जस्तो सांस्कृतिक सम्बन्ध, उस्तै राजनीतिक सम्बन्ध
नेपाल–भारतबीचको सम्बन्धको मूल जरा सांस्कृतिक एकता र धार्मिक परम्परामा गहिरिएको छ। आधुनिक सीमारेखाभन्दा हजारौं वर्षदेखि मिथिला–अवध क्षेत्रबीचको आवागमन, संस्कृति, भाषा र वैवाहिक सम्बन्धले दुई देशलाई एक परिवारसरह जोडेर राखेको छ। मिथिलाको विवाहपञ्चमी ऐतिहासिक सम्बन्धलाई आज पनि सबैभन्दा बलियो रूपमा जीवित राख्ने पर्व हो।
त्रेतायुगमा अयोध्याका भगवान् राम र जनकपुरकी माता सीताको विवाह भएयताकै प्रतीकका रूपमा नेपालको जनकपुरधाम र भारतको अयोध्यामा हरेक वर्ष लाखौं श्रद्धालुलाई आकर्षित हुन्छन्। महोत्सवमा जनकपुरमा १५ लाखसम्म श्रद्धालु आउने सरकारी तथ्यांकहरूले देखाउँछन्। जनकपुर–अयोध्या धार्मिक सर्किट सक्रिय भएसँगै भारतीय पर्यटक आगमन अझै तीव्र बनेको छ। तर जनकपुरमा होटल क्षमता करिब तीन हजार पाँच सय हाराहारी मात्र भएकाले अधिकांश पर्यटक धर्मशाला, अस्थायी आवास तथा खुला क्षेत्रमै बस्न बाध्यता छन्। अब भने सरकारले ध्यान दिन्छ कि ?
विवाह पञ्चमी केवल चाडमात्र होइन, यो नेपाल–भारतबीचको बेटी–रोटी सम्बन्धको प्रत्यक्ष जीवन्त माध्यम हो। सुदूर मिथिलाबाट गाइने वैवाहिक गीत ‘अवध नगरियासे एलै बरतिया...’ देखि ‘हमर पाहुन छथिन राम जनकपुरमे...’ जस्ता लोकगीतले दुई देशको सांस्कृतिक एकतालाई अझै बलियो बनाइरहेछन्।
महोत्सवका सात दिनमा जनकपुरमा करिब ६०–७० करोड रुपैयाँबराबरको व्यापार हुन्छ। जसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान गर्छ। तर सेवाग्राहीका लागि अव्यवस्थित यातायात, होटल भाडा उच्च, शौचालय र सरसफाइ कमजोरी, सुरक्षा व्यवस्थापन चुनौती बनेका छन्। धार्मिक पर्यटनलाई संगठित रूपमा अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच अझै प्रभावकारी समन्वय हुन जरुरी छ। संस्कृति र जनस्तरको सम्बन्ध अन्तहीन र निर्मल छ। तर राजनीतिक तहमा कहिलेकाहीँ सीमा विवाद, नाकाबन्दी, व्यापारिक असन्तुलन र कूटनीतिक संवेदनशीलताले सम्बन्धमा तनाव ल्याउने गरेका छन्।
दुई देशबीच वार्षिक व्यापार नेपालतर्फ झन्डै ७ खर्बभन्दा बढी घाटामा रहँदै आएको तथ्यांकले देखाउँछ। सीमामा करिब ७१ बिन्दु अनौपचारिक विवादित क्षेत्र छन्, जसले द्विपक्षीय सम्बन्धमा समय–समयमा तिक्तता ल्याउँछ। सांस्कृतिक रूपमा जहाँ नागरिक–नागरिकबीचको सम्बन्ध अति बलियो छ, त्यही आत्मीयता राजनीतिक तहमा स्थापना गर्न दुवै देशको समान जिम्मेवारी छ। सांस्कृतिक कूटनीति नेपाल–भारत सम्बन्धमा अत्यन्तै प्रभावकारी साधन बन्न सक्छ। रामायणी गन्तव्यहरूलाई जोड्ने धार्मिक सर्किट, सहज आवागमन, संरक्षित सीमा व्यवस्थापन, व्यवस्थित व्यापार नीतिले सम्बन्ध अझ मजबुत हुने स्पष्ट छ।
विवाह पञ्चमीले राष्ट्रको सीमाले सम्बन्ध तोड्दैन, साझा संस्कृति, आस्था र परम्पराले दुई देशलाई अभेद्य रूपमा बाँधेर राख्छ भन्ने सन्देश दिन्छ। सांस्कृतिक एकतालाई कूटनीतिक र आर्थिक समृद्धिको स्तम्भमा बदल्ने दूरदृष्टि दुवै देशका नेतृत्वले देखाउन सक्नुपर्छ। संस्कृतिले जोडेको सम्बन्धले राजनीति पनि मजबुत बनोस् भन्ने अपेक्षा दुई देशका नागरिकको छ।
प्रतिक्रिया दिनुहोस !