बाथरोग लाग्ला है !
चितवनकी २३ वर्षीया युवतीलाई अचानक जोर्नीको दुखाइले पिरोलिरहेको छ। उनमा देखिएका लक्षणहरू बाथरोगसँग मिल्दाजुल्दा छन्। उपचारमा संलग्न बाथरोग विशेषज्ञ भन्छन्, ‘बाथरोगको यकिन नहुँदै उपचार गर्ने हो भने गर्भवती अवस्थामा असर हुने हो कि भन्ने डर छ। थप लक्षणहरू कुरेर बस्दा ६ महिनापछि झन् जटिल पो हुने हो कि भन्ने छ। अर्कोतर्फ बिरामीलाई आफूले समयमै उपचार नपाएको भन्ने महसुस हुने हो कि ? तीलगंगा आँखा प्रतिष्ठानमा आँखाको उपचार गराउन आएकी एक बिरामीमा अनौठो समस्या देखियो। आँखा रोग विशेषज्ञहरूले बाथरोगको शंका गरे। उनलाई बाथरोगका विशेषज्ञले पनि जाँच गरे। उनलाई एचएलए बी ५१ जाँच गरियो। नमुना परीक्षण गर्दा पोजेटिभ देखियो। उनले खुसी हुँदै भनिन, बाथरोग लागिसकेको रहेनछ। अब बाथरोग विशेषज्ञसँग सल्लाह लिइरहनु पर्ला। ज्यान जोगाउनु परिहाल्यो नि।’
के हो बाथरोग ?
विशेषगरी हड्डीको जोर्नीको बाथ (रुमेटोइड आर्थराइटिस)र जोर्नी खिइने बाथ (अस्टिओ आर्थराइटिस)ले पनि जोर्नीलाई क्षति पुर्याउने डा. वैद्य बताउँछन्। जोर्नीमा रहेको कुरकुरे हाड खिइँदै जाँदा जोर्नी पनि खिइन पुग्छ। जुनसुकै उमेरकालाई हुन सक्छ बालबालिकादेखि ज्येष्ठ नागरिक जो कसैलाई जुनसुकै उमेरमा पनि बाथरोग हुने सक्ने विशेषज्ञहरू बताउँछन्। बालबालिकालाई हुने बाथ (जुभेनाइल आर्थराइटिस)ले हातगोडाको जोर्नीहरू दुख्ने, सुन्निने, हिँडडुल गर्न गाह्रो हुने, ज्वरो आउने र छालाका साथै आँखामा समेत असर गर्ने हुन्छ।
त्यस्तै अधबैंसे महिलाहरूलाई लुपस, गठिया बाथले बढी पिरोलेको पाइन्छ भने युवाहरूलाई मेरुदण्डको बाथ र जोर्नी खिइने बाथले सताएको छ। विशेषगरी १५ देखि ४५ वर्षको उमेरसमूहका महिलालाई लुपसले पिरोलेको पाइएको छ। लुपसले जोर्नीबाहेकका शरीरका अंगहरू मिर्गौला, मुटु, फोक्सो, स्नायुका साथै छाला, मांसपेशीलाई असर पुर्याउन सक्छ।मेरुदण्ड (ढाड) को बाथ (एन्काइलोजिङ स्पनडिलाइटिस) पनि धेरै किसिमको हुन्छ। १५ देखि ४५ वर्षकै उमेरमा युवाहरूलाई समेत मेरुदण्डको बाथको समस्या देखिन थालेको डा. वैद्य बताउँछन्। मेरुदण्डको बाथ भएका व्यक्तिलाई विशेषगरी कम्मर बिहानपख दुख्ने, ढाड कक्रक्क हुने हुन्छ।
कसरी पहिचान गर्ने ?
