शान्ति–सुरक्षा नपाएको व्यवसायीको गुनासो
सुनसरी : सुनसरीका व्यवसायीले जिल्लामा शान्ति–सुरक्षाको अवस्था कमजोर बन्दै गएको गुनासो गरेका छन्। बुधबार धरानमा आयोजित सुरक्षा प्रमुखहरूसँगको अन्तर्क्रिया कार्यक्रममा जिल्लाका उद्योगी–व्यवसायीले अराजक गतिविधि बढ्दो क्रममा रहेको र घटनामा संलग्नविरुद्ध आवश्यक कानुनी कारबाही नगरेको आरोप लगाएका हुन्।
कार्यक्रममा सहभागी व्यवसायीहरूले गत भदौ २४ गते धरान, इटहरी र इनरुवामा सरकारी कार्यालय, निजी घर तथा व्यावसायिक भवनमा गरिएको तोडफोड, लुटपाट र आगजनीका घटनाका दोषीहरूलाई कारबाही नगरिएको बताए। पीडितहरूले घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्नुपर्नेमा ढिलाइ गरेको, किटानी जाहेरी दिएपनि कारबाही नथालेको भन्दै प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गरे।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले कानुनको शासन कमजोर बनेको दाबी गर्दै अपराधी समूहले खुलेआम व्यापारिक प्रतिष्ठान, होटल तथा भवनमा आक्रमण गर्दा पनि प्रहरी प्रशासनले कठोर कदम चाल्न नसकेको बताए। उनले भने, ʻव्यवसायमा लगानी बढाउन, नयाँ उद्योग स्थापना गर्न सुरक्षित वातावरण चाहिन्छ। तर अहिले अपराधी जथाभाबी हिँडिरहेका छन्, प्रहरी मौन छ।ʼ
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले व्यवसायीहरूको गुनासो गम्भीर रूपमा लिएको बताए। उनले घटनामा संलग्न सबैमाथि कानुनी कारबाही गरिने आश्वासन दिए। उनले भने, ʻअराजक गतिविधिलाई राज्यले कुनै पनि हालतमा सहन्न। तोडफोड र आगजनीमा संलग्न जो–कसैलाई पक्राउ गरेर कानुनअनुसारै कारबाही गरिन्छ।ʼ
प्रजिअ घिमिरेले जिल्लामा शान्ति–सुरक्षा कायम गर्न प्रशासन र प्रहरी दुवै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !