बारीभरि किवी पाके,बेच्न जाने कहाँ ?
गोरखा : गोरखाको दुर्गम धार्चे गाउँपालिकाका किसान किवी खेतीतर्फ आकर्षित भएका छन्। हावापानी सुहाउँदो भएकाले यहाँका किसान विगत ८ वर्षदेखि व्यावसायिक रूपमा किवी खेती गर्न थालेका धार्चे—२ रुञ्चेतका किसानहरू बताउँछन्। एक, दुई जना किसानले परीक्षणका रूपमा सुरु गरेको रुञ्चेतमा अहिले यहाँ १८ किसानले व्यावसायिक रूपमा किवी खेती गरेको वीरबहादुर गुरुङ बताउँछन्।
‘कसैले एक–दुई रोपनीमा लगाएका छन्, कसैले १०–१२ रोपनीसम्म पनि लगाएका छन्’, उनले भने, ‘हाम्रो गाउँका किसानले एक क्विन्टलदेखि १२–१५ क्विन्टलसम्म उत्पादन गर्ने गरेका छन्। आठ रोपनीमा लगाएको मैले पोहोर सात क्विन्टल बेचें। यसपालि झन् राम्रो छ।’ किसानहरू किवीतर्फ उत्साहित भएर लागिपरेको उनको भनाइ छ।
बारीभरि लटरम्मै किवी पाक्न थालेपछि किसानहरू खुसी हुनुको साटो पिरोलिन थालेका छन्। सुरुसुरुमा यहाँ किवी हुन्छ भन्ने थाहा नभएर बजारको समस्या थियो। अहिले व्यापारीलाई यहाँको किवीबारे थाहा छ तर, बजारसम्म पुर्याउने समस्या भएको किसान कामीराम गुरुङ बताउँछन्।
‘हाम्रो गाउँमा मोटरबाटो छैन’, उनी भन्छन्, ‘यसपटक बल्लतल्ल बाटो पुर्याइएको थियो तर, पहिरोले साह्रै समस्या पार्यो। दुई पटकसम्म पहिरो मर्मत गरे पनि गत कात्तिक पहिलो साता परेको वर्षापछिको पहिरोले मर्मत गर्नै नसकिने गरी बाटो बिगार्यो। डोकोमा बोकेर साध्यै लाग्दैन।’
बारीमा लटरम्मै किवी पाकेको तर बजारसम्म पुर्याउन नसकेर हैरान भएको किसान वीरबहादुर गुरुङ बताउँछन्। ‘किवी पाकिसकेको छ। बाटो मर्मत गर्न नपाएर बजारसम्म लैजान सकिएको छैन’, उनी भन्छन्, ‘वडा कार्यालयले दुई पटकसम्म मर्मत त गरेको हो तर फेरि ठूलो पहिरो गयो।
यसलाई मर्मत गर्न ठूलो रकम लाग्छ, ठेक्का प्रक्रियामा जान धेरै समय लाग्छ भन्छन्। बोटमै कुहिने भो भनेर पिर परेको छ।’ धेरै पाकेको किवी बजारमा लैजाँदा नबिक्ने समस्या पर्ने उनको पिरलो छ। ‘धेरै पाकेको किवी लग्यो भने कुहियो भनेर किन्दैनन्’, उनले भने, ‘छिटो
लैजान बाटै छैन।’
फेज नेपाल नामक संस्थाको सहयोगमा कामीराम गुरुङले २०७४ सालमा किवी लगाएपछि गाउँलेहरू त्यसतर्फ आकर्षित भएका थिए। अहिले सबैंको बारीभरि किवी लटरम्मै फलेको छ। यहाँका सबै गाउँलेले किवी खेती गरेर किवी पकेट क्षेत्र बनाएर काठमाडौं, चितवन, पोखराजस्ता सहरको थोक बजारसम्म पुर्याउन सके यहाँका किसानको आर्थिक स्तर सुधार हुने गाउँलेको विश्वास छ।
गाउँलेहरू व्यावसायिक खेतीमा लाग्नु खुसीको कुरा भए पनि बाटोको समस्या भएको वडाध्यक्ष सरोज गुरुङले बताए। ‘बाटो पटकपटक बनाएको हो। पहिरो गएको गयै भयो। बनाउन त फेरि पनि बनाउँछौं’, उनले भने, ‘काम गर्दाखेरी दुःख पाइन्छ। हरेस खानु हुँदैन।’
प्रतिक्रिया दिनुहोस !