पिना–गमगढी सडक स्तरोन्नतिका लागि १५ करोड बढी बजेट
मुगु : रारा घुम्न आउने पर्यटकहरू एक रात गमगढी बस्ने इच्छा राखे पनि कच्ची र धुलाम्य सडकका कारण सदरमुकामसम्म नपुग्दै फर्किन बाध्य हुने गरेका छन्। यही समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गर्दै चालु आर्थिक वर्षबाट नै काम सुरु गर्ने तयारी गरेको छ।
गमगढीका होटल व्यवसायीका अनुसार सडक स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू सहज रूपमा सदरमुकामसम्म आएर एक रात गमगढीमै बस्न सक्ने र त्यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यातायात सञ्चालन भए पनि यात्रा असहज हुने गरेको गुनासो बढ्दो छ। निमार्णपछि पिना-गमगढी सडकको दूरी झण्डै ३ किलोमिटर छोटिने भएकाले रारा–गमगढी भ्रमण ‘डे–ट्रिप’ होइन ‘नाइट–स्टे’ मा रूपान्तरित हुने होटल व्यवसायीहरूको विश्वास छ।
कर्णाली प्रदेशसभा सदस्य जितबहादुर मल्ल भन्छन्,'रारा देशकै प्रमुख पर्यटन सम्भावना बोकेको क्षेत्र हो। तर, यसको प्रत्यक्ष फाइदा मुगालीहरूले अपेक्षित रूपमा पाउन सकेका छैनन्। दैनिक रूपमा आन्तरिक पर्यटकको भीड लाग्ने रारामा खान–बस्नको राम्रो सुविधा नपाएको भन्दै धेरैले गुनासो गर्छन्। गमगढीमा सुविधा सम्पन्न होटलहरू हुँदाहुँदै सडकका कारण यहाँ आउन मान्दैनन्।'
मल्लका अनुसार पिना–गमगढी सडक निर्माणपछि सवारीसाधन सहजरूपमा सञ्चालन हुने उनले बताए । एक रात गमगढी बसेर पर्यटकहरू रारा अवोलकन गरी फर्कन सक्ने र गमगढी आउने जो कोहीलाई दुरीका हिसाबले पनि छोटो हुने हुँदा यो सडक छिटो निमार्ण गर्नुपर्ने उनको भनाइ छ।
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार बहुवर्षीय योजनामा परेको यस आयोजनाको चालु आर्थिक वर्षमै चार करोड रुपैयाँको काम प्रारम्भ गरिँदैछ। पिना–गमगढी सडकको प्राविधिक अध्ययन एक–दुई दिनमै सुरू हुँदैछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइने जानकारी प्रमुख चापागाईले दिए।
गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईं भन्छन्,'पर्यटक गमगढीमा बसून् भन्ने हाम्रो वर्षौँदेखिको चाहना थियो। अब सडकले सहजीकरण गरेपछि व्यवसाय मात्र होइन,पूरा बजारको आर्थिक गतिविधिमा केही उत्साह थपिनेछ।
हाल पिना–गमगढी सडक हिउँदमा सामान्य रूपमा सञ्चालनमा आएपनि वर्षायाममा पहिरोका कारण अवरुद्ध हुँदा यात्रुहरूले सास्ती व्यहोर्दै आएका छन्। छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाही भन्छन्,'भियालभिर,बुकाखोला,लेतेखोला र हासेबिडी खोलामा वर्षायाममा हिँडडुल गर्न सकिँदैन। '
प्रतिक्रिया दिनुहोस !