ग्लोबल एन्टिबायोटिक रेजिस्टेन्स सर्भिलेन्स रिपोर्ट २०२५ मा सन् २०२३ मा प्रयोगशालामा पुष्टि भएका हरेक पाँच संक्रमणमा एम एन्टिबायोटिकले काम नगर्ने अवस्था छ। सन् २०१८ देखि २०२३ सम्म ४० प्रतिशतभन्दा बढी रोगजन्य ब्याक्टेरियामा प्रतिरोध बढेको छ। संगठनका अनुसार, विश्वभर एक वर्षमा कुल मृत्युमध्ये १२ लाख २७ हजार मानिसको मृत्यु यसैका कारण हुन्छ। यो क्रम जारी रहे सन् २०५० मा एन्टिबायोटिकले काम नगरेर वार्षिक एक करोडको मृत्यु हुने अनुमान छ। संगठनले विश्वभर एन्टिबायोटिक औषधिप्रति ब्याक्टेरियाको प्रतिरोध तीव्र गतिमा बढ्दै गएको चेतावनी दिएको छ। हाल विश्वमा १ सय ३७ एन्टिबायोटिक संक्रमणको उपचारमा प्रयोग भइरहेका छन्। झन्डै ७० प्रतिशत औषधिमा एएमआर देखिएको संगठनको तथ्यांक छ।
सुपर बग/एएमआर : कुनै पनि औषधिले मार्न नसक्ने जीवाणुलाई सुपर बग भनिन्छ वा कुनै रोगका जीवाणुले औषधि पचाउन सक्ने अवस्था आए त्यसलाई सुपर बग मानिन्छ। सुपर बग भएपछि कुनै पनि किसिमका एन्टिबायोटिक औषधिले छुँदैन। एन्टिबायोटिकको बढी सेवन वा धेरै प्रकारका एन्टिबायोटिक प्रयोग गर्नु तथा पूरा समयसम्म नखानु वा विभिन्न किसिमका जीवाणुसँगै हुर्कंदा म्युटेसन, परिवर्तन भई नयाँ ब्याक्टेरियाको उत्पत्ति हुन्छ। यसरी उत्पन्न भएका जीवाणु पहिलेभन्दा बढी शक्तिशाली हुनाले यसबाट लाग्ने रोगको पनि जुनसुकै औषधिले उपचार हुँदैन। छिटो प्रजनन गर्ने ब्याक्टेरियाले एक मिनेटमा २० पुस्तासम्म बनाउन सक्छ। यस्ता सुपर बग अर्थात् प्रतिजैविक औषधि रेसिस्टेन्स ब्याक्टेरिया हानिकारक र अहानिकारक वा त्यही जीवाणु पटकपटकको औषधिको सम्पर्कले परिवर्तन भै नयाँजीव उत्पन्न हुँदा बन्छन्।
कुनै पनि एन्टिबायोटिकले नमार्ने वा नछुने सुपर बग दक्षिण एसियाबाट सुरु भएको युरोपेली वैज्ञानिकले बताएका छन्। भारत र पाकिस्तानमा उपचार गरेर स्वदेश फर्केका एक स्विडेनीले सन् २०१० अगस्ट १४ मा अस्पतालमा ज्यान गुमाएपछि यस विÈयले बढी चर्चा पाएको हो। उनको सबैभन्दा महँगो र कडा प्रतिजैविकी औषधिले पनि काम नगरी मृत्यु भएपछि सुपर बग फैलिने आशंका बढेको हो। हाल धेरै मानिस आफू योग्य र सस्तो उपचारका लागि खासगरी कस्मेटिक शल्यक्रिया गर्न ठाउँ, सहर र देश देश घुम्ने बढ्दो चलनले गर्दा यो सुपर बग विश्वभर चाँडै फैलिन सक्ने डरले विश्व आतंकित बनेको छ।
जाने वरदान नजाने विष : सन् १९२८ मा अलेक्जन्डर फ्लेमिड्डले फन्जाईबाट पहिलो एन्टिबायोटिक पेन्सिलिनको उत्पादन गरेका थिए। जसले दोस्रो विश्वयुद्धमा थुप्रैको ज्यान जोगायो तर १९५० देखि प्रभावकारिता ह्वात्तै घट्यो। भनिन्छ, कुनै पनि औषधि खानु भनेको जोखिम उठाउनु हो किनभने बनोट, काम, प्रकृति र शरीरमा पार्ने असर फरकफरक हुन्छन्। सन् १९४० को दशकमा एन्टिबायोटिकको आविष्कार भएपछि नाटकीय रूपमा संक्रमणबाट हुने रोग, त्यसका जटिलता र मृत्युमा कमी आएको छ, चिकित्सकीय स्याहारमा कमी आएको छ। जति एन्टिबायोटिक प्रयोग गरिन्छ, जीवाणुले त्यति नै उक्त एन्टिबायोटिकप्रति प्रतिरोध विकसित गर्छन्। एउटा एन्टिबायोटिक विकास गर्न दशक लाग्छ र करिब ३० करोड अमेरिकी डलर खर्चिनु पर्छ।
