बंगलादेशी र रोहिंग्या नेपाल छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता

बंगलादेशी र रोहिंग्या नेपाल छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता

झापा : भारतको पश्चिम बंगालमा वर्षौंदेखि लुकिछिपी बसोबास गरिरहेका बंगलादेशी तथा रोहिंग्याहरू खुला सीमा नाकाको फाइदा उठाउँदै नेपाल छिर्न सक्ने भन्दै झापामा उच्च सतर्कता अपनाइएको छ। पश्चिम बंगालसँग झापा जोडिएका कारण सीमा नाकामा उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ गण हेडक्वार्टर झापाका एसपी तुलबहादुर भण्डारीले जानकारी दिए। 

१४४.२ किलोमिटर खुला सीमाका कारण सीमा सुरक्षा चुनौती बढेको छ। ‘गुल्म र बीओपीहरूमा जनशक्ति अभावका कारण सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर लखनपुर झापाबाट पनि थप जनशक्ति मगाएका छौं’, एसपी भण्डारीले भने, ‘बंगलादेशी तथा रोहिंग्या रोक्न भारतीय एसएसबीसँग पनि सहकार्य भइरहेको छ।’ 

भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको गहन पुनरीक्षण (एसआईआर) सुरु गरिसकेको छ। पूर्वी नेपालको सीमासँग जोडिएको पश्चिम बंगालमा पनि एसआईआर जाँच सुरु भएपछि त्यहाँ वर्षौंदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिंग्या नागरिकको उठीबास भएको छ। यही कारण त्यहाँ लुकिछिपी बस्ने गैरनागरिक नेपाल छिर्न सक्ने आशंका बढेको एसपी भण्डारीको भनाइ छ। अवैध प्रक्रियाबाट आधार कार्ड, पेन कार्ड र मतदाता परिचयपत्रसमेत बनाएर बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिंग्या नागरिकले एसआईआर जाँचमा पुराना कागजात देखाउन नसकेपछि धमाधम भारत छाडिरहेका छन्। 

भारत छाडिरहेका उनीहरू खुला सीमाका कारण नेपाल प्रवेश गर्न सक्ने प्रबल सम्भावना बढेको सीमा विज्ञहरू बताउँछन्। एसआईआरका कारण कोलकातासहित उत्तर चौबिस परगाना जिल्लामा बसोबास गर्ने हजारौं संख्यामा बंगलादेशी तथा रोहिंग्याहरूको उठीबास हुँदा केही गाउँ नै खाली भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

एसआईआरले पश्चिम बंगालमा मात्रै १० लाख नागरिकको मतदाता परिचयपत्र खारेज हुन सक्ने अनुमान भारतको निर्वाचन आयोगले गरेको छ। त्यही कारणले कोही आफ्नै देश फर्किरहेका छन् भने कोही त्यहाँबाट अन्यत्र पलायन हुन खोजिरहेका छन्। अन्यत्र पलायन हुनेहरू नै नेपाल प्रवेश गर्न सक्ने भन्दै खुला सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो। सीमा सतर्कता बढाए पनि अहिलेसम्म कोही पक्राउ नपरेकोले त्यसतर्फ विशेष निगरानी बढाइएको एसपी भण्डारीको भनाइ छ। 

काँकडभिट्टा–पानीटंकी नाकाबाट ३७ बंगलादेशी समातिए
झापाको काँकडभिट्टा–पानीटंकी नाकाबाट दैनिक हजारौं मानिसको ओहोरदोहोर हुन्छ। नेपाल तथा भारतीय नागरिकको हकमा मात्र सीमा नाकामा पासपोर्ट चाहिँदैन। त्यसबाहेक अन्य देशका नागरिक पासपोर्ट बिना नेपाल प्रवेश गर्न पाउँदैनन्। तर, यही नाकाबाट बंगलादेशीहरू घुसपैठ गर्दै अवैध रूपमै नेपाल प्रवेश गर्ने गर्छन।

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सन् २०२५ को जनवरीदेखि अक्टोबरसम्म १० महिनाको अवधिमा ३७ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। भारतीय सीमामा प्रवेश गर्ने नेपालीसहित हरेक व्यक्तिको परिचयपत्र एसएसबीले हेर्ने प्रावधान छ। त्यही कारणले बंगलादेशीसहित विदेशी नागरिक एसएसबीको फन्दामा पर्छन्। तर, नेपालमा भने कसैको पनि परिचयपत्र यहाँका सुरक्षाकर्मीले हेर्दैनन्। बंगलादेशको पछिल्लो राजनीतिक द्वन्द्व र भारतको एसआईआरका कारण बंगलादेशीहरू काँकडभिट्टा–पानीटंकी नाकासहित आसपासका क्षेत्रलाई सुरक्षित ठानेर नेपाल छिर्ने गर्छन्।

एसएसबीका आईजी बन्धन सक्सेनाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराउँदै भनेका छन् कि नेपाल भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न एसएसबी हाई अलर्टमा छ। ‘सीमा नाकाबाट पक्राउ परेका बंगलादेशीहरू कानुनी कारबाहीका लागि बंगाल प्रहरीको जिम्मा लगाइसकेका छौं,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.