election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मुगुमका बालबालिकाको ३ कक्षामै रोकिन्छ पढाइ

मुगुमका बालबालिकाको ३ कक्षामै रोकिन्छ पढाइ

मुगु : मुगुम कार्मारोङ गाउँपालिका–२ को मुगुम गाउँका बालबालिकाको भविष्य तीन कक्षाको ढोकामै रोकिएको छ। जनजागृति आधारभूत विद्यालयमा कक्षा ३ भन्दा माथि अध्ययन गर्ने सुविधा नभएपछि विद्यार्थीको पढाइ कक्षा ३ मै रोकिएको हो।

कक्षा ३ मा लगातार तीन शैक्षिक सत्र पढ्दै आएका आग्जेन कामी भन्छन्, ‘गाउँकै विद्यालयमा चार–पाँच कक्षा पढ्न पाएको भए माथिल्लो कक्षा पढ्न अन्यत्र जाने चाहना थियो। मैले पनि ठूलो भएर केही गर्न सक्थें तर हाम्रो विद्यालयमा त कक्षा तीनपछि पढाइ नै नहुने भएपछि घरको आर्थिक अवस्थाकै कारण अन्यत्र पढ्न परिवारले पठाउन सक्दैन।’

विद्यालयमा अहिले पनि एक दर्जनभन्दा बढी विद्यार्थीहरू दुई वा तीन वर्षदेखि एउटै कक्षामा बसिरहेका छन्। तीन कक्षा पास भएपछि उनीहरू पढ्ने एक मात्र विकल्प एक दिन टाढाको आवसीय विद्यालय छ। तर, घरपरिवाले अहिलेसम्म त्यहाँ पठाउन मानेका छैनन्।

६ वर्ष अघिसम्म श्री जनजागृति आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो। तर, २०७६ सालमा शिक्षा मन्त्रालयबाट आएको ‘शिक्षक तथा कक्षा मिलान’सम्बन्धी परिपत्रले गाउँपालिकाले बाध्य भएर विद्यालयमा कक्षा कटौती शिक्षक दरबन्दी मिलान गर्ने भन्दै शिक्षक पनि घटाएको थियो।

३ कक्षाभन्दा माथि कक्षा पढ्न एक मात्र विकल्प ताखास्थित आवासीय विद्यालयमा जानुपर्ने हुन्छ। तर, त्यो विद्यालय गाउँबाट एक दिनको टाढा पर्छ। सानो उमेर, खोला– भिरालो र जोखिमपूर्ण यात्राकै कारण त्यहाँ आप्mना बालबालिकालाई आवासीय पढाउन नसकिएको अभिभावकको भनाइ छ। कम्तीमा ५ कक्षासम्म गाउँमै पढाइ हुने भएको भए बालबालिकाको उमेर बढेसँगै माथिल्ला कक्षा आवासीयसम्म पढाउन सकिने अभिवावकहरूले बताउने गरेका छन्।

पेमा कामीको मनको इच्छा कम्तीमा पाँच कक्षा यहाँ पढेर माथिल्ला कक्षाका लागि आवासीय विद्यालयमा जाने छ। दुई वर्षदेखि कक्षा २ मै रोकिएकी पेमा भन्छिन्, ‘गाउँमै पाँच कक्षासम्म पढ्न पाएको भए त्यसपछि आवासीयमा गएर पनि पढ्थ्यौं। तर, अहिले त घरले नै पठाउन नमानेपछि एक कक्षा दुईपटक पढ्नुपरेको छ।’

कक्षा ३ सकाएपछि थप कक्षा पढ्न नपाएका दलित परिवारका १२–१५ जना बालबालिका अहिले पनि विद्यालय बाहिरै छन्। उनीहरू पटक–पटक विद्यालय आएर शिक्षक राजेश खत्रीलाई भन्छन्, ‘सर, हामीलाई पनि पढ्न मन छ। यहाँ चार–पाँच कक्षा किन पढाइँदैन।’ शिक्षकले विद्यार्थीका कुरा सुन्छन्। तर, यसको अधिकार क्षेत्र आफूमा नभएको पीडा उनीहरूलाई सुनाउनुबाहेक अरू विकल्प नभएको विद्यालयका प्रधानाध्यापक राजेश खत्री बताउँछन्।

मुगुम गाउँमा १०५ घरधुरीमध्ये २४ दलित परिवार छन्। विद्यालयमा अहिले लामा समुदायका ८ र दलित समुदायका १६ बालबालिका पढिरहेका छन्। सक्षम परिवारले गमगढी जुम्ला वा काठमाडौं पठाइसकेका छन्। तर, आर्थिक रूपमा कमजोर दलित परिवारका बालबालिका भने तीन कक्षामै अड्किएका छन्।null

पहिले शिक्षकको लापरबाहीले विद्यालय महिनौं बन्द हुन्थ्यो। सोही कारण धेरै बालबालिका गाउँ छाडेर गए। अहिले विद्यालय नियमित छ। तर, कक्षा विस्तार नहुँदा विद्यार्थी रोकिएका छन्। मुगुम गाउँ हिउँदमा अत्यधिक चिसो हुने स्थान हो। चिसो छल्न सिरानी चौर, गमगढी, जुम्ला र काठमाडौंसम्म पुग्छन् त्यहाँका बासिन्दा। प्रायः दलित घरपरिवार र अन्य केही लामा समुदाय सिरानी चौर र यसको आसपासमा ६ महिना अस्थायी बासस्थानमा बसाइ सर्छन्।

यही बहाना बनाएर एक दुई वर्षअघिसम्म शिक्षकहरू वर्षौंसम्म गाउँ छाड्थे, विद्यालय बन्द रहन्थ्यो। अहिले एक शिक्षक राजेश खत्रीले एक वर्षदेखि विद्यालयमा ती २४ जना बालबालिकालाई विद्यालयको समयमा नियमित पढाउनुका साथै अतिरिक्त क्रियाकलापमार्फत बालबालिकालाई विद्यालयतर्फ आकर्षित गरिरहेकाले उनका अभिवाकमा उत्साह थपिएको भए पनि आफ्ना बालबालिकालाई ३ कक्षाभन्दा माथि पढाउने चिन्ताले पिरोलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छयाङ तेन्जिन तामाङ बताउँछन्।

गत वर्षदेखि गाउँपालिकाले हिउँद यामका लागि सिरानीचौरमा काठको टहरा बनाएर घुम्ती शिक्षा कक्षा सञ्चालन गर्न थालेको छ। वर्षा याममा विद्यालयमै नियमित पढाइ हुन थालेको छ। तर, कक्षाको संख्या अझै उस्थै छ। ‘विद्यालयमा ५ कक्षासम्म सञ्चालन भएको भए हामी माथिल्लो कक्षा पढाउन हाम्रा छोराछोरीलाई आवासीय विद्यालयसम्म पठाउँथ्यौं। ३ कक्षाभन्दा माथि पढाइ नहुनाले अहिले बालबालिकाको भविष्य ३ कक्षामै रोकिएको छ’, अभिभावक जिग्मे कामीले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास राउल भन्छन्, ‘समस्यालाई समाधान गर्न थप कक्षा संचालन गर्न सकिन्छ। तर, अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई नियमिति विद्यालय पठाउनुपर्ने हुन्छ।’२०७६ सालमा शिक्षा मन्त्रालयको ‘कक्षा तथा शिक्षक मिलान’ को निर्णयले यो विद्यालय मात्र नभई मुगुम कार्मारोङक गाउँपालिकाको माथिल्लो भेगका ११ वटा विद्यालय प्रभावित भएका छन्। कक्षा कटौती र शिक्षक सर–सारफेरमा धेरै गाउँका बालबालिका अहिले पनि शिक्षा–अधिकारबाट वञ्चित हुन पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.