लगातार तीन हारले निराश छन् कप्तान अनिल

लगातार तीन हारले निराश छन् कप्तान अनिल
जनकपुर बोल्ट्सका कप्तान अनिल साह। तस्बिर : क्यान

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका करिब आधा प्रतियोगिता सकिएका छन्। तर, डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स यो संस्करणमा राम्रो प्रदर्शन गर्न सकेको छैन। 

पहिलो संस्करणमा राम्रो सुरुवातसहित फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको जनकपुर प्रतियोगिताका आधा खेल सकिँदा तालिकाको पुछारमा छ। सुदूरपश्चिम रोयल्स भने अंक तालिकामा राज गरिरहेको छ। 

पहिलो र दोस्रो खेल हार्दासम्म जनकपुरको मानसिकता कमजोर भएको थिएन। जनकपुरका खेलाडीले सुधार गर्दै बाउन्स ब्याक हुने सम्भावना देखाएका थिए। तर, हारमा ह्याट्रिक गरेसँगै जनकपुर कप्तान अनिल साह भन्छन्, ‘टिममा सबै कुरा प्रयास गरिसक्यौँ तर ब्याटिङ चलिरहेको छैन। पहिलो खेलमा आउँदा हामी ठीक थियौं, तर बिस्तारै ब्याटिङले पाउनुपर्ने जसरी सुरुवात नपाइरहँदा टिमले संघर्ष गरिरहेको छ।’ 

सकरात्मक रहेर बाँकी चार खेल खेल्ने अनिलले बताए। ‘शीर्षक्रमका ब्याटरहरू नचल्नुको कारण भनेको मानसिकता नै हो। खुलेर खेल्न सकिरहेका छैनौं,’ उनले भने। तेस्रो हारपछि जनकपुरका कप्तान अनिल निराश देखिन्छन्। आफ्नो टिमको बारेमा विश्लेषण गर्नुस् न भनेर पत्रकारहरूले उनलाई गरेको प्रश्नप्रति उनले भने, ‘मैले कसरी विश्लेषण गर्नु, तपाईँहरूले बताइदिनुस् न। बरु मैले कप्तानीमा केही सुधार गर्नुपर्ने पो छ कि!’ उनको यो भनाइ काहीँ न कहीँ हरेक कुरा प्रयास गर्दागर्दै पनि नतिजा ननिस्किँदाको नैरास्यता हुन सक्छ। 

उनले तीन खेलको हारपछि अब शीर्ष दुईको सम्भावना लगभग सकिएको तर प्लेअफको सम्भावना अझै बाँकी रहेको हुँदा टिम सकारात्मक भएर एक जितको खोजीमा रहेको बताए। ‘अहिले त हामी एउटा खेल जित्नतर्फ सोचिरहेका छौं। अब शीर्ष दुईमा त गाह्रै होला तर शीर्ष चारमा अटाउन भने अझै सम्भव छ,’ उनले भने। 

आफ्नो ब्याटिङबाट पनि आफूखुसी नरहेको उनले बताए। शीर्ष क्रमको ब्याटिङमा आउने अनिल आजको खेलमा पोखरासँग मध्यक्रममा आए तर उनले टिमको योगफलमा भने १ रनमात्रै जोड्न सके। जनकपुरले ब्याटिङमा स्टेप अप गर्न सकेको छैन। 

पोखरा पनि पहिलो जितको खोजीमा थियो। आज साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै पोखराले पहिलो जित दर्ता गर्‍यो। पोखरासँगको खेलमा जनकपुरका ४ ब्याटरबाहेक कसैको ब्याटबाट दोहोरो अंकको रन बन्न सकेन। यही नै जनकपुरको हारको प्रमुख र एकमात्र कारण हो। शीर्षक्रममा माज सदाकदँग आसिफ शेखले ओपनिङमा साझेदारी देखाउन सकेनन्। त्यसपछि आएका शुभ कंशकारले पनि टिमले देखाएको विश्वास जित्न सकेनन्। निकोल लोफ्टी इटोन पनि दुई रनमै पेबिलियन फर्किए। पावरप्लेमै चार विकेट गुमाएको जनकपुर बोल्ड्सले ब्याटिङमा साझेदारी बनाउन सकेन।

वाइन प्रानेलको लागि आजको खेल पहिलो खेल थियो। उनले बलिङ र ब्याटिङ दुवैतर्फ राम्रो सम्भावना देखाए। हारमा ह्याट्रिक गरिसकेपछि जनकपुरको लय र रणनीति दुवैमा प्रश्न उठेको छ। यसो त, जनकपुरको खेलाडीको नाम लिस्ट अन्य टिमको भन्दा कमजोर टिम होइन तर खेलाडीले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्नु जनकपुरको लागि चिन्ताको विषय हो।

पहिलो खेलमा जनकपुरले काठमान्डु गोर्खाजसाग ५ विकेटले पराजित भयो। पहिलो खेलबाट नै जनकपुरको ब्याटिङ चलिरहेको छैन। पहिलो खेलमा आसिफ शेखले ब्याटिङमा जनकपुरको लागि राम्रो योगफलको प्रयास गरे। जसमा मयन यादव र लाहिरु समाराकोनले मात्रै दोहोरो अंकको रन बनाउन सके। अन्य ब्याटर सस्तैमा पेभेलियन फर्किए। 

दोस्रो खेलमा विराटनगर किंग्सलाई १३५ मा रोकेको जनकपुरले ब्याटिङबाट १३६ को लक्ष्य पनि पूरा भएन। जनकपुरले २० ओभरमा १२६ रन मात्रै बनायो। यो दिन पनि ४ जना ब्याटरको ब्याटबाट  दोहोरो अंकमा रन बन्यो। 

तीन खेल सकिँदा कुनै पनि ब्याटरको लयमा निरन्तरता देखिएन। सबै टिमा विदेशी र नेपाली खेलाडीको समीश्रण राम्रो भएको छ। विदेशी खेलाडीले खेल जिताउने प्रदर्शन गरेका छन्। तर यो सिजनमा जनकपुरका लागि केही पनि कुराले हार टार्न सकेको छैन। 

जनकपुरको संकट हर्न अब केही चमत्कारको मात्रै खाँचो हुनेछ। राष्ट्रिय टिमका खेलाडीले पनि प्रदर्शन गर्न नसक्नु चिन्ताको विषय हो। पछिल्लो संस्करणको विजेताको रूपमा समर्थकको पनि बाक्लो उपस्थिति छ। तर, समर्थकबीच आश जगाउनेभन्दा पनि हरेक खेलमा हार्दै जाँदा विस्तारै समर्थकको आशामा पनि निराशाको बादल छाउन थालेको छ। 

साविक विजेताको रूपमा आफ्नो छबि जोगाउन जनकपुरले भरसक प्रयास गरिरहेकै छ। विदेशी खेलाडी पनि एक नचल्दा अर्कोले प्रतिस्थापन गर्दै जनकपुरले पहिलो जितको खोजी गरिरहेको छ। 
जनकपुरको सबैभन्दा चासो र कमजोर देखिएको पक्ष ब्याटिङ हो। ब्याटिङमा लाहिरु मिलान्था बाहेकका खेलाडीले सोचेअनुरुपको प्रदर्शन दिन सकेका छैनन्। राष्ट्रिय टिमका ओपनर आसिफ शेखले पहिलो खेलमा अर्धशतक बनाए। तर, त्यसयता उनको ब्याटबाट पनि जनकपुरको खातामा रन जोडिन सकेको छैन। 

निराशाको बीचमा पनि समर्थकलाई कप्तान अनिल भन्छन्,  ‘आशा त हामीलाई पनि थियो। सिजन सुरु गर्नु अगाडी तर टिमले जित निकाल्न सकिरहेको छैन।’ कप्तानको रूपमा अनिल आफैंले पनि कप्तानी पारी खेल्न सकेका छैनन्। उनी आफैं पनि आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैनन्। 

‘बलिङमा राम्रै भइरहेको छ। एक दुईवटा क्याच मिस भइरहेको छ। अन्यथा हामी ब्याटिङमा नै चुकिरहेका छौं,’ उनले भने। टिममा के नमिलिरहेको भन्ने अन्योलमा कप्तान अनिल आफैं छन्। 
जनकपुरले अब ४ खेल खेल्न बाँकी छ। शीर्ष २ मा रहेर उपाधि जित्ने सम्भावना सकिँदा पनि अब जनकपुरले शीर्ष ४ मा भने अबको बाँकी खेल जितेमा सम्भावना बाँकी राखेको छ। 

जनकपुरले शनिबार उच्च लयमा रहेको सुदूरपश्चिम रोयल्ससाग खेल्दैछ। मंगलबार चितवन राइनोज, शुक्रबार लुम्बिनी लायन्स र अन्तिम खेलको रूपमा जनकपुरले कर्णाली याक्ससँग खेल्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.