विश्व तथा नेपालमै पनि धेरै दुरुपयोग भएको औषधिमा प्रतिजैविक वा एन्टिबायोटिक पर्दछ। ब्याक्टेरियाका लागि मात्र प्रयोग गरिने यो औषधि महत्त्व नै नभएको विषाणु र एककोषिय जीवहरूवाट हुने संक्रमणमा र संक्रमण नै नभएकोमा, समस्या तथा रोगमा पनि प्रयोग भइरहेका छन्। एक अध्ययनमा झाडापखालामा दिनुपर्ने जीवनजल दुई प्रतिशतलाई तर झाडापखालामा सकारात्मक असर नपार्ने एन्टिबायोटिक औषधि ६८ प्रतिशतलाई दिइएको पाइएको छ।
विषाणुबाट हुने रुघाखोकीमा ९० प्रतिशतसम्म प्रतिजैविक औषधि दिएको पाइन्छ। यसरी अनावश्यक प्रयोग हुँदा ब्याक्टेरियामा प्रतिरोधात्मक क्षमताको विकास हुने र नकारात्मक असरहरू देखा पर्छ। जाने एन्टिबायोटिक वरदान हो, नजाने विष हो तर फुटपाथको चटकेले पनि बेच्ने वस्तु भएको छ यो। चिकित्सकबीच प्रचलित मान्यता छ, १० पटक सोचेरमात्र बिरामीलाई एक पटक एन्टिबायोटिक दिनुपर्छ तर स्वास्थ्यकर्मीहरूका व्यवहारमा त्यसो देखिँदैन। नेपालमा खपत हुने एन्टिबायोटिक ५० प्रतिशतभन्दा बढी विदेशबाट आयात हुने बताइन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिकको व्यापक दुरुपयोगले शरीरको प्रतिरोधात्मक क्षमतामा असर परी बर्सेनि लाखौंको मृत्यु हुने् गरेको छ। अध्ययनले ५३ प्रतिशत चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन गरेको पाइन्छ। रुघाखोकीजस्तो सामान्य अवस्थामा चिकित्सकले एन्टिबायोटिक नलेखिदिँदा ४८ प्रतिशत बिरामी चिकित्सक नै परिवर्तन गर्छन् भनी अध्ययनले देखाएको छ। बर्सेनि हजारौं क्षयरोगीको वृद्धि भइरहेको छ, जसका लागि एक सय गुणा महँगो औषधि प्रयोग गर्नु परिरहेको छ। चिकित्साकर्मी पनि चाँडै निको हुने आसमा समेत कडा, माथिल्लो पुस्ताका एन्टिबायोटिक प्रयोग गर्छन्। हाल चौथो पुस्ता एन्टिबायोटिक आइसकेकोे छ।
दोस्रो पुस्ताले काम नगर्ने भएपछि तेस्रो पुस्ताका प्रयोग गर्नुपर्छ भन्ने हुँदैन किनभने पहिला पुस्ताका पनि असरदार छन्। त्यस्तै रिजर्भ पनि राख्न पर्यो ? भोलि फेरि चाहिए कुन एन्टिबायोटिक प्रयोग गर्ने ? एन्टिबायोटिक औषधि प्रेस्क्राइब गर्नुअघि कुन ब्याक्टेरियाको कारणले रोग लागेको हो ? र, कुन औषधिले उक्त ब्याक्टेरियालाई मार्छ भनी जान्ने कल्चर र सेन्सिटिभिटी परीक्षण गर्नु महत्त्वपूर्ण मानिन्छ। विकसित मुलुकमा परीक्षण गरेर मात्र प्रेस्क्राइब गर्नुपर्ने अनिवार्य नियम छ तर नेपालमा क्लिनिकल परीक्षण र अनुमानकै भरमा दिइन्छ।
अन्तमा, नेपालमा त झनै सुपरबग उत्पन्न हुन सक्ने सम्भावना अत्यधिक छ। सुपरबग पत्ता लगाउन नसक्ने भएपछि भाग्य नभएको, बाँच्न नलेखेको वा अस्पताल, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै कतिले ज्यान गुमाइसकेका होलान् अनि कतिले गुमाउँदै छन्।
प्रतिक्रिया दिनुहोस !