आयातित रोग आएका आयै

आयातित रोग आएका आयै

अन्तर्राष्ट्रिय एवं राष्ट्रिय तहमा विभिन्न सरुवा रोगले बेलाबखत सताउने गर्छ। कतिपय बेला महामारीको रूप लिने गरेको छ। एक महादेशबाट अर्को महादेश तथा एक मुलुकबाट अर्को मुलुकमा फैलिएका सरुवा रोगले नेपालजस्ता विकासोन्मुख मुलुकहरू प्रभावित हुने गरेका छन्। केही घण्टाको फरकमै एउटा मुलुकबाट अर्को मुलुकमा रोग फैलन सक्ने जोखिम कायमै छ। 

नेपालमा टाइफाइड, हैजा, झाडापखालाले बेलाबखत सताउँछ। कहिले पेन्डेमिक इन्फ्लुएञ्जा एचवन एन वन (स्वाइन फ्लु) पिरोल्छ त कहिले मंकी पक्स (एम पक्स)ले तनाव दिन्छ। सन् २००९ मा महामारीको रूपमा फैलिएको स्वाइन फ्लु अन्ततः नेपालमा पनि भित्रिएको थियो। आधा दर्जनभन्दा बढीको ज्यानसमेत गएको थियो। स्वाइन फ्लु अमेरिका हुँदै नेपाल प्रवेश गरेको हो। सिजनल फ्लु र स्वाइन फ्लुले नेपालीमाझ बेलाबखत तनाव पैदा हुने गरेको छ। 

अफ्रिकापछि युरोपमा देखिएको मंकी पक्स विश्वव्यापी फैलिँदै नेपाल भित्रिएको पुष्टि भइसकेको छ। नेपालमा पनि कम्तीमा तीन जनामा मंकी पक्स पाइएको थियो। साउदी अरबबाट फर्किएका युवामा मंकी पक्स पुष्टि भएको थियो। मंकी पक्स मानिसबाट मानिसमा र जनावरबाट जनावरमा सर्ने रोग हो। कुनै पनि मुलुकमा फैलिएको रोग केही घण्टाभित्रै अर्को मुलुकमा फैलन सुरु हुनु अनौठो मानिँदैन। किनकि, पर्यटकका रूपमा आवतजावत गर्ने व्यक्तिलाई संक्रमण भएको भएको छ भने त्यस व्यक्तिसँगै रोगले पनि अर्को मुलुकलाई प्रभावित पार्ने जोखिम हुन्छ। हामी नेपालीहरूमा पनि विभिन्न मुलुक घुम्न जाने प्रवृत्ति बढेको छ। त्यसैले अफ्रिकालगायतका विभिन्न मुलुकमा घुम्न गएर स्वदेश फर्किंदा रोग पनि बोकेर ल्याएका त छैनौं ? भन्नेमा सजगता अपनाउनु पर्छ।

सन् २०१९ मा फैलिएको कोरोना भाइरस (कोभिड– १९)ले पनि महामारीको रूप लिएको सबैलाई थाहै छ। अन्तर्राष्ट्रियस्तरमा देखिएको महामारी होस् वा राष्ट्रिय स्तरमा समस्या सिर्जना गर्ने सरुवा रोगको नियन्त्रणका लागि सरोकारवाला पक्षले ध्यान दिनुपर्छ। छिमेकी भारतसँगको सीमा नाका खुला छ। सबैले एउटै नाका प्रयोग गरेर निर्वाध आवतजावत भइरहेको छ। यसले पनि कुनै पनि बेला सरुवा रोग फैलने जोखिम छ। खुला सीमाकै कारण विगतमा कोभिड— १९ को महामारीले नेपालमा बढी जनसंख्यालाई प्रभावित गरेको अनुभव छ। 

अहिले रोजगारीको सिलसिलामा गएका नेपालीहरूले पठाएको रकम (रेमिट्यान्स)ले मुलुकलाई धानेको छ। नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेकाले रेमिट्यान्स भित्रिने क्रम बढ्दो छ। काम गर्न सक्ने दक्ष युवाहरू बिदेसिएका कारण बढी रेमिट्यान्स भित्रिएको हो। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। जुन मासिक रूपमा हालसम्मकै उच्च हो। विकसित मुलुकमा जस्तो उच्च प्रविधियुक्त अस्पताल निर्माण गर्न नसकिए पनि सरुवा रोग फैलने जोखिमतर्फ हाम्रो तयारी के कस्तो छ ? यसतर्फ सरकारले पनि बेलैमा ध्यान दिनुपर्छ। सरुवा रोगबाट जोगिने के गर्ने ? यसबारमा सरकारी तबरबाटै खाका तयार गर्नुपर्ने खाँचो छ। हामी कहिले संवेदनशील हुने ? अफ्रिकी महादेशमा फैलिएको इबोला होस् वा अन्य कुनै सरुवा रोगले महामारी निम्त्याउन सक्नेतर्फ पूर्वतयारी के  छ ? हामीले कोभिड—१९ को महामारीबाट के सिक्यौं ? यसतर्फ हामीले बिर्सन लागेका त छैनौं ? यो गम्भीर विषय हो। अहिलेसम्म क्षमतायुक्त सरुवा रोग अस्पतालसमेत सरकारी तवरबाट निर्माण गर्न सकिएको छैन। सरुवा रोगको जोखिमका सम्बन्धमा अनुसन्धान के कति भइरहेको छ ? दक्ष जनशक्ति तयार गर्नेतर्फ हामीले बेलैमा किन नसोच्ने ?

डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट, 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.