बाथरोग छ कि छैन भनेर जोखिमको सुरुवातमै जाँच गर्न सकिन्छ। यसलाई चिकित्सकीय भाषामा स्क्रिनिङ भनिन्छ। यसमा लक्षण देखिन वा नदेखिन पनि सक्छ। लक्षण नदेखिएको अवस्थामा पनि बाथ छ कि छैन छिटो पत्ता लगाउन सकिन्छ। रोग सुरु हुनुअघि वा सुरुवाती चरणमै पहिचान गर्ने, रोग लागिसकेको रहेछ भने जटिल हुन नदिने र रोगको जोखिम भएका बिरामीलाई उपचारको पहुँचमा पुर्याउन स्क्रिनिङ गर्नु उपयुक्त हुने बाथरोग विशेषज्ञहरूको सुझाव छ। डा. वैद्य भन्छन्, ‘समयमै स्क्रिनिङ गर्दा बाथरोग रहेनछ भने ढुक्क हुन सकियो। यदि बाथरोगको सम्भावना वा शुरुवाती चरणमा रहेछ भने पनि उपचार सस्तो, सजिलो र प्रभावकारी हुन्छ।’
आरएफ पोजेटिभ आउँदैमा नआत्तिऔं
बाथरोगको स्क्रिनिङका लागि रगतको परीक्षण गर्नुपर्छ। स्क्रिनिङको मुख्य पाटो नै रगतमा आरएफ (र्युमाटोइड फ्याक्टर)को जाँच गर्नु हो। र्युमाटोइड फ्याक्टर भनेको रगतमा हुने विशेष प्रकारको एन्टिबडी हो। नेसनल बाथरोग सेन्टरका डा. वैद्यका अनुसार, आरएफ (र्युमाटोइड फ्याक्टर) पोजेटिभ आउँदैमा आत्तिहाल्नु पर्दैन। ‘आरएफ (र्युमाटोइड फ्याक्टर) पोजेटिभ हुँदैमा बाथरोग भई नै सक्यो भन्ने ठान्नु हुँदैन। आत्तिहाल्नु पर्दैन। बाथरोगसँग मिल्ने कुनै शरीरमा लक्षण छैन भने औषधि सेवन गर्नु पर्दैन। कुनै लक्षण नभएका १० जना सर्वसाधारणको आरएफ जाँच गर्दा दुई देखि तीनजनामा पोजेटिभ देखिन सक्छ,’ डा.वैद्य भन्छन्, ‘बिहान उठ्दा हातका औंला कक्रक्क पर्ने, आँख्ला (गाँठा)हरू सुन्निने जस्ता लक्षणहरू छन् र आरएफ पनि पोजेटिभ आएको छ भने जिन्दगीभर दुःख दिने हो कि होइन भनेर थप परीक्षणहरू गर्नुपर्ने हुन्छ।’ वंशाणुगत रूपमा पनि देखिन सक्ने भएकोले सम्भावित बिरामीले सजगता अपनाउनुपर्ने डा. वैद्यको सुझाव छ।
वंशाणुगत पनि हुन सक्छ
शरीरको प्रतिरक्षा प्रणालीले शरीरलाई नै क्षति पुर्याउने रोग अटोइम्युन डिजिज) नै बाथरोग हो। अटोइम्युन डिजिज नै बाथरोग हो। बाथरोग विशेषज्ञ डा. सुधीर कर्माचार्यका अनुसार, बाथरोग वंशाणुगत रूपमा पनि देखा पर्न सक्छ। डा. कर्माचार्य भन्छन्, ‘बुवाआमालाई बाथरोग देखिएको छ भने छोराछोरीलाई पनि देखिन सक्छ। जिनको जाँच गराउनु पर्छ।
डा. कर्माचार्यका अनुसार, बाथरोगका बिरामीले समयमै जाँच नगराउँदा बाथरोगले जटिल रूप लिन सक्छ। जसका कारण अंगभंग नै हुन सक्छ। नसाको बाथरोग (भास्कुलाइटिस) अलि जटिल हुने गर्छ। डा. कर्माचार्य भन्छन्, ‘कतिपय बिरामी त प्यारालाइसिस जस्तो भएपछि बल्ल उपचार गर्न आइपुग्छन्। कति त हृदयाघातको भइसकेको बताउँदै बाथको उपचार गर्न पनि आउँछन्। खुट्टामा रगत पुर्याउने नसामा ब्लक हुने समस्या (टिबियल पेरोनियल ट्रंक अर्थात् टीपीटी)) भएर पनि आउँछन्।’
बिरामी धेरै, विज्ञ थोरै
नेपालमा बाथरोगका बिरामीहरू बढ्दै गएका छन्। तर, बढ्दो बिरामीको अनुपातमा उपचार गर्ने बाथरोग विशेषज्ञहरू थोरै छन्। बंगलादेशबाट बाथसम्बन्धी उच्च अध्ययन गरेर फर्केका बाथरोग विशेष (कन्सल्टेन्ट र्युमाटोलोजिस्ट) डा. कर्माचार्यका अनुसार, एक जना बाथरोग विशेषज्ञले एक लाखभन्दा बढी बिरामीलाई सेवा दिनुपर्ने अवस्था छ।’ नेपालमा झन्डै २५ जना बाथरोग विशेषज्ञहरू छन्। ती विशेषज्ञ पनि सहरी क्षेत्रमा मात्र कार्यरत हुँदा गाउँघरका बाथरोगका बिरामीको उपचारमा सहज पहुँच पुग्न सकेको छैन। जसका कारण बाथरोग सेन्टरमा आबद्ध बाथरोग विशेषज्ञहरूले पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म बेलाबखत पुगेर बिरामीको जाँच गर्दै आएको सेन्टरले झन्डै ६ प्रतिशत बिरामीलाई सेवा पुर्याउन सकेको जनाएका छन्। सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिका अनुसार, कुल नाफाको झन्डै १० प्रतिशत बद्री तीर्थ आर्थराइटिस फाउन्डेसनलाई डोनेसन उपलब्ध गराउँदै आएको छ।
३० लाख बिरामीलाई उपचार पाउनै धौ–धौ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार, हरेक मुलुकमा करिब १० प्रतिशत जनसंख्या कुनै न कुनै किसिमको बाथरोगबाट पीडित भइरहेका छन्। नेपालमा झन्डै ३० लाख व्यक्तिबाट रोगबाट प्रभावित भएको अनुमान छ। समयमै बाथरोगको परीक्षण गरी उपचार पाएका बिरामीहरूले रोगको जटिलता रोक्न सफल भएको बाथरोग विशेषज्ञहरू बताउँछन्।
युरोपबाट ल्याइयो मेसिन, परीक्षण स्वदेशमै बाथरोगको अवस्था र रोग लाग्ने जोखिमको बारेमा जाँचको लागि अब विदेशमा भौंतारिनु पर्दैन। नेपालमा पहिलोपटक बाथरोगको सुरुवाती संकेत पत्ता लगाउन युरोपबाट नयाँ मेसिन ल्याइएको छ। नेक्स जेन ल्याब सोलुसनले नयाँ मेसिन ल्याएको हो। मध्ययुरोपको चेक रिपब्लिकस्थित ‘होला बायोल्याब्स’ सँगको सहकार्यमा मेसिन स्वदेश ल्याइएको हो। विशेषज्ञ डा. सुधीर कर्माचार्य भन्छन्, ‘बाथरोगका विशेषज्ञ र बिरामीको लागि यो खुसीको कुरा हो।’
नेक्स जेन ल्याब सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेका अनुसार, बाथरोग तथा टाइप १ मधुमेहको सुरुवाती लक्षण पत्ता लगाई छिट्टै रोगको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले नयाँ मेसिन ल्याइएको हो। प्रबन्ध निर्देशक पाण्डेले न्यून शुल्कमा परीक्षण गरिने जानकारी दिए।बाथरोगका सम्भावित लक्षणहरू जोर्नीको दुखाइमात्र बाथरोगको लक्षण होइन। यसले शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ। शरीरका अंगलाई पारेको क्षतिअनुसार नै विभिन्न किसिमका लक्षणहरू देखिन सक्छन्।
प्रतिक्रिया दिनुहोस !