अस्ट्रेलियामा शिशु स्याहार्न आउने ? सुई लाउनू नि !

अस्ट्रेलियामा शिशु स्याहार्न आउने ? सुई लाउनू नि !

मेलबर्न (अस्ट्रेलिया) : अस्ट्रेलियामा सुत्केरी आमा र नवजात शिशुलाई भेट्न जाँदै हुनुहुन्छ भने रोग संक्रमणविरुद्धको खोप लगाएको हुनुपर्छ। यहाँका कतिपय अस्पतालले खोप नलगाएका आफन्तलाई नवजात शिशु भेट्न अनुमति दिँदैनन्। शिशु र सुत्केरी आमाप्रति मनमा माया र भेटने उत्साह भए पनि गर्भवती वा शिशुनजिक बस्ने परिवारका सदस्यहरूले समेत खोप लगाएको हुनुपर्ने प्रावधान अस्पतालको छ। शिशु र सुत्केरी आमालाई संक्रमणबाट सुरक्षित राख्न स्वास्थ्य विभाग र अस्पतालहरूले आगन्तुकलाई खोप लगाएको/नलगाएको सोध्ने गर्छन्। तर नेपालका अस्पतालले सुत्केरी आमा र शिशुको स्वास्थ्य सुरक्षा र सम्भावित संक्रमणप्रति सावधानीका साथै पर्याप्त चासो राख्ने गरेको पाइँदैन।

अस्ट्रेलियाको स्वास्थ्य विभागले गर्भवती महिलाहरू र उनीहरूको पारिवारिक सदस्यहरूलाई केही महत्त्वपूर्ण खोप अनिवार्य रूपमा लगाउन सिफारिस नै गरेको छ। त्यस्ता खोपले गर्भवती महिला, जन्मने–बच्चा तथा नवजात शिशुलाई संक्रमण हुन नदिन भूमिका खेल्छन्। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, सम्भावित संक्रमणले गर्भवती आमा र गर्भमै रहेको शिशुलाई हुने संक्रमणको जोखिमबाट बचाउन शिशुका आफन्त एवं पारिवारिक सदस्यलाई पनि फ्लु खोप लगाउन अनिवार्य गरिएको छ। स्वास्थ्य विभागका अनुसार, अस्पतालमा खोप नलगाइएका आगन्तुकलाई शिशु भेट्न रोक्ने कानुनी नीति भने छैन। तर अस्पतालहरूको आफ्नो संक्रमण नियन्त्रण नीतिअनुसार हात धुने, मास्क लगाउने जस्ता जोखिम मूल्यांकनका आधारमा विभिन्न उपाय लागू गरेका छन्। 

स्वास्थ्य विभागका स्रोतअनुसार हाल पर्टुसिस, हुपिङ कफको संक्रमण बढेको चेतावनी जारी गरिएको छ। जसले गर्दा अस्पतालहरूले अझ बढी सतर्कता अपनाइरहेका छन्। नवजात शिशुको सघन उपचार कक्ष (एनआईसीयू) जस्ता संवेदनशील कक्षमा पर्टुसिस र फ्लुको संक्रमण हुन सक्ने भएकाले आगन्तुकलाई शिशुको नजिक नजान आग्रह गर्ने चलन बढ्दो छ। अस्ट्रेलियामा गर्भवती महिलाहरू र शिशु सुरक्षाका लागि अस्पतालहरू निकै सजग देखिन्छन्। चिकित्सक र नर्सहरू पनि सुत्केरीको स्वास्थ्यका साथै बच्चालाई संक्रमणबाट कसरी जोगाउन सकिन्छ त्यसतर्फ सावधानीका उपाय अपनाउन पर्याप्त परामर्श दिन्छन्।

अनिवार्य छ, पर्टुसिस टी–ड्याप खोप

पर्टुसिस टी–ड्याप खोप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। नवजात शिशुसँग नजिक हुने पति, पार्टनर, दाजुभाइ, दिदीबहिनी हजुरआमा, हजुरबुवा वा शिशुको स्याहार गर्ने व्यक्ति जसले पछिल्ला १० वर्षमा टी–ड्याप नलगाएको भए लगाउन अनिवार्य गरिएको छ। तर कतिपयले चिकित्सकको आग्रहको पालना गर्ने गरेका छन् भने कसैले बेवास्ता पनि गर्छन्। 

नवजात सघन उपचार कक्ष (एनआईसीयू) होस वा सामान्यभन्दा बढी हेरचाह चाहिने शिशु राख्ने विशेष नवजात शिशु स्याहार कक्ष (एसएनसीयू ) मा त छिर्न पनि दिइँदैन। तर नेपालका अस्पतालले यस्तो कडा व्यवस्था गरेका छैनन्। गर्भवतीले तीन महत्त्वपूर्ण खोपहरूमध्ये इन्फ्लुएन्जा भ्याक्सिन गर्भावस्थाको जुनसुकै चरणमा लगाउनु पर्छ। यो खोप गर्भवतीका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।

अस्ट्रेलिया सरकारको स्वास्थ्य विभागका अनुसार फ्लुले गर्भवतीमा गम्भीर समस्या ल्याउन सक्ने भएकाले यसलाई अनिवार्यजस्तै सिफारिस गरिएको छ। यो खोपले जन्मेपछि केही महिनासम्म नवजात शिशुलाई पनि सुरक्षा प्रदान गर्छ। गर्भवतीको स्वास्थ्य अवस्था वा जोखिमका आधारमा आवश्यक भएमा कोभिड खोपको बुस्टर डोज पनि लगाउन सुझाव दिइन्छ। दादुरा (मिजल्स), पम्प्स, रुबेला, ठेउला (चिकनपक्स), एचपीभी भ्याक्सिन गर्भधारण अघि मात्र (यदि पहिले नलगाइएको हो भने) लगाउन सल्लाह दिइन्छ। 

अस्पतालका नर्स वा चिकित्सकले गर्भवतीलाइ घर परिवारका सदस्य खासगरी श्रीमान्ले गर्दै आएको व्यवहारका बारेमा समेत सोधपुछ गर्छन्। श्रीमान् वा गर्भवतीले लगेको निकट व्यक्तिलाई पनि आमाको पीडा बुझने गरी सम्झाउनुका साथै आमाले झै शिशुलाई गर्नु पर्ने स्याहारसुसारका बारेमा सिकाउने गर्छन्। अस्टे«लियाका सबै राज्यमा गर्भवती र परिवारका लागि आधारभूत सिफारिस उस्तैउस्तै छन्। तर निःशुल्क उपलब्धता र सेवा प्रणाली राज्यअनुसार केही फरक छन्। 

शिशुको स्वास्थ्य बुझ्न घर पुग्छन्, नर्स
‘शिशुको जन्मपछि नेपालमा झै कुनै कपडाले छोपेर वा बेरेर घर लैजान दिइँदैन। बच्चालाई घरमा लैजादा गाडीमा शिशु राख्ने छुट्टै सिट चाहिन्छ।’ अस्टेलियामै दुई सन्तानलाई जन्मदिँदाको अनुभव र अस्पतालको नियमबारेमा जानकारी प्राप्त गरेकी त्रिशला बस्नेत भन्छिन्, ‘अस्पतालबाट नर्सहरू घरमा समेत भेट्न जान्छन्। घर लगेको शिशु स्वस्थ्य छ/छैन बुझ्छन्। शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्छन्। तौल नाप्छन्। खाए नखाएको र दिसा पिसाब गरेको जाँच गर्छन्। पहिलो पटक जाँच गर्दा चित्तबुझ्दो अवस्था देखिएन भने पुनः आउँछन्।’ घरबाट पनि जुनसुकै बेला फोन गरेर बच्चाको समस्याका बारेमा चिकित्सक वा नर्सलाई सोध्न सकिन्छ। सल्लाहका लागि अस्पतालमा चौबिसैघण्टा स्वास्थ्यकर्मी वा नर्सहरू उपलब्ध हुन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.