए। धर्मेन्द्र चलचित्र अनुपमामा एक संवेदनशील लेखक, सत्यकाममा सामाजिक चिन्ता भएको आदर्शबादी र जिद्दी युवा, चुपके चुपकेमा हास्यास्पद प्राध्यापक परिमल त्रिपाठी आदि थिए। वास्तविक जीवनमा उनी एक कवि, एक प्रेमी, एक बुबा, संसारको सबैभन्दा सुन्दर पुरुष मध्येका एक, रक्सीको लतलाई जित्ने एक मानिस र एक समयका राजनीतिज्ञ पनि हुन्। 

धर्मेन्द्र आफ्नो अभिनयका लागि मात्र होइन, उदारताका लागि पनि चर्चित थिए। लेखक राजीव विजयकरको पुस्तक, ‘धर्मेन्द्र– नट जस्ट अ ही–म्यान’ मा यस्ता धेरै कथाहरूले भरिएको छ। पुस्तकमा भारतीय चलचित्र निर्देशक महेश भट्टले भनेका छन्, ‘म चलचित्र ‘दो चोर’ को सेटमा सहायकको रूपमा काम गरिरहेको थिएँ। मैले उचित निर्देशन नदिएका कारण ड्रेस मेकरले धर्मेन्द्रले लगाउनुपर्ने ट्रक चालकले पोसाक टाढाको होटलमा लगेर छोडिदिए। 

यो दृश्य बिहान सबेरै छायांकन गर्नुपथ्र्यो। अन्यथा निर्मातालाई ठूलो घाटा हुने थियो। मैले धर्मेन्द्रलाई मेरो समस्या बताएँ। उनले मेरो कुरा धेरै सहानुभूतिपूर्वक सुने। उनी उठे। नजिकै एक ट्रक चालक थिए। धर्मेन्द्र उनीकहाँ गए र चालकको फोहोर लुगा उधारो मागे। उनले आफ्नो उदारता र कल्पनाशक्तिले ड्रेसमेकरको गल्तीलाई ढाकछोप गरिदिए।’

केही दिनअघि मात्र धर्मेन्द्रलाई श्वास–प्रश्वासको  समस्याका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनी करिब १० दिनसम्म अस्पतालमै रहे। नोभेम्बर १२ मा उनलाई डिस्चार्ज गरिएको  थियो र त्यसपछि उनी घरमै आराम गरिरहेका थिए। यद्यपि हालैका दिनहरूमा उनको  मृत्युको बारेमा धेरै झूटा खबरहरू फैलिएका थिए, जसले गर्दा परिवारले  हस्तक्षेप गरी स्पष्टीकरणसमेत जारी गरेको थियो।

धर्मेन्द्रकी   श्रीमती अभिनेत्री हेमा मालिनी र छोरी नायिका इशा देओलले पनि पहिले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अपडेटहरू सार्वजनिक गरेका थिए। उनका छोरा सनी देओल र परिवारका अन्य सदस्यहरूले पनि त्यतिबेला गोपनीयताका लागि अनुरोध गरेका थिए।

उनको दाहसंस्कार मुम्बईको विले पार्लेस्थित पवन हंस शमशानघाटमा गरिएको थियो। अमिताभ बच्चन, शाहरूख  खान, सलमान खान, आमिर खान, अक्षय कुमार, जायद खान, अगस्त्य नन्दलगायत धेरै  बलिउड सेलिब्रेटीहरूले उनको अन्तिम संस्कारमा